
पोखरा । गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च प्रालिमा हृदय रोग केन्द्र सञ्चालनमा आएको छ । जस अन्तर्गत क्याथल्याब सेवा बुधबार माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका छन् ।
पोखरा र आसपासका मुटुका बिरामीलाई महंगो खर्चमा हेलिकोप्टमार्फत् काठमाडौं तथा विदेश धाउनुपर्ने अवस्थाको अन्त्य गर्न जिएमसीको क्याथल्याबबाट सहयोग मिल्ने छ ।
पोखरालाई मेडिकल शिक्षाको हब बनाउन र प्रदेशभरको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकार क्रियाशील रहेको मुख्यमन्त्री पोखरेलले बताए । सरुवा रोग तथा संक्रामक अस्पताललाई आधार मानेर गण्डकी विश्वविद्यालय मातहत मेडिकल कलेज सञ्चालनको तयारी थालिएको मुख्यमन्त्री पोखरेलले जानकारी गराए।
कार्यक्रममा मेडिकल कलेजका अध्यक्ष खुमा अर्यालले गण्डकीबासीलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रवाहका लागि आफूहरु प्रयासरत रहेको बताए । कलेजका प्राचार्य डा. रवीन्द्रप्रसाद श्रेष्ठले ३ सय बेड क्षमताबाट सुरुवातमा आएको कलेजमा हाल ५ सय ५० बेड, ८ सय कर्मचारी र ९ सय विद्यार्थी रहेको बताए ।














