
पोखरा भ्यूज
पोखरा । म्यादी प्रहरीलाई सिपमूलक तालिम र रोजगारी/स्वरोजगारीका अवसर दिलाउनु पर्नेमा जोड़ दिईएकोछ । शुक्रवार पोखरामा म्यादी प्रहरीको विदाई कार्यक्रमको अवसर पारी प्राबिधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभीटी) गण्डकी प्रदेश कार्यालय पोखराले सीपमूलक तालिम र रोजगारी/स्वरोजगारीका अवसर बारे प्रस्तुतिकरण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वय, जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना र जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, उद्योगी व्यावसायी र रोजगारदाताहरु समेतको उपस्थितिमा करिव १ हजार ४ सय जना म्यादी प्रहरीको सहभागितामा सो बारे प्रस्तुतिकरण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो।

कार्यक्रममा तालिमको आवश्यकता पहिचानको लागि सिटिईभीटी, गण्डकी प्रदेशबाट सहभागी १ हजार ४ सय म्यादी प्रहरीलाई प्रश्नावली भर्ने व्यवस्था पनि मिलाईएको थियो । प्रश्नावलीहरूबाट प्राप्त तथ्थांकहरूका आधारमा आवश्यकता पहिचान गरी आगामी दिनहरुमा सीपमूलक तालिम सञ्चालन गर्ने योजना तय गरिएको सिटिईभिटी गण्डकी प्रदेश पोखराका निर्देशक प्रमोदभक्त आचार्यले बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले युवा जनशक्तिमा उद्यमशिलताको विकास गराई सीपमूलक तालिम मार्फत रोजगारी/स्वरोजगारीमा जोड्ने कार्यमा सहयोग गर्नु हामी सवैको दायित्व रहेको कुरा बताए । आचार्यले देशमा बढ्दै गरेको बेरोजगारी दर र सीमित रहेको रोजगारीको अवसर तथा विकल्पका कारण अधिकांश युवा श्रम शक्ति विदेशिन बाध्य हुने गरेको औल्याएका थिए ।
टान पोखराका सल्लाहकार एवम पुर्व अध्यक्ष टिकाराम सापकोटाले श्रम बजारको माग अनुरूपको दक्ष तथा सीपमूलक जनशक्तिको विकास गर्नु आजको मुख्य आवश्यकता रहेको बताउदै उत्पादनमूलक रोजगारी सृजना गरी मुलुकमा उपलब्ध युवा श्रम शक्तिको अधिकतम उपयोग गर्नु पर्नेमा जोड़ दिए । उनले कृषि क्षेत्रमा विद्यमान रहेका अनुत्पादक अधिक श्रम शक्तिलाई उद्योग, व्यापार, पर्यटन, निर्माण जस्ता सेवा क्षेत्रहरूमा स्थानान्तरण गर्न सके अर्थतन्त्रको संरचनात्मक परिवर्तनमा समेत सहयोग पुग्ने बताए ।
राष्ट्रिय अनुसन्धान विभाग, कास्कीका उप–अनुसन्धान निर्देशक मनोज ढकालले देशको कुल जनसंख्याको ठूलो हिस्सा ओगटेको युवावर्गको समुचित विकास, परिचालन र सहभगितामा नै मुलुकको आर्थिक सामाजिक समुन्नतिमा निर्भर रहने बताए ।
नेपाली सेना, भगवती दल गण, फुलवारी व्यारेकका गणपति प्रमुख सेनानी दिवाकर कार्कीले स्थानीय तह निर्वाचन, २०७९ सम्पन्न गर्न आवश्यक शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई सीप सिकाएर उत्पादनका क्षेत्रमा लगाउन सके राज्यले धेरै प्रतिफल पाउने कुरा वताए ।
जिल्ला प्रहरी कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापा, ससस्त्र प्रहरी बल, कालिका गण मालेपाटन पोखराका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विजय केसीले स्थानीय चुनाव सम्पन्न गर्न म्यादी प्रहरीले खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंशा गर्दै आगामी दिनमा युवा भाई वहिनीहरुको हातमा कुनै एक सीप सिकेर उत्पादनमा जोडिने कार्यका लागि सफलता मिलोस् भन्ने शुभकामना दिदै आगामी दिनमा विना बर्दिको प्रहरीको भुमिका समेत निभाउन आग्रह गरेका थिए ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीको तर्फबाट म्यादी प्रहरीहरुलाई प्रसंशा पत्र समेत वितरण गरिएको थियो । म्यादी प्रहरीको तर्फबाट आ–आफ्ना भनाई राख्दै म्यादी प्रहरीमा भर्ना भै केहि सिक्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा राज्यले दिएको जुनकुनै भूमिका निभाउन आफूहरु सक्षम हुने आत्माविश्वास बढेको कुरा वताउदै सवैलाई धन्यवाद दिएका थिए ।







सम्बन्धित खवर
















