लिबिया बाढीः डेर्ना नगरमा मात्रै ११ हजारको मृत्यु, हालसम्म मृत्यु हुने संख्या करिब २० हजार
- September 16, 2023
- 3069

एजेन्सी
३० भदौ, लिबिया । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या एघार हजार तीन सय पुगेको छ। पूर्वी शहर डेर्नामा यति धेरैले ज्यान गुमाएका लिबियाली रेडक्रसका एक अधिकारीले बताएका छन्।
डेर्नामा मात्र अझै दश हजार एक सय जना हराइरहेका छन् भने देशका अन्य भागबाट दशौँ हजार बेपत्ता भएका तथा ५० हजारभन्दा बढी विस्थापित भएका छन्। गत आइतबार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो। बाढीको विनाशबाहेक डेर्नामा केही देखिदैन।
बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठन ९आईओएम०ले जनाएको छ। नब्बे हजार जनसङ्ख्या भएको डेर्नामा अहिले जताततै शवमात्र छरिएका र उद्धारकर्ता एवं सामाजिक सङ्घसंस्थालाई शव व्यवस्थापन ज्यादै चुनौतीपूर्ण बनेको छ। सुडान र इजिप्टका चार सय विदेशीको पनि बाढीमा मृत्यु भएको छ। हालसम्म तीन हजार एक सय ९० जनाको अन्त्येष्टि गरिएको छ।
यसैबीच, पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ। दुई वटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्याङ्कमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताएका हुन्।
डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको सङ्ख्या २० हजारको हाराहारीमा पुगेको अल–अरेबिया टिभीलाई उनले बताएका छन्।













