नवौं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि आर्मीका मुकेश पाल र पुलिसकी राजपुरा पछाईंले जिते
- May 20, 2023
- 1971

एजेन्सी
६ जेठ, काठमाडौं । राजधानीमा शनिबार भएको नवौं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले जितेका छन् ।
‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित भएको यसपालिको कान्तिपुर हाफ म्याराथन मुकेशले १ घन्टा ६ मिनेट ४५ सेकेन्डमा पूरा गरी उपाधि चुमेका हुन् । थापाथलीबाट सुरु भएको यो दौड माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै थापाथलीमै आएर सकिएको थियो ।
प्रतियोगितामा आर्मीकै राजन रोकाय १ घन्टा ७ मिनेट ५५ सेकेन्डमा दूरी पूरा गरेर दोस्रो भए । बागलुङ घर भई भारतीय सेनामा कार्यरत तीर्थ पुनले १ घन्टा ९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भए ।पुरुषतर्फ आर्मीका खड्काबहादुर खड्काले १ घन्टा ९ मिनेट २९ सेकेन्डमा पूरा गरेर चौथो र गजेन्द्र राईले १ घन्टा १० मिनेट ५२ सेकेन्डमा पूरा गरेर पाँचौ भए । गत वर्ष यो उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जितेका थिए ।
महिलातर्फकी विजेता राजपुराले गत वर्ष पनि यो उपाधि जितेकी थिइन् । उनले १ घन्टा १९ मिनेट १६ सेकेन्डमा दौड पूरा गरिन्, गत वर्ष भने उनले १ घन्टा १९ मिनेट ६ सेकेन्डमा पूरा गरेकी थिइन् ।
पुलिसकै राममाया बुढाले १ घन्टा २३ मिनेट ०७ सेकेन्डमा पूरा गर्दै दोस्रो, एपीएफकी पुष्पा भण्डारीले १ घन्टा २४ मिनेट ३१ सेकेन्डमा पूरा गरेर तेस्रो, पूर्णराज्य लक्ष्मी न्यौपानेले १ घन्टा २६ मिनेट २३ सेकेन्डमा पूरा गरेर चौथो र गीता बिकले १ घन्टा २९ मिनेट ३६ सेकेन्डमा पूरा गरेर पाँचौ भए ।हाफ म्याराथनमा पुरुष र महिला दुवैका विजेताले जनही १ लाख पुरस्कार पाए । दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार, पाँचौं हुनेले १० हजार र छैटौं हुनेले ५ हजार पाएका छन् ।
ह्विलचेयर दौडमा खत्रीलाई उपाधि
कान्तिपुर हाफ म्याराथन अन्तर्गतले ह्विलचेयर दौडको उपाधि रमेश खत्रीले जिते । ३ किलोमिटर दुरी उनले ७ मिनेट २६।७४ सेकेन्डमा पार गरे । थापाथलीबाट सुरु भएको ह्विलचेयर दौड माइतीघर मण्डला फन्को लगाएर पुनः थापाथली आएर टुंगिएको थियो । त्यस्तै दान थिङले ७ मिनेट ३५ सेकेन्डमा पूरा गरेर दोस्रो, रामकाजी मिजारले ८ मिनेट ५२।८४ सेकेन्डमा पूरा गरेर तेस्रो भए ।
महिलातर्फ ऐश्वर्या कुमालले १० मिनेट ९।७८ सेकेन्डमा दौड पूरा गरेर उपाधि जितिन् । पूर्वविजेता यामकुमारी झाँक्रीमगर दोस्रो र पेमा छोक्पा गुरुङ तेस्रो भए । यामकुमारीले १० मिनेट ५१।०७ सेकेन्ड र पेमाले ११ मिनेट २५।१० सेकेन्डमा दौड पूरा गरे ।
ह्विलचेयरतर्फ पहिलोदेखि तेस्रो स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाए ।
कर्पोरट रनमा विकेश र सुनितालाई उपाधि
कान्तिपुर हाफ म्याराथन अन्तर्गत नै भएको ५ किलोमिटरको कर्पोरेट रनमा पुरुषतर्फ विकेश घिमिरे र महिलातर्फ सुनिता महर्जन विजयी भए । विकेशले १४ मिनेट ३६।३ सेकेन्डमा दौड पूरा गरे भने सुनिताले २३ मिनेट २३।९० सेकेन्डमा पूरा गरिन् ।
पुरुषतर्फ १४ मिनेट ४६।७ सेकेन्डमा दौड पूरा गरेर विकास पोखरेल दोस्रो र १५ मिनेट ००।६ सेकेन्डमा पूरा गरेर अनिश लामा तेस्रो भए ।
महिलातर्फ विनिता महर्जनले २३ मिनेट ३०।२९ सेकेन्डमा पूरा गरेर दोस्रो र एलिना श्रेष्ठले २६ मिनेट ०७।४९ सेकेन्डमा पूरा गरेर तेस्रो भए ।
कलेज रनमा पुकार र सुशन विजयी
कान्तिपुर हाफ म्याराथन अन्तर्गत नै ७ किलोमिटरको कलेज रनको उपाधि पुरुषतर्फ पुकारजंग बस्नेत र महिलातर्फ सुशन कार्कीले जिते ।
पुकारले २४ मिनेट ४७ सेकेन्डमा दौड पूरा गरे भने सुशनले २७ मिनेट २९।५६ सेकेन्डमा पूरा गरिन् । पुरुषतर्फ २४ मिनेट ५३ सेकेन्डमा दौड पूरा गरेर रिम बुढामगर दोस्रो र २५ मिनेट ३० सेकेन्डमा दौड पूरा गरेर समिप थुलुङ राई तेस्रो भए ।
महिलातर्फ निशम हाङ सुब्बाले ३१ मिनेट ०७।५० सेकेन्डमा दौड पूरा गरेर दोस्रो र मिनिशा पन्तले ३२ मिनेट १८।४२ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भए ।कान्तिपुर हाफ म्याराथनमा ४ हजारभन्दा बढीको सहभागिता थियो ।







सम्बन्धित खवर















