दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूचीमाथि छानबिन सुरु, सोमबारसम्म सच्चाउन सकिने
- December 11, 2022
- 1836

पोखरा भ्यूज
२५ मंसिर, काठमाडौं । निर्वाचन आयोगले दुई दिनको समय सीमा तोक्दै दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन भनेको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन भन्दै आयोगले दलहरुलाई आइतबार र सोमबार गरी दुई दिनको समय दिएको हो ।
निर्वाचन आयोगको तालिका बमोजिम दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा पेश गरेका थिए । यसअघि दलले आयोगमा पेश गरेको बन्द सूची अनुसार नै समानुपातिक सांसदको सूची बुझाउनुपर्ने प्रावधान छ । आयोगले दलहरुले शनिबार बुझाएको नामावलीमाथि छानबिन गरी प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ ।
निर्वाचन आयोगका अनुुसार नामावलीमा आजैबाट छानबिन सुरु भएको छ । छानबिनमा क्रममा क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई आजै पत्राचार गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
निर्वाचन आयोगका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार दलहरुले यसअघि बुझाएको समानुपातिक उम्मेदवारहरुको बन्दसूचीभित्रैबाट नाम परेरनपरेको र महिला, अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भएरनभएको छानबिन गरिने छ ।
समानुपातिक सिद्धान्त अनुसार भएरनभएको छानबिन गरी प्रमाणित गर्ने काम सकेर अन्तिम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिने बताए । निर्वाचन आयोगका अनुसार २९ मंसिरमा राष्ट्रपतिलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सबै परिणामको प्रतिवेदन बुझाउने तयारी छ ।














