
पोखरा । नेपाल प्रेस युनियन कास्कीले सचिव प्रदिप पौडेलको सम्मानमा सुक्रवार एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ ।
दुई दशकदेख़ि पोखरालाई कार्यक्षेत्र बनाएर पत्रकारिता पेशामा कार्यरत पौडेल निकट भविष्यमै स-परिवार संयुक्त राज्य अमेरिकामा बसाइँका लागि जाँदै छन् ।
पौडललाई नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति सुक्रराज शर्मा, युनियन कास्कीका कार्यवाहक अध्यक्ष रविना आले लगाएतले खादा माला र सम्मान–पत्रले सम्मान गरेका थिए ।
विदाई कार्यक्रममा पौडेलले करिब २ दशकको पत्रकारिताको यात्रामा सिकेको ज्ञान र सिपलाई आगामी दिनमा पनि प्रयोग गर्ने प्रतिबद्धता जनाए । उनले पत्रकारिताका क्रममा सहयोग र हौसला दिने सबैलाई धन्यवाद दिएका थिए ।
यस अघि पौडेललाई नेपाल पत्रकार महासंघ कास्की, नेपाल फोटो पत्रकार संघ कास्की र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले पनि उनको सम्मानमा बिदाइ कार्यक्रम गरेका थिए ।




























