
पोखरा भ्यूज
काठमांडौ, ४ असार । लायन्सको १०५औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जान लागेका लायन्सका अन्तराष्ट्रिय डाइरेक्टर इन्डोर्सी बालकृष्ण बुर्लाकोटीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदाई एवं सम्मान गरेका छन् । आगामी जुलाई ७ देखि ११ तारिखसम्म अमेरिकाको बोष्टनमा हुने लायन्सको अन्तराष्ट्रिय सम्मेलनबाट नेपालका लायन लिडर बुर्लाकाटी अन्तराष्ट्रिय डाइरेक्टर बन्दैछन ।
सोमवार नेपालका लायन्स लिडरहरुसँग प्रधानमन्त्रीको सचिवालयमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाली लायन्सका अन्तराष्ट्रिय डाइरेक्टर इन्डोर्सी बुर्लाकोटीलाई अन्तराष्ट्रिय डाइरेक्टरको सपथ लिन अमेरिका प्रस्थान गर्न लागेकोमा बधाई ज्ञापन गर्दै राष्ट्रिय झण्डा ओढाएर सम्मानका साथ बिदाई गरेको प्रधानमन्त्री दाहालको सचिवालयले बताएको छ ।
भेटमा प्रधानमन्त्री दाहालले लायन्सको अन्तराष्ट्रिय डाइरेक्टरमा नेपालका बुर्लाकोटीले नेतृत्व गर्न लागेकोमा अत्यन्त खुसी लागेको बताउदै लायन्स मार्फत नेपाल अन्तराष्ट्रिय जगतमा थप परिचित हुने विश्वास व्यक्त गरेका थिए ।
दाहालले २११ राष्ट्रमा फैलिएको लायन्सको नेटवर्कमा नेपालको प्रचारप्रसार हुने र नेपालको पर्यटन प्रबर्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा अन्तराष्ट्रिय डाइरेक्टर इन्डोर्सी बालकृष्ण बुर्लाकोटीले प्रधानमन्त्रीबाट पाएको सम्मानले अत्यन्त गौरवान्वित बनाएको र सामाजिक कार्यमा अझै क्रियाशिल बन्न हौसला मिलेको बताए । यो सम्मान सम्पुर्ण नेपाली लायन्सको सम्मान भएको अनुभुति गरेको, आफु अन्तराष्ट्रिय डाईरेक्टरमा निर्वाचित भएपछि नेपालको लायनिजमको बिकाश र बिस्तारसँगै नेपालमा शिक्षा, स्वास्थ्य र बातावरणको क्षेत्रमा काम गर्न लायन्स अन्तराष्ट्रियबाट ग्रान्ट ल्याउन पहल गर्ने बुर्लाकोटीले प्रतिबद्दता जनाए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा आइडी इन्डोर्सी बुर्लाकोटी सहित, वँहाका स्पाउस ज्ञानु बुर्लाकोटी, जिएटी एरिया लिडर खगेन्द्र सिटौला, लायन्स अन्तराष्ट्रिय मल्टिपल ३२५ नेपालका मल्टिपल काउन्सिल चेयरपर्सन केशब पाण्डे, निबर्तमान काउन्सिल चेयरपर्सन मन बहादुर रोक्का सहित बिभिन्न डिष्ट्रिक्टका पुर्व डिष्ट्रिक्ट गभर्नरहरूको उपस्थिति रहेको थियो ।

















