8Shares

पोखरा भ्यूज

पोखरा । दृष्टि सम्बन्धी अपाङ्गता भएकाहरुलाई पोखरामा ३ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ । दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी फागुन १७ गते सुरु भएको तालिम जेठ २० गते सम्पन्न भएको हो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्, गण्डकी प्रदेशले कास्की नेत्रहिन संघसँग समन्वय गरी गण्डकी प्रदेशका दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि कम्प्युटर तालिम आयोजना गरेको थियो  ।
सो कम्प्युटर तालिममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ८ पुरुष र १२ जना महिला गरी २० जनाको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा गण्डकी प्रदेश सरकार शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछानेले अपाङ्गता भएका व्यक्तिहरुको आत्मसम्मान, जीविकोपार्जन र स्वरोजगारका लागि यस्ता तालिमहरु महत्वपूर्ण हुने बताए । नेत्रहिन संघ कास्कीले आफ्नो भवनलाई अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र हितमा परिचालन गर्न सक्ने बनाउन मन्त्रालयले सहयोग गर्ने लामिछानेले प्रतिवद्धता जनाए ।

सोही अवसरमा सिटिईभीटी गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले सिटिईभीटी गण्डकी प्रदेश कार्यालयले श्रमयोग्य जनशक्तिलाई सीपमूलक तालिम प्रदान गरी उत्पादनशिल क्षेत्रमा लगाउन सहजीकरण गरिरहेको बताए ।   प्रदेश भित्रका विभिन्न पालिका, उद्योगी व्यावसायी तथा रोजगारदाता, सरकारी तथा गैह्र सरकारी, सहकारी तथा समुहहरूसँग मिलेर लागत साझेदारीका आधारमा आवश्यकताको पहिचान गरी कार्यक्रम सञ्चालन गर्दै आएको आचार्यले जानकारी गराएका थिए ।

अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास गरी उनीहरुलाई समेत आय आर्जनका क्रियाकलापमा संलग्न गर्ने कार्यमा सहजीकरण गर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरे । साथै आचार्यले अपाङ्गमैत्री प्रविधि र शैक्षिक सामाग्रीहरु प्रयोग गरी सीप विकासका कार्यक्रमहरु अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा पु¥याउन आफू सरोकारवालाहरुसँग मिलेर अघि बढ्न चाहेको बताए ।

गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख जमुना पौडेलले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बन्न परामर्श र प्राविधिक सहयोग समेत आवश्यक भएकाले संस्थाले त्यसतर्फ समेत ध्यान दिनुपर्ने कुरामा जोड दिइन ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले प्रविधि नै अपाङ्गतालाई जित्ने माध्यम भएकाले यसप्रकारका तालिमलाई सरोकारवालाहरुको छलफलका आधारमा सरल र सहज बनाउनुपर्ने बताए ।
सोही क्रममा सामाजिक विकास कार्यालय कास्कीका प्रमुख इन्द्र बहादुर थापाले सरकारका कार्यक्रमहरु सरोकारवाला संस्थाहरुकै अग्रसरता र संलग्नतामा मात्र प्रभावकारी हुने कुरा औल्याए ।

कार्यक्रममा कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटाले दृष्टिविहिनका लागि आत्मनिर्भर बनाउन कम्प्युटर तालिमलाई ९ महिना सम्म सञ्चालन गर्नुपर्ने, उद्यमशिलता विकास र हेरचाह केन्द्र जस्ता कार्यक्रमहरुलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गरेका थिए ।

तालिम समापन कार्यक्रममा तालिमका सहभागि रोजिना घिमिरे, प्रशिक्षक दिपक अधिकारी,  विश्वशान्ति मा.वि.का प्रधानाध्यापक हरिराज घिमिरे, कास्की नेत्रहिन संघका सह–सचिव सुनिता ज्ञवाली, सचिव कुशलराज पौडेल, नेत्रहिन संघ गण्डकी प्रदेशका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा महानगरपालिका वडा नंं. २६ का कार्यवहाक वडाध्यक्ष तीर्थराज भाट, नेपाल नेत्रहिन संघका महासचिव शिशिर खनाल, पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाका वरिष्ठ सामाजिक विकास अधिकृत गिता न्यौपानेले लगायतले आफ्ना भनाई राखेका थिए ।

तालिममा सामाजिक विकास कार्यालय, कास्कीको तर्फबाट सहभागीहरुका लागि यातायत र खान खर्चको लागि आर्थिक सहयोग उपलब्ध गराईएको थियो ।

8Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected