
अन्नपूर्ण, कास्की । अन्नपूर्ण गाउँपालिका कास्कीको तेह्रौं गाउँसभा विहिवार सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसीको अध्यक्षतामा सम्पन्न गाउँ सभामा पालिका उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँपालिकाको चालु आर्थिक वर्षको हाल सम्मको प्रगति प्रतिवेदन र गाउँ पालिकाको विनियोजन विधेयक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक पेस गरेकी थिइन् ।
सभामा विभिन्न विषयगत समितिहरु अन्तर्गत पुर्वाधार समितीका संयोजक भरत मान गुरुङ, सामाजिक समितिका संयोजक तुलसी प्रसाद अधिकारी, आर्थिक समितिका संयोजक फणीन्द्र प्रसाद पौडेल, वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक हिम बहादुर गुरुङ, सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजक भुपाल घर्ती, लेखा समिति संयोजक पिताम्बर भण्डारी, विधायन समिति संयोजक एकादेव देवकोटाले आ-आफ्नो विषयगत प्रगति प्रतिवेदन पेश गरेका थिए ।
त्यस्तै, विधायन समितिका संयोजक एकादेव देवकोटाले गाउँपालिकाको सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७९ प्रस्तुत गरेका थिए ।
सभामा प्रस्तुत विधेयक र प्रगति प्रतिवेदनहरु उपर छलफलमा भाग लिँदै वडा नं.-४ का वडा सदस्य विजय गुरुङले जनप्रतिनिधिहरुमा प्राविधिक ज्ञान सम्बन्धि क्षमता अभिवृद्धि गर्नुपर्ने, उपभोक्ताहरुलाई योजना सम्पन्न गर्न सहज वातावरण बनाउनुपर्ने लगाएतको सुझावहरु राखेका थिए ।
गाउँसभामा प्रस्तुत विधेयक र प्रतिवेदनहरु सर्वसम्मत पारित भएको गाउँपालिका प्रवक्ता एवं वडा नं.-७ का वडाध्यक्ष भरत मान गुरुङले बताए ।
यसैबीच अन्नपूर्ण गाउँपालिकाको पहिचान झल्किने लोगो समेत उक्त गाउँसभामा सार्वजनिक गरिएको थियो ।
गाउँसभाको समापन गर्दै गाउँ पालिका अध्यक्ष विष्णु बहादुर केसीले सम्पुर्ण जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई गाउँ पालिकाको समृद्धिको लागि इमानदारपुर्वक क्रियाशिल हुन जोड दिदै निस्वार्थ रुपमा जनताको सेवामा समर्पित रहन आग्रह गरेका थिए ।











