
पोखरा भ्यूज । विश्वभरका लायन्स तथा लियो सदस्यहरूको सहभागितामा आयोजना हुने १०८औँ लायन्स अन्तर्राष्ट्रिय सम्मेलन सन् २०२६ जुलाई ३ देखि ७ तारिखसम्म चीनको हंगकंगमा आयोजना हुने भएको छ। सम्मेलनले विश्वभरका सेवामूलक अभियन्ताहरूलाई एकै थलोमा जुटाउँदै सेवा, नेतृत्व, मित्रता र मानवीय सहयोगको साझा उद्देश्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
लायन्स अन्तर्राष्ट्रियको वार्षिक प्रमुख कार्यक्रमका रूपमा रहेको सम्मेलनमा सहभागीहरूले अन्तर्राष्ट्रिय नेताहरूका सम्बोधन सुन्ने, विभिन्न पूर्ण सत्र (Plenary Sessions), सेमिनार तथा प्रदर्शनी अवलोकन गर्ने अवसर पाउनेछन्। साथै, सेवा परियोजना, प्रतिनिधिमण्डलका कार्यक्रम तथा विशेष समारोहहरूमा समेत सहभागी हुन सकिने आयोजकले जनाएको छ।
सम्मेलनमा लायन्स लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष ए. पी. सिंह, एलसीआईएफ अध्यक्ष फेब्रिसियो ओलिभेरा (Fabrício Oliveira), प्रथम उपाध्यक्ष मार्क लिओन (Mark Lyon), द्वितीय उपाध्यक्ष मनोज शाह (Manoj Shah) तथा तृतीय उपाध्यक्ष टोनी बेण्बोव (Tony Benbow) लगायतका अन्तर्राष्ट्रिय नेतृत्वको सहभागिता रहनेछ।
सम्मेलन अवधिभर अन्तर्राष्ट्रिय मनोरञ्जन कार्यक्रम, व्यवसायिक बैठक, सेमिनार तथा प्रदर्शनीहरू सञ्चालन गरिनेछन्। साथै, लायन्स तथा लियो सदस्यहरूले विश्वका विभिन्न देशका प्रतिनिधिहरूसँग अनुभव आदान–प्रदान गर्ने अवसर प्राप्त गर्नेछन्।
यस अवसरमा लायन्स लायन्स अन्तर्राष्ट्रियले वार्षिक निर्वाचन कार्यक्रमसँगै मानवीय सेवामा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान पनि गर्नेछ। “मेल्भिन जोन्स फेलोसिप लन्चन” मार्फत मानव सेवामा समर्पित लायन्स सदस्यहरूलाई विशेष सम्मान प्रदान गरिने जनाइएको छ।
यस वर्षको “लायन्स इन्टरनेशनल ह्युम्यानिटेरियन अवार्ड” विश्वव्यापी राहत तथा विपद् व्यवस्थापन कार्यमा उल्लेखनीय योगदान पुर्याएको Khalsa Aid International लाई प्रदान गर्ने छ । उक्त पुरस्कार संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रवि सिंह (Ravi Singh) ले ग्रहण गर्नेछन्।
त्यसैगरी, चीनको डालियानकी १३ वर्षीया Yifan He लाई शान्ति र एकताको सन्देश बोकेको कलाकृतिका लागि “लायन्स इन्टरनेशनल पीस पोस्टर प्रतियोगिता”को ग्राण्ड प्राइज विजेताका रूपमा सम्मान गर्ने छन् ।
ब्राजिलकी १३ वर्षीया Adriene Mirelly da Silva लाई “Together We Are One: The Truth Beyond Appearances” शीर्षकको निबन्धका लागि “लायन्स इन्टरनेशनल पीस एसे प्रतियोगिता”को ग्राण्ड प्राइज प्रदान गरिने कार्यक्रम रहेको छ।
विश्वकै आकर्षक र व्यस्त शहरहरूमध्ये एक मानिने हङकङ सम्मेलनले सहभागीहरूलाई त्यहाँको प्रसिद्ध स्काइलाइन, बन्दरगाह, सांस्कृतिक सम्पदा, खानपान, किनमेल तथा पर्यटकीय क्षेत्रको अनुभव लिने अवसर पनि प्रदान गर्नेछ।
आयोजकका अनुसार सम्मेलनले विश्वभरका लायन्स तथा लियो सदस्यहरूलाई साझा सेवामूलक अभियानलाई थप प्रभावकारी बनाउने, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने तथा मानव सेवाप्रतिको प्रतिबद्धतालाई उत्सवका रूपमा मनाउने अवसर प्रदान गर्नेछ।







सम्बन्धित खवर















