खुल्यो रत्न मन्दिर परिसर

पोखरा । गणतन्त्र दिवसको अवसर पारेर सोमबार पोखराको रत्न मन्दिर परिसर खुल्ला गरिएको छ । तत्कालिन राजा महेन्द्रले पश्चिम भ्रमणको क्रममा विश्राम गर्ने गृहको रुपमा पोखरा-६, लेकसाइडमा संरचना बनाए । ति हुन् हिमागृह र रत्न मन्दिर ।
नेपाली ताज महलको रुपमा समेत परिभाषित गरिने रत्न मन्दिर राजा महेन्द्रले रानी रत्नको नाममा राखे । सोही दिनदेखी त्यो विश्राम स्थलको नाम रह्यो रत्न मन्दिर । देशमा राजनैतिक परिवर्तनसँगै लोकतन्त्र, गणतन्त्र आयो । गणतन्त्र आएको १५ वर्षसम्म पोखराको यी दुई राजपरिवारको घर खुल्ने धेरै प्रयास भए । तर खुल्न सकेन् । अहिले भने खुल्यो । घुम्न आउने अधिकांशले रत्न मन्दिर घुम्ने रहर गरे तर रत्न मन्दिर दरबार (जुन घरमा राजपरिवार बस्थे त्यो घर) मा लेखिएको छ ‘प्रवेश निषेध’ ।
रत्न मन्दिरभित्र ११ खोपी (कोठा) छन् । साना साना ती खोपीको तेस्रो तलामा राजा रानीको सयन कक्ष छ । दोस्रो तलामा शाही नातेदारहरुको शयन कक्ष रहेको छ । पहिलो तलामा डाइनिंग हलसँगै भेटघाट र राजाका ए.डी.सीहरु बस्ने कक्ष रहेको छ ।
बाहिरबाट दरबार जति सुन्दर देखिन्छ भित्र त्यतिनै जीर्ण भएको छ । घरको सिलिङ तथा भित्ताहरु चर्किएका छन् । जसका कारण भित्र पस्दा झन जीर्ण हुने स्थिति छ । साना साना कोठा त्यसमा पनि जीर्ण भएकाले अहिलेका लागि दरबार भित्र पस्न निषेध गरिएको हो । स्रोतका अनुसार उक्त घरभित्र घरमा प्रयोग हुने सरसामान नै राखिएको छ । तर पुनः निर्माण गर्नुपर्ने स्थितिमा पनि रहेको छ । २०७२ सालको महाभुकम्पले समेत क्षति पुर्याएको स्रोत बताउछन् । ‘अहिले रत्नमन्दिर दरबार प्रवेशमा रोक लगाइएको छ । त्यो खोल्ने वित्तिकै त्यहाँ झन क्षति पुग्छ । एक पटकमा पाँच छ जनासम्म मात्रै जान सक्छन’ स्रोतले भने, ‘तर त्यहाँ त्यहि दरमा जान दिने हो भनेपनि दिनभरमा सयौ प्रवेश गर्छन् ।’ इतिहाससँग जोडिएका सामानहरु रहेकाले पनि त्यसको संरक्षणका लागि दरबार भित्र प्रवेश रोक्नै पर्ने उनी बताउछन् । यस्तै राजा महेन्द्र र विरेन्द्र हुँदाको समयमा काम गरेकी ८३ वर्षिया प्रताप कुमारी अधिकारी पनि दरबार खोल्न नहुने पक्षमा छिन् । इतिहाससँग जोडिएको विषय भएकाले सर्वसाधारणका लागि खोल्दा इतिहास नै मेटिने उनको भनाइ रहेको छ । राजाको पालामा उक्त दरबार परिसरको बगैंचा निकै मनमोहक भएपनि अहिले भने केहि नभएको उनी बताउँछिन् । ‘यो इतिहास हो । यहाँ त्यो बेला राजाको सवार हुँदा गेटबाट मान्छेको स्वागत लाइन हुन्थ्यो । यहाँका गुनासा र विकासका कामका लागि भेटघाट यहि हुन्थ्यो’ उनले भनिन्, ‘हामीले काम गर्दा यहाँको बगैचाँ नै फरक थियो । यहाँ काम गर्ने मालिहरुलाई काठमाडौंमा लगेर तालिम समेत दिनुहुन्थ्यो राजाले । अहिले त यहाँ भएका सजावटको कटाइ समेत मिलेको छैन् । त्यो बेला यहाँ प्रवेश गर्दा नै अर्कै हुन्थ्यो ।’
घरमात्र होइन् तालमा बनेको हावा घरमा पनि प्रवेश निशेष गरिएको छ । उक्त घर समेत जीर्ण भएकै कारण प्रवेशमा रोक लगाइएको हो । बाहिर अवलोकन गर्न सकिने भएपनि भित्र भने के थियो भन्ने प्रत्यक्ष देख्न पाउने छैनन् ।
बाहिर सामान्य देखीएपनि समयसँग जोडेर हेर्दा उत्कृष्ट छ : मन्त्री किराँती
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले रत्न मन्दिर अहिले हेर्दा सामान्य लागेपछि तत्कालिन समयमा यो आलिसान महलको रुपमा रहेको बताएका छन् । सोमबार रत्नमन्दिर खुल्ला गर्दै उनले इतिहासको काल खण्डमा रत्न मन्दिरको विशेषता छुट्टै रहेकाले रत्न मन्दिर परिसरको अवलोकन गर्दा समयसँग तुलना गर्न अनुरोध गरे । ‘कतिपयले रत्न मन्दिर परिसर घुमेर हेर्दा साधारण रहेछ हाम्रो रानीको दरबार भनेर पनि भन्नुहोला । कुनै पनि घटनालाई समयसँग तुलना गरेर हेर्नुपर्छ’ उनले भने, ‘आजभन्दा ६०/७० औं वर्ष अगाडी पोखरा कस्तो थियो होला ? अर्थात ०१३ देखी १५ सालमा नेपाली जनता कहाँ थिए, के गर्दै थिए र कसरी बाचेका थिए होलान् । जनताको जिवनस्तर, हाम्रो देशको भौतिक विकास त्यो बेलाको र आजको तुलना गरेर हेर्दा हाम्रो राजारानी बस्ने ठाउँ धेरै नै राम्रो थियो ।’
आज समय र सन्दर्भले संरचनाहरुमा परिवर्तन आएसँगै उक्त संरचना सामान्य लागेपछि त्यसको इतिहास असामान्य रहेको र त्यसलाई महत्वपूर्ण गन्तव्यको रुपमा बनाउनुपर्नेमा जोड दिए ।
मन्त्री किराँतीले १५ वर्षको गणतन्त्र जवान हुँदै गइरहेको र जवान गणतन्त्रले संवृद्धि र सुख बोकेर ल्याउने बताए । जनताको चाहाना अनुरुपको काम गर्ने प्रयास आफुहरुले गरिरहेको उनले सुनाए । उनले उद्घाटन गर्नु ठूलो कुरा नभएको तर यसको संरक्षण, प्रबर्दन र प्रचार गर्नु ठूलो कुरा रहेको बताए । रत्न मन्दिर संरक्षण गर्ने काम पोखरावासी, स्थानीय र प्रदेश सरकारको रहेको उनको भनाई रहेको छ । यस्तै पोखरामा संचालनमा आएको अन्तर्राष्ट्रिय हवाई उडानका लागि चिनसँग छलफल भएको र आगामी जुन २२ बाट चिनबाट पोखरा सिधा उडान हुने जानकारी उनले दिए ।
गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम बहादुर जुगजालीले पैसामा चाबी लगाएर बाहिर पैसा खोज्ने प्रवित्तिमा हामी भएकाले संवृद्ध हासिल गर्न नसकेको बताए । उनले पोखराको स्थितिमा समेत सोहि भएको सुनाए ।
विभिन्न बाधा अवरोधलाई पछ्याउँदै रत्न मन्दिर खुलेको र यसले पोखराको पर्यटन विकासलाई टेवा पुग्ने उनको भनाइ रहेको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले रत्न मन्दिर नेपालको ताज महल रहेको सुनाए । उनले गणतन्त्र आइसकेपछि बन्द अवस्थामा रहेको र धेरै लामो प्रयत्नपछि खुल्ला गरेको बताए ।
महानगरले पोखरालाई पर्यटनको राजधानी बनाउने निणर्य गरेर पठाइसकेको अवस्थामा पोखराको रत्न मन्दिर खुल्ला हुँदा थप आकर्षण बढेको बताए । छोटो समयमा भएपनि अघि बढाउनुपर्छ भन्ने हिसाबले खुल्ला गरेको सुनाए ।
यो रत्न मन्दिर परिसरको अधिकांश भाग खुल्ला भएको छ । धेरै कुराहरु जीर्ण छन् यसलाई मर्मत गर्नुपनेछ’ उनले भने,‘रत्न मन्दिरको भित्री भागलाई खुल्नका लागि केहि समय लाग्नेछ ।त्यो बाहेक हिमागृह सानो भएकाले त्यसलाई अलिपछि खोल्दै जाने सल्लाहअनुसार पहिलो चरणमा रत्न मन्दिर परिसर खुल्ला भएको छ ।























