लेकसिटीको स्थापना दिवसमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण एवं विभिन्न व्यक्तिलाई सम्मान
- June 8, 2023
- 3465

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा लेकसिटीले आफ्नो स्थापनाको ३०औं वर्षमा प्रवेश गरेको छ । सामाजिक सेवा भावको उदेश्यसहित विभिन्न पेशा र व्यवसायमा संलग्न युवाहरुले ३० बर्ष अघि क्लबको स्थापना गरेका थिए । क्लबका संस्थापक अध्यक्ष कृष्णमोहन श्रेष्ठ थिए । उनी पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत हुन् ।
डिष्ट्रिक्ट ३२५ के नेपालका वर्तमान डिष्ट्रिक्ट गभर्नर रहेका राजेन्द्रकुमार बाटाजू लायन्स लेकसिटीका पूर्वअध्यक्ष हुन् भने क्लबकै पूर्वअध्यक्ष दीपक श्रेष्ठ लायन्स ३२५ बी नेपालका पूर्व मल्टिपल काउन्सील चियरपर्सन हुन् ।
क्लबले ३० औं वार्षिकोत्सवको अवसरमा बिहीबार पोखरा उद्योग वाणिज्य संघको बालश्रम न्यूनीकरण कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा अध्ययनरत ५० न्यून आय भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।क्लबका अध्यक्ष कैलाश पालिखेका अनुसार यसअघि पनि क्लबले न्यून आय भएका विद्यार्थीहरुको लागि विभिन्न खाले सहयोग प्रदान गर्दै आइरहेको छ ।
सो अवसरमा आयोजित विशेष कार्यक्रममा खेलकुद पत्रकार मञ्च गण्डकीबाट लाइफटाइम अचिभमेण्ट अवार्डप्राप्त क्लबका आउँदो कार्यकालको लागि प्रथम उपाध्यक्ष चुनिएका विद्या मर्सानी, संस्थापक अध्यक्ष कृष्णमोहन श्रेष्ठ सहित संस्थापक सदस्यहरूलाई सम्मानित पनि गर्यो । कार्यक्रमका प्रमुख अतिथि उद्योगपति सुशीलकुमार गोशेलीले उनीहरुलाई सम्मानित गरेका हुन् ।
वार्षिकोत्सवकै अवसरमा क्लबका सदस्य सुशील ताङ्वेले आफ्ना पिता सुशीलकुमार लामाको स्मृतिमा शैक्षिक क्षेत्रमा विभिन्न काम गर्ने गरी एक लाख रुपैयाँको अक्षयकोष घोषणा गरे । उनले क्लबका कोषाध्यक्ष कृष्ण काफ्लेलाई चेक हस्तान्तरण गरेका हुन् ।
क्लबको अगुवाइ तथा लायन्स इन्टरनेसनल ३२५ ‘के’ को सहयोगमा नदीपुरमा रहेको ज्ञानभूमि माविमा पानीट्यांकी निर्माणको लागि एक लाख रुपैयाँ सहयोग हस्तान्तरण पनि सोही अवसरमा गरिएको थियो । क्लबका अध्यक्ष कैलाश पालिखेले क्लबका आउँदो कार्यकालका कोषाध्यक्ष एवं व्यवस्थापन समितिका अध्यक्ष प्रेम शेरचनलाई चेक हस्तान्तरण गरे । सो अवसरमा क्लबमा आवद्ध सदस्यका श्रीमती तथा लायन्स क्लब अफ पोखरा गार्डेनका सदस्यसहित १३ जनाबाट एनएलएफ कोषमा प्राप्त सहयोग लायन्स ३२५ के नेपालका क्याविनेट ट्रेजरर मदन मुल्मीलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उद्योगपति सुशीलकुमार गोशेलीले लेकसिटीले सामाजिक क्षेत्रमा गरेको योगदानको मुक्तकष्ठले प्रशंसा गरे । समाजसेवाभन्दा पुण्यकाम अर्को नभएको उनको भनाइ थियो ।
लायन्स क्लब इन्टरनेसनलका पीएमसीसी दीपक श्रेष्ठले लायन्सका सदस्यहरु सेवाको लागि हरदम तयार रहनुपर्नेमा जोड दिए । सेवाको भावना मनैदेखि आउनुपर्ने उनको धारणा थियो ।
लायन्स क्लब डिष्ट्रिक्ट ३२५ के नेपालको आउँदो कार्यकालको लागि सेकेण्ड भीडीजी दुर्गाप्रसाद हुमागाईंले सामाजिक क्षेत्रमा गरेको योगदानकै कारण लायन हुँ भन्दा गर्व लाग्ने बताए ।
लायन्स ३२५ के नेपाल जोन ३२ का जोन चियरपर्सन नारायण कोइरालाले आउँदा दिनमा लेकसिटीले अझै सिर्जनात्मक काम गर्ने विश्वास व्यक्त गरे ।
क्लबका अध्यक्ष कैलाश पालिखेको अध्यक्षता, प्रथम उपाध्यक्ष सोवितमान बुद्धाचार्यको धन्यवाद तथा सचिव सुदीप प्रधानाङ्गको संचालन रहेको कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष कृष्णमोहन श्रेष्ठले ३० बर्ष अघि स्थापित क्लबको भूमिका अहिले झन महत्वपूर्ण भएको बताए ।







सम्बन्धित खवर















