
पोखरा भ्यूज
पोखरा, १० साउन । कास्कीको दोस्रो ठूलो ताल रुपाताल माथि पोखरा ३१ को पचभैया र रुपा गाउँपालिकाको वडा नं ६ को भंगरालाई जोड्ने गरि झोलुङ्गे पुल निर्माण गरिएको छ । पोखराको लेखनाथस्थित रुपातालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।
रुपाताल माथी झोलुङ्गे पुल निर्माण गरि रुपा र लेखनाथलाई जोड्ने स्थानियहरुको वर्षै देखिको सपना पुरा भएको छ ।
ताल माथि झोलुङ्गे पुल निर्माण भएपछि त्यस क्षेत्रका स्थानियहरुलाई आवत जावतका लागि सहज र छोटोदुरी हुने एवं ताल माथीको झोलुङ्गे पुल हेर्न कै लागि पर्यटकहरुको पनि आर्कषण बढ्ने विश्वास स्थानियहरुले लिएका छन् ।
तालभन्दा करिव ६०/६५ मिटर माथी निर्माण गरिएको झोलुङ्गे पुलको मंगलबार गण्डकी प्रदेश अर्थ तथा विकास समितिका सभापति दीपक कोईरालाले उद्घाटन गरेका हुन ।
पुल उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद दीपक कोईरालाले पुल विकास र समृद्धिको वाहक बनेर आएको बताए । पचभैया, सिमलटुँडा लगायतका क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने यो एउटा प्रयास हो, ‘किनकी यो पोखरा र रुपा जोड्ने कनेक्टिङ रोड हो, आवतजावतमा सहज त बनाउँछ नै सँगसँगै पर्यटकीय गतिविधि पनि बढाउँछ’ कोईरालाले भने । प्रदेश सरकार भएकै कारणले पुल बनेको दाबी गर्दै ‘यस्ता क्षेत्र संघ सरकारको प्राथमिकतामा पर्दैन, स्थानियले सक्दैन । यो प्रदेश सरकार भएकैले सम्भव भएको हो, यसले संघीयतालाई पनि पुष्टि गर्छ ।’ प्रदेश सरकारले आफ्नो बलबुताले भ्याए र सकेसम्म काम गरिरहेको भन्दै उनले व्यक्तिले गलत ग¥यो भन्दैमा प्रदेश सरकारलाई गाली गर्न नहुने पनि बताए ।
पोखरा–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले पुलसँगै पर्यटक बढ्ने र यसले व्यवसाय बढाउनुका साथै रोजगारी पनि थप्ने विश्वास व्यक्त गरे ।
होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका पूर्व अध्यक्ष तथा पर्यटन व्यवसायी दामोदरभक्त थापाले पुल निर्माणसँगै पर्यटक बढ्ने आशा व्यक्त गर्दै पुलले दुई गाउँ र दुई ठाउँ मात्र जोडेन, बरु पचभैया आएका पर्यटकरुपा जानसक्ने भए । पारी जामुनकुना पुगेका पर्यटक वारी माझीकुना, बेगनास, पचभैया आउनसक्ने भए ।’
बेगनास धार्मिक पर्यटन समितिका अध्यक्ष ध्रुवनाथ अधिकारी, स्थानिय समाजसेवी वासुदेव लामिछाने, अर्का समाजसेवी दीनानाथ ढकाल लगायतले पुलले पर्यटनमा सघाउने र यहि कारण स्थानियको आयआर्जनमा टेवापुग्ने विश्वास व्यक्त गरेका छन ।
पुल निर्माण भएपनि त्यहाँ पुग्न कच्ची बाटो हिंड्नुपर्ने बाध्यता छ । तर बाटोपनि चाँडै बन्ने प्रदेश सांसद दीपक कोईरालाले बताए । बाटोका लागि प्रदेश सरकारले ७५ लाख विनियोजन गरिसकेको छ भने पुलनिर्माणबाट बचत भएको १५ लाखपनि बाटो निर्माणमै खर्चिनका लागि राखिएको छ । ‘बाटो बनाउन बजेटको अभाव छैन । यहि आर्थिक वर्षमा बाटो बन्छ’–उनले भने ।
भंगारा पचभैया ट्रेल ब्रिज नामाङ्करण गरिएको सो पुल गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार७ सय ३० रुपैयाँमा बनेको हो । पुलको लम्बाई २ सय ६९ र चौडाईं एक मिटर छ । पुलको क्षमता प्रति मिटर ३ सय १८ केजी रहेको पूर्वाधार विकास कार्यालय कास्कीका ईञ्जिनियर हरी थापाले जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय कास्कीले हेरेको सो पुलको निर्माण एमएस तेज जगदम्बा रुजान जेभी कम्पनीले गरेको हो । २०७६ साल जेठ २१ गते एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी निर्माण गर्ने भनिएपनि कोभिडका कारण पुलको लठ्ठा भारतको पञ्जावबाट नआउँदा २०७९ साल असार ३० गतेसम्मका लागि समय थप गरिएको थियो। थपिएको मिति सकिन ६ दिन बाँकी रहँदा गत असार २४ गते पुल निर्माण कम्पनीले पुल निर्माणको कामसकेको पूर्वाधार विकास कार्यालय कास्कीका ईञ्जिनियर थापाले बताए ।
पुल निर्माणसँगै पोखरा–३१ र रुपा–६ आपसमा जोडिएका छन् । यसअघी तालले छुट्टिएका यी दुई ठाउँ पुलनिर्माणपछि भौतिक रुपमा जोडिएका हुन् । उसो त पुल निर्माणसँगै पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएकोछ । पुल निर्माण भएर उद्घाटन नहुँदै दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् ।टिकटक बनाउन र फोटो खिच्नका लागि त्यहाँ पुग्ने गरेको स्थानियले बताएका छन ।






सम्बन्धित खवर















