0Shares

न्यूज एजेन्सी
१४ श्रावण, पाकिस्तान । पाकिस्तानको कट्टरपन्थी राजनीतिक तथा धार्मिक समूह जमियत उलेमा इस्लाम-फजलका कार्यकर्ताहरूको र्‍यालीमा शक्तिशाली बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

घटनामा २ सय जना घाइते भएका अधिकारीहरुले बताएका छन् । विस्फोटपछि बजौर र छिमेकी क्षेत्रका अस्पतालहरूमा उच्च सतर्कता अपनाइएको कार्यवाहक सञ्चारमन्त्री फिरोज शाह जमालले जानकारी दिएका छन् । घटनामा गम्भीर घाइते भएकाहरूलाई पेशावर र अन्य अस्पतालमा लगिएको पनि उनले बताए ।

गम्भीर घाइतेहरूलाई हेलीकोप्टरबाट पेशावर र अन्य अस्पतालमा लगिएको छ । सरकारले घटनास्थललाई अहिले सिल गरेको छ । पाकिस्तानी सेना र अन्य सुरक्षाकर्मीहरूले अहिले उद्धारमा सघाइरहेका छन्। विस्फोटको क्रममा जमियत उलेमा इस्लाम फजलका नेता मौलाना जियाउल्लाह जानको पनि मृत्यु भएको अधिकारीहरुले पुष्टि गरेका छन् ।

बजौर जिल्लाका स्वास्थ्य अधिकृत पैसल कमालले विस्फोटमा घाइते भएका १ सय ५० जनालाई बजौर जिल्ला सदरमुकामका अस्पतालमा उपचार गरिएको बताएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्रस्थित बजौर जिल्लाको खारमा आयोजित सम्मेलनमा आइतबार साँझ बम विस्फोट भएको हो । विस्फोटमा घाइते भएकाहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected