
पोखरा भ्यूज
५ भदौ, काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार साँझ आयोजित एक विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरेलगायत उच्च पदस्थ सरकारी अधिकारीहरुको उपस्थिति थियो । तर उपसभामुख इन्दीरा रानामगर भने सहभागी भइनन् । उपसाभामुख रानामगरले निमन्त्रणापत्र नपाएकाले उक्त समारोहमा उपस्थित नभएको स्रोतले बताएको छ ।
श्रेष्ठ आगामी १४ महिना सर्वोच्च अदालतको नेतृत्वमा रहने छन् । वि.स. २०१६ असोज २० मा डोटीको सिलगढीमा जन्मेका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका थिए । त्यसको ६ वर्षमै जिल्ला न्यायाधीश भएका उनी ०६२ मा तत्कालीन पुनरावेदन अदालत बाग्लुङको न्यायाधीश भए ।
०७० मा पुनरावेदन अदालत पोखराको कायममुकाम मुख्य न्यायाधीश भएका उनी ०७१ मा पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीश भएका थिए । त्यसको करिब दुई वर्षपछि ०७३ साउन १७ मा सर्वोच्च अदालतमा नियुक्त भएका हुन् ।











