
पोखरा भ्यूज
घान्द्रकु । शहीद ईश्वरबहादुर गुरुङ स्मृति प्रतिष्ठान, घान्द्रुकद्वारा स्थापित सर्वोकृष्ट छात्रवृत्ति पुरस्कारबाट फुम्र्रोखुँ मा.वि. र मेश्रम वराह मा.वि. का ४ छात्रछात्रा सम्मानित भएका छन् । प्रतिष्ठानका सचिव कृष्ण गुरुङले दिएको जानकारी अनुसार मेश्रम वराह माविका छात्रा रविता गुरुङ र फुम्रोखुँ मा.वि.का मनिष गुरुङ, सविना गुरुङ र पूर्णिमा वि.क. समेत गरी ४ जना छात्रछात्रलाई सो पुरस्कारबाट सम्मानित भएका हुन् ।
प्रत्येक वर्ष वितरण गरिने सो छात्रवृत्ति पुरस्कार कोभिड–१९ का कारण वितरण गरिएको थिएन । तर शनिबार शहीद ईश्वर गुरुङको १८ औं स्मृति दिवसको अवसर पारी गत दुई वर्ष वितरण हुन बाँकी पुरस्कारसहित यसवर्षको पुरस्कार समेत वितरण गरिएको हो । कार्यक्रममा २०७५ सालको एसइई परीक्षामा सर्वोकृष्ट अंक (३.५ जिपिए) ल्याउने मेश्रम वराह मावि.का छात्रा रविता गुरुङ र २०७६ सालको एसइई परीक्षामा सर्वोकृष्ट अंक (३.५५ जिपिए) ल्याउने फुम्रोखुँ माविका छात्र मनिष गुरुङदे नगद रु. २५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै २०७७ सालको एसई परीक्षामा सर्वाकृष्ट अंक ( ३.६ जिपिए) ल्याउने फुम्रोखुँ माविका छात्र सविन गुरुङ र छात्रा पूर्णिमा वि.क. ले सो पुरस्कार हात पारेका छन् । दुवै जनाले समान अंक ल्याएकाले उनीहरुलाई संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरिएको हो ।
गण्डकी प्रदेश सरकारका शिक्षा, विज्ञान तथा प्रविधि एवं सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले शानिबार घान्द्रुकमा आयोजित एक विशेष समारोहमा मेधावी छात्रछात्रका अभिभावकहरुलाई सम्मान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले घान्द्रुकको मौलिक पहिचान हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले मौलिक कला र संस्कृतिको संरक्षण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै पूर्वाधधार विकास अन्तर्गत घान्द्रुकमा कालोपत्र गर्न बाँकी सडककको कालोपत्र गर्न सहयोग गर्ने आश्वासन समेत दिए ।
प्रतिष्ठानका अध्यक्ष कप्तान पदमलाल गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस, कास्की क्षेत्र नं. ३ का क्षेत्रीय सभापति मनोज गुरुङ अन्नपूर्ण गाउँपालिका वडा नं. १० का वडाध्यक्ष गौतम गुरुङ, समाजसेवी नजरमान गुरुङ, नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष ध्रुव घले, तत्काली घान्द्रुक गाविसका उपाध्यक्ष तिलबहादुर गुरुङ, प्रतिष्ठानका उपाध्यक्ष सहदेव गुरुङ, सचिव कृष्ण गुरुङ लगायतका वक्ताले शहीद ईश्वर बहादुर गुरुङको व्यक्तित्व र कृतित्वबारे चर्चा गरेका थिए ।
कार्यक्रममा अग्नी पीडित गोकुल त्रिपाठीलाई राहत स्वरुप रु. ५ हजार प्रदान गरिएको छ । उक्त रकम पीडित परिवारलाई अन्नपूर्ण १० का वडाध्यक्ष गौतम गुरुङमार्फत् हस्तान्तरण गरिएको हो । त्यस क्रममा नवनिर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो ।
वि.स. २०६१ साल वैशाख २८ गते तत्कालीन ने.क.पा. माओवादीद्वारा हत्या गरिएका गुरुङलाई नेपाल सरकारले २०७४ सालमा शहीद घोषणा गरेको थियो । गुरुङको स्मृतिमा उनको परिवारले १० लाख ५५ हजारको अक्षयकोष स्थापना गरी छात्रवृत्ति पुरस्कार सञ्चालन गरिंदै आएको छ ।

















