
पुन पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ ’ अन्तर्गत आयोजना गरिएको ‘सम्भव छ–स्वदेशी सीपबाट समृद्धिको यात्रा’ विषयमा केन्द्रीत रहेर पत्रकार केशवशरण लामिछानेसँग गफिँदै थिए । उनले सरकारले जागिर दिएर विदेश जानबाट मुक्ति मिल्ने नागरिकको सोच पनि गलत भएको तर्क गरे । ‘रोजगारी सिर्जना गर्ने उद्योगधन्दा र व्यवसायले हो’, उनले भने, ‘कुनै कारखाना खोल्यो भने २०, ५०, २०० कामदार चाहिन्छ । त्यहाँ रोजगारीे सिर्जना भयो ।’ उनले उद्योगधन्दा खोल्ने वातावरण निर्माण,नियम–कानून बनाउने र लगानीकर्तालाई प्रोत्साहित गर्नु राज्यको दायित्व भएको बताए । लगानीको वातावरण निर्माण भए लगानीकर्ताहरुले खुसीका साथ उद्योगधन्दा खोल्ने जिकिर गर्दै उनले व्यावसायिक सम्भावना भएका क्षेत्रमा मात्र लगानी गरिनुपर्नेमा जोड दिए । कलेजमा पढाएर पढाएर व्यवसायी उत्पादन नहुने तर्क गर्दै उनले भने,‘ कलेजमा पढाएर हामीले व्यवसायी उत्पादन गर्छौं ठान्छन् । कलेजमा युनिभर्सिटीमा पढेर केही आइडिया लिने बेग्लै कुरा हो । व्यवसायीमा सिर्जनशीलता हुनुपर्छ र त्यसलाई अलिकता मलजल चाहिँ गर्नुपर्छ ।’ उनले राष्ट्रिय आविष्कार केन्द्रले व्यापारको लागि सामानहरु उत्पादन गर्ने अभियान संचालन गरेको जानकारी पनि दिए ।
बजारमा माग भएका र दैनिक जीवनमा प्रयोग हुने सामग्री निर्माण गर्ने अभियानमा केही सफलता हात लागेको उनको भनाइ थियो । ‘विदेशबाट ल्याउँदाभन्दा धेरै सस्तोमा हामीले विभिन्न सामान बनाउन सकिँदोरहेछ’,उनले भने,‘तपाईंसँग पनि त्यस्ता सामान बनाउने चाहना छ भने हामीसँग हातेमालो गर्न सक्नुहुन्छ ।’ गण्डकी विश्वविद्यालयसँगको सहकार्यमा पोखरामै नयाँ र जीवनपयोगी सामग्रीको उत्पादन थालिएको बताउँदै उनले ती सामानहरुको ठूलो उत्पादनको जिम्मेवारी भने अर्कै कम्पनीले लिनुपर्ने बताए ।
बाल्यकालको स्मरणदेखि दुर्गम गाउँमा बेतारे इन्टरनेट सेवा पु¥याउने अभियानसम्मको स्मरण सुनाउने क्रममा उनले आफूलाई मुर्खको रुपमा चित्रित गरे । ‘नसक्ने काम गर्ने,स्रोत साधन नहुँदा पनि काम आँट्ने मेरो बानी देखेर मान्छेहरुले मलाई मुर्ख भने’,उनले थपे,‘हो म मुर्ख नै हुँ, २० वर्षअघि पोखरामा भर्खरै इण्टरनेट सुरु भएको बेला गाउँमा बिना तार इण्टरनेट पु¥याउँछु भन्नु मुर्खता नै थियो ।’ उनले पैसा नै नहुँदा आविष्कार केन्द्र खोल्ने काम पनि मुख्र्याइँ नै भएको बताए । म्याग्दीको नागीबाट ९ कक्षा पढ्न चितवन पुगेपछिमात्र आफूले चप्पल लगाएको स्मरण गर्दै उनले जीवनलाई सहज बनाउनु नै आफ्नो ध्येय रहेको बताए ।
मेलामा सांस्कृतिक कार्यक्रमको रन्को
यसैबीच समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा राखिएका स्टलहरुबाट विशेष छुटमा विभिन्न सामग्रीहरु बिक्री भइरहेको आयोजक पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीका अनुसार मेलामा रहेका विभिन्न कम्पनीहरुले त्यस्तो छुट दिएका हुन् । टिकट व्यवस्थापन उपसमितिका संयोजक सुदीप ओझाले मेलाको प्रवेश टिकटमा दैनिक पुरस्कारको व्यवस्था गरिएको र मेला समापनमा बम्बर उपहार पनि रहेकाले टिकटको अर्धकट्टी सुरक्षित राख्न अवलोकनकर्तासँग अनुरोध पनि गरे । यता, मेलामा दैनिक आयोजित सांस्कृतिक कार्यक्रमले पनि अवलोकनकर्तालाई थप मनोरञ्जन प्रदान गरिएको सांस्कृतिक व्यवस्थापन उपसमितिकी संयोजक शोभा गौतमले बताइन् । उनका अनुसार शनिबार कलाकारहरु सरस्वती लामिछाने, पूजा गुरुङ, रमेशराज भट्टराई,रामजी पौडेल,नेत्र खड्का, हाँस्यकलाकार रवि डंगोल,पूर्ण थापालगायतका कलाकारले दर्शकलाई मनोरञ्जन दिलाएका थिए । आइतबार रितु कँडेल,लक्ष्मी बानिया, पार्वती गुरुङ, रामजी खाँड,कृष्ण सुवेदी, जगत पौडेल, मिलन पौडेललगायतको प्रस्तुति रहने उनले बताइन् । यसका साथै डान्स आइडल र रत्यौली गीत प्रतियोगिता पनि मेलाको आकर्षण भएको उनको जिकिर छ ।











