80Shares

हरि भट्टराई/पोखरा भ्यूज
घान्द्रुक । गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ गएको शनिबार कास्कीको पर्यटकीय गाउँ घान्द्रुक पुगे । शहीद ईश्वरबहादुर गुरुङ स्मृति प्रतिष्ठानको निम्तोमा मन्त्री श्रेष्ठ पहिलोपटक घान्द्रुक पुगेका हुन् । शहीद ईश्वर गुरुङका दाजु पूर्वमन्त्री प्रकाश बहादुर गुरुङले मन्त्री श्रेष्ठको टोलीलाई घान्द्रुकमा स्वागत गरेका थिए । उनले मन्त्री श्रेष्ठसहितको टोलीलाई स्थानीय कुशल होटलमा केही छिन आराम गराई त्यही होटलमा विहानीको खाना खाने प्रवन्ध मिलाइएको थियो । खानापछि पूर्वमन्त्री गुरुङले मन्त्री श्रेष्ठ सहितको टोलीलाई गाउँ घुम्न आग्रह गरे ।

पूर्वमन्त्री गुरुङको आग्रहमा मन्त्री टोली गाउँ घुम्न निस्कियो । पूर्वमन्त्री गुरुङको घर भएको कोटगाउँ चढ्न भने मन्त्री सकेनन् । ‘यहाँभन्दा माथि उकालो नचढ्यौ, अब नसकिने भइएछ,’ गाउँ घुमाउने टोलीसँग मन्त्री श्रेष्ठले भने । ‘मन्त्री ज्यू ! अब माथि नगई सिधा केही पर पुगेपछि डाडाँगाउँ आउँछ । जहाँ मौलिक र सुन्दर ढुङ्गेनी गाउँ छ । त्यतिसम्म हेरौं,’ मन्त्री टोलीमा रहेका पोखराका कानून व्यवसायी हरिप्रसाद पण्डितले यति आग्रह गरे ।

त्यसपछि मन्त्री श्रेष्ठ अघि बढे । डाँडा गाउँमाथिको चौतारी पुग्ने वित्तिकै मन्त्री श्रेष्ठ थच्चक बसेर थकाई बिसाए । चौतारीमै बसेर डाडाँगाउँको मौलिक र सुन्दर ढुङ्गेनी गाउँ नियालेका मन्त्री श्रेष्ठले भने, ‘मैले सोचेको घान्द्रुकभन्दा अहिले देखेको घान्द्रुक धेरै फरक रहेछ ।’
असिनपसिन हुँदै डाडाँगाउँ पुगेका मन्त्री श्रेष्ठले भने, ‘हाम्रो स्याङ्जा सिरुवारी जस्तो पाखो र साँघुरो होला भन्ने लागेको थियो । तर घान्द्रुक धेरै फराकिलो र भयंकर ठूलो गाउँ रहेछ । यसलाई त स्वीरल्याण्डस्थित एङ्गल्सवर्गमा रहेको माउन्ट टिटल्स जस्तो बनाउनुपर्छ ।’ उनले  टिटल्सको  हाइकिङ, केवलकार, हिउँ गुफा, त्यहाँको संरक्षित मौलिकता र प्राकृतिक सुन्दरताको वखान गर्दै पूर्वमन्त्री प्रकाश बहादुर गुरुङसँग भने, ‘प्रकाश दाई घान्द्रुकलाई टिटल्स पार्क जस्तै गरी विकास गरौं । यहाँको पर्यटनले ठूलो फड्को मार्छ ।’

मन्त्री श्रेष्ठसँग रहेका पर्यटन व्यवसायी युवा नेता ललित गुरुङले घान्द्रुक उहिल्यैदेखि सातसय घान्द्रुकका नामले चिनिएको इतिहास सुनाए । ‘हिमाल आरोहणको इतिहासमा विश्वकै जेठो हिमाल अन्नपूर्ण प्रथम र विश्व चर्चित अन्नपूर्ण पदयात्रा मार्ग पनि घान्द्रुकमै छ । यसलाई गण्डकी प्रदेशकै पर्यटकीय केन्द्रका रूपमा विकास गर्नुपर्छ,’ उनले मन्त्री श्रेष्ठलाई सुनाए । मन्त्री श्रेष्ठ यत्तिमा रोकिएनन् । उनी खुल्दै गए ।
‘अहिले पर्वतको कुश्मामा नयाँ खेल बञ्जी र स्काई साइकिलिङ्ग नभएको भए कुश्मा सकिन्थ्यो । अहिले कुश्मा एडभान्चर खेलले जम्न थाल्यो । हो, यहाँ (घान्द्रुकमा) पनि त्यस्तै युनिक चिज सोच्न जरुरी छ,’ उनले भने ।

‘भयंकरै खुलेको गाउँ रहेछ । अहिले बसपार्कसम्म सडक पूर्वाधार निर्माण सम्पन्न गरे पुग्छ । तर गाउँमा मोटरबाटो छिराउनु हुँदैन । बसपार्कसम्म सिटीबस चल्ने बनाउने, गाउँमा केवलकार, बुद्ध गुम्वा या स्तुपा निर्माण, मौलिक घरहरुको संरक्षण र कंक्रिट घर निर्माणमा नियन्त्रण गरिनुपर्छ । घान्द्रुक गाउँमा करिब एक घण्टा हाइकिङ गर्न पाइन्छ । गाउँमै उत्पादन गरिएको अर्गानिक खाना खान पाइन्छ भन्ने सन्देश दिन सकौं । त्यसपछि यहाँ पर्यटकको अझ बढी घुँइचो लाग्छ,’ उनले सुझाए ।

गाउँ घुम्ने क्रममा घान्द्रुक हेरिटेज म्यूजिम, पुरानो गुरुङ संग्राहालय छिरेका मन्त्री श्रेष्ठले मौलिक कला संस्कृति र संग्राहालयको पूर्वाधार निर्माणमा सहयोग गर्ने आश्वासन पनि दिए । ‘मौलिकता जोगाउन र संग्राहालयको पूर्वाधार विकासका लागि मेरो मन्त्रालयमा बजेट छ । तपाईँहरु योजना लिएर आउनूस्, मेरो पूर्ण सहयोग हुनेछ,’ मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाए । गाउँ घुम्ने कार्यक्रम सकेर मन्त्री श्रेष्ठ कुशल होटलमा पुगेर केही क्षण आराम गरे । र, शहीद ईश्वरबहादुर गुरुङको स्मृतिसभामा सहभागी हुन पुगे ।

80Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected