0Shares

पोखरा भ्यूज
१२ कात्तिक,काठमाडौँ । संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस आइतबार राति १ बजे नेपाल आइपुगेका छन् । चारदिने भ्रमणका क्रममा उनी नेपाल आएका हुन् ।

उनलाई स्वागत गर्न परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सेप्टेम्बर १७ मा संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भेटेरै नेपाल भ्रमणको निम्तो दिएका थिए ।

महासचिव गुटेरेसको नेपाल भ्रमणका महत्त्वपूर्ण एजेन्डाहरूमा विश्व शान्ति र नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन र हिमालयले भोगिराखेको समस्या तथा विश्व शान्तिको प्रतीक गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियकरण, दिगो विकासका लक्ष्य छन् ।

महासचिव गुटेरेसले आइतबार दिउँसो परराष्ट्रमन्त्री साउदसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ । त्यसपछि प्रधानमन्त्री दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने छन् । उक्त भेट लगत्तै नेपालका पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गर्नेछन् ।
त्यसपछि महासचिव गुटेरेस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकनमा पनि जानेछन् भने त्यहाँबाट फर्केपछि प्रधानमन्त्रीको आयोजनामा हुने रात्रिभोजमा सरिक हुनेछन् ।

कात्तिक १३ गते सोमबार महासचिव गुटेरेस जलवायु परिवर्तनको असरलाई बुझ्न सोलुखुम्बुको स्याङ्बोचेसम्म अवलोकन गर्न पुग्ने कार्यक्रम छ । त्यसपछि उनी काठमाडौं फर्केर ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि उनी पोखरा उड्ने र राति पोखरामै बस्ने कार्यतालिका छ ।

कात्तिक १४ गते मंगलबार महासचिव गुटेरेस पोखराबाट बिहान अन्नपूर्ण आधारशिवरको अवलोकन गर्ने छन् । जलवायु परिवर्तनको असर र ग्लेसियरले क्षयीकरण हुँदै गएको अन्नपूर्ण आधारशिविरको अध्ययन भ्रमण सकेर उनी पोखरा फर्केर पुरानो पोखरा विमानस्थलमा पत्रकार सम्मेलन गर्नेछन् । त्यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा जानेछन् ।

लुम्बिनीबाट काठमाडौं फर्केर सोही दिन बेलुकी उनले संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने छन् । त्यसपछि संसद्कै परिसरमा पत्रकार सम्मेलन गर्ने र कात्तिक १५ गते बुधबार महासचिव गुटेरेस नेपालको आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम रहेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected