
पोखरा । पोखरामा सम्पन्न महानगरका मेयरहरूको सम्मेलनले ७ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
देशभरका ६ महानगरका मेयर, उपमेयर सहभागी सम्मेलनमा महानगर सञ्चालनका अड्चन र समाधानका उपायबारे छलफल भएको हो ।
सम्मेलनका सहभागी मेयरहरूले महानगरका लागि आवश्यक छुट्टै ऐन माग गरेका छन् । साथै महानगरको फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको आरोप समेत लगाएका छन् ।
देशका ६ वटा महानगरपालिकाका मेयरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विद्यमान संघीय कानुनको परिमार्जनसँगै महानगरपालिकाका लागि छुट्टै ऐन बनाइदिन संघ सरकारसँग माग गरेका हुन्।
पोखरामा भेला भएका मेयरहरूले सान–ठूला सबै पालिका एउटै कानुनले चल्नुपरेको गुनासो गर्दै संघीय संसदबाट महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न माग गर्ने निर्णय गरिएको छ।
‘महानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहलाई थप सुदृढ बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानुनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरपालिकाहरूका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न समेत अनुरोध गर्दछौँ’, मेयर सम्मेलनको घोषणापत्रमा भनिएको छ।
घोषणापत्र जारी गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरको फोहोर व्यवस्थापनमा चुनौती रहेको भन्दै यसको व्यवस्थापनका लागि संघ सरकारले पहल गर्नुपर्ने बताए । त्यस्तै महानगरका छिमेकी उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासँग समेत सहकार्य गर्ने दृढता भेलामा प्रस्तुत भएको मेयर आचार्यको भनाइ छ।
हरित तथा समावेशी पूर्वाधार, सुशासन तथा विकास, वित्तीय लगानी, आयोजना तर्जुमा र कार्यान्वयन एवं सेवाप्रवाहका क्षेत्रमा सहकार्य गर्ने घोषणा पत्रमा उल्लेख छ । मेयर आचार्यले महानगरका पारस्परिक सवाल, समस्या र चुनौतीलाई सम्बोधन गर्न समन्वय गर्ने भेलाको निस्कर्ष रहेको बताए।
बैठकमा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐनका कारण नैस्थानीय र संघीय सरकारले काम गर्न नसकेको जिकिर गरे।
यो ऐनमा परिवर्तनको जरुरी रहेको उनको भनाइ छ । उनले सार्वजनिक खरिद ऐनमा भएको कम बिड हाल्नेलाई योजना दिने र स्थानीय सरकार सञ्चालन ऐनले आफूहरूलाई अफ्ठ्यारो पारेको अनुभव सुनाए । महानगरबीच आपसी समन्वय गरेर अन्य सरकार र राज्यका अंग र निकायसँग सूचना सम्प्रेषण र परामर्श गरेर सहकार्य गर्ने घोषणापत्रमा उल्लेख छ।
भेलामा यसअघि पाँच वर्ष महानगरको नेतृत्व गरिसकेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनर भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले महानगरको कार्यसम्पादनमा भोग्नुपरेका समस्याबारेमा जानकारी गराएका थिए।
पहिलो पल्ट भएको यसखालको सम्मेलनमा देशभरका ६ महानगरका मेयर, उपमेयर र सम्बन्धित महानगरका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो । पोखराका मेयर आचार्य सहित काठमाण्डौंका मेयर वालेनशाह, बिराटनगरका मेयर नागेश कोइराला, भरतपुरका मेयर रेणु दाहाल, ललितपुरका मेयर चिरिबाबु महर्जन रवीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहभागी थिए । उनीहरूसँगै उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरू पनि पोखरा आएका थिए ।
यसैबीच, सम्मेलनले पोखराका मेयर धनराज आचार्यको अध्यक्षतामा समिति गठन गरेको छ भने आगामी सम्मेलन भरतपुरमा हुने तय भएको छ । यो भन्दा अघि ललितपुरमा हुने भनिएको सम्मेलन भरतपुरले माग़ गरेपछि सारिएको हो । पोखराका मेयर आचार्यले भरतपुरकी मेयर रेणु दाहाललाई मेट्रो मेयर मिटको झण्डा हस्तान्तरण गरेका छन् ।








सम्बन्धित खवर
















