
टंकराज अधिकारी
पोखरा । पोखरेली प्रतिभा हरिप्रसाद भट्टराईले लेखेको ‘नाष्ट गान’ सर्वोत्कृष्ट भएको छ । उनले सर्वोकृष्ट नाष्ट गान लेखेवापत रु. ५० हजार नगद पुरस्कार पाएका छन् ।
उनी पत्रकारिता र कानून व्यवसायमा समेत क्रियाशील छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यसअघि एक सूचना मार्फत् नाष्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवं नव–प्रवर्तन सम्बन्धी र त्यसमार्फत् देशको समृद्धिबारे पूर्णभाव प्रष्टफुटन हुने गरी नास्ट गान तयार पार्न इच्छुक सर्जकहरूलाई आव्हान गरेको थियो । नास्ट गान लेखनमा देशभरका दर्जनौ स्रष्टाहरुले सहभागिता जनाएका थिए ।

पोखरेली प्रतिभा भट्टराईद्वारा रचित नाष्ट गान वरिष्ठ संगीतज्ञ न्हू बज्राचार्यले संगीत दिएका छन् भने उनी समेतका कलाकारले स्वर दिएका छन् । नास्टले हालै सम्पन्न गरेको नवौं राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नास्ट गान ‘लञ्च’ गरेका थिए । यद्यपि नास्टले उक्त गीत आम श्रोताको सहज पहुँचमा राखेको छैन ।

‘नास्ट गानको रचनाकार पोखराले पाउनु सम्पूर्ण पोखरेलीको गौरव हो,’ पोखरा भ्यूसँग संक्षिप्त प्रतिक्रिया दिंदै नास्ट गानका स्रष्टा भट्टराईले भने । ‘म एउटा साधक हूँ । साधनाका क्रममा एउटा रचना सर्वोकृष्ट भयो । यसमा खुशी नहुने कुरै छैन । तर यो खुशी मेरो व्यक्तिगत खुशी मात्र होइन, समग्र पोखराकै खुशी हो,’ उनले थपे ।






सम्बन्धित खवर
















