0Shares

एएफपी
१२ कात्तिक,धर्मशाला । पाँच पटकको च्याम्पियन अस्ट्रेलियाले विश्वकप क्रिकेट इतिहासकै सबैभन्दा बढी रन बनेको खेलमा शनिबार न्युजिल्यान्डलाई ५ रनले पराजित गरेको छ । ट्राभिस हेडले १ सय ९ र अर्का ओपनर डेविड वार्नरले ८१ रन बनाएपछि अस्ट्रेलिया ४९.२ ओभर खेल्दै ३ सय ८८ रनमा अलआउट भएको थियो ।

न्युजिल्यान्डले पनि जवाफ राम्रो दियो । रचिन रवीन्द्रले १ सय १६, डारेल मिचेलले ५४ र जिम्मी निसमले ३३ बलमा अर्धशतक बनाए पनि न्युजिल्यान्डले निर्धारित ५० ओभर खेलेर ९ विकेट गुमाई ३ सय ८३ रनमात्र बनाउन सक्यो । खेलमा कुल ७ सय ७१ रन बन्यो, जुन विश्वकपको एकै खेलमा बनेको सबैभन्दा बढी रन हो ।

यसै प्रतियोगितामा दक्षिण अफ्रिका र श्रीलंकाबीचको खेलमा ७ सय ५४ रन बनेको थियो । ‘यो खेल गजब नै भयो, दर्शक नभए पनि मैदानबाहिरबाट यो खेल हेर्दा मैले सम्झिरहने छु, निकै उत्कृष्ट खेल थियो, उनीहरूले अन्तिमसम्म चुनौती दिइरहे,’ अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले भने ।

न्युजिल्यान्डलाई अन्तिम ओभरमा जितनिम्ति १९ रन चाहिन्थ्यो । ट्रेन्ट बोल्टले पहिलो बलमा १ रन लिए । त्यसपछि अर्को बलमा अस्ट्रेलियाका बलर मिचेल स्टार्कले वाइडमा ५ रन खर्चन पुगे । न्युजिल्यान्ड २०१९ को विश्वकपमा इंग्ल्यान्डसँग पराजित हुँदा टोलीमा रहेका निसमले त्यसपछिका तीन बलमा २–२ गरेर ६ रन जोडे । तर, पाँचौं बलमा दुई रन लिन खोज्दा उनी रनआउट भए ।

फिल्डिङका क्रममा घाइते भएका लोकी फर्गुसनसामु अन्तिम बलमा न्युजिल्यान्डलाई जिताउन छक्का प्रहार गर्नुमात्र विकल्प थियो, तर उनले कुनै रन जोड्न सकेनन् । ‘यो उत्कृष्ट खेल थियो । १ सय ओभरको खेलक्रम तल र माथि भइरह्यो,’ न्युजिल्यान्डका कप्तान टम लाथमले भने, ‘यति नजिक पुगेर पनि हार्नुपर्दा दुःख लागेको छ ।’

दुवै टोली ६ खेलमा ४ जित र २ हारसाथ सेमिफाइनलका लागि मजबुत अवस्थामा छन् । हातमा चोट लागेका कारण प्रतियोगितामा पहिलो खेल खेलिरहेका हेडले ५९ बलमै शतक बनाउँदा १० चौका र ६ छक्का प्रहार गरेका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले चौथो शतक बनाएका हुन् । २८ बलमै अर्धशतक बनाएका २९ वर्षे हेडले ७० र ७५ रनमा गरी दुई पटक जीवनदान पाएका थिए । उनलाई २४ औं ओभरमा अफ स्पिनर ग्लेन फिलिप्सले बोल्ड गरे, जतिखेर अस्ट्रेलिया २०६–२ को स्थितिमा थियो ।

हेड र वार्नरले पहिलो २० ओभरमा १ सय ७५ रन जोडेर अस्ट्रेलियालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । शुक्रबारमात्र ३७ वर्षमा लागेका वार्नर लगातार तेस्रो शतक नजिक पुग्दा उनलाई फिलिप्सले आफ्नै बलिङमा क्याच गराए । स्टिभ स्मिथलाई १८ रनमा आउट गरी फिलिप्सले तेस्रो विकेट लिए ।

नेदरल्यान्ड्सको अर्को सनसनी
कप्तान स्कट इडवार्डसले आफैं उदाहरण बनेर देखाएपछि नेदरल्यान्ड्सले विश्वकप क्रिकेटमा शनिबार बंगलादेशलाई ८७ रनले पराजित गरेको छ । कोलकातामा पाएको यस विजय नेदरल्यान्ड्सको प्रतियोगितामा टेस्ट राष्ट्रमाथि दोस्रो हो । प्रतियोगिताको यसअघिका खेलमा टोलीले दक्षिण अफ्रिकालाई हराएको थियो ।

इडवार्डसले ६८ रन बनाएपछि नेदरल्यान्ड्स पूरा ओभर खेल्दै २ सय २९ रनमा अलआउट भयो । जवाफमा बंगलादेश ४२।२ ओभरमा १ सय ४२ रनमा अलआउट हुन पुग्यो । बंगलादेशले यस विश्वकपमा छैटौं खेलमा पाँचौं पराजय बेहोरेको हो ।

पाउल भान मिकेरेनले ४ विकेट लिएपछि बंगलादेशको इनिङ्स खुम्चिएको थियो । प्लेयर अफ द म्याच मिकेरेनले ७।२ ओभरमा २३ रनमात्र खर्चे ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected