4Shares

पोखरा भ्यूज

१३ कात्तिक, काठमाडौं । नेपालको ४ दिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस आज पोखरा आउँदै छन् । उनको सगरमाथा क्षेत्रको अवलोकन भ्रमण सकाएर दिउँसो पोखरा जाने कार्यतालिका छ ।

उनी पोखरास्थित फिस्टेल लजमा बास बस्ने र मंगलबार बिहानीको मौसम अनुकुलता अनुसार नेपाली सेनको हेलिकप्टरमार्फत् अन्नपूर्ण आधारशिविर पुगेर जलवायु परिवर्तनको असरले आधारशिविरमा भएको क्षयीकरणको अध्ययन र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि एवं  त्यहाका पर्यटन व्यवसायीसँग छलफल गर्ने छन् ।

महासचिव गुटेरेसको स्वागतका लागि अन्नपूर्ण गाउँपालिकाले विशेष तयारी समेत गरेको छ । गाउँपालिकाले गुरुङ संस्कृति अनुसार गुटेरेसको स्वागत गर्नेछ । त्यसको व्यवस्थापन गर्न अन्नपूर्ण गाउँपालिकाका जनाप्रतिनिधिको टोली आधारशिवरमा पुगिसकेको छ ।

गुटेरेस अन्नपूर्ण आधारशिविर आउने भएपछि अन्नपूर्ण आधारशिविर पदमार्गका व्यवसायीहरु उत्साही भएको पर्यटन व्यवसायी दिलीप गुरुङले बताए । उनका अनुसार नेपाली सेना र नेपाल प्रहरीको टोलीले अन्नपूर्ण आधारशिविर क्षेत्रको सुरक्षा जाँच गरेको छ ।

पछिल्लो समय जलवायुको असर र अधिक ग्लेसियरका कारण अन्नपूर्ण आधारशिविरको क्षयीकरण भई आधारशिविर साँघुरो बन्दै गएको छ । गुटेरेसको भ्रमणका क्रममा त्यसबारे चासो राख्ने तयारी भएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष जगनरास गुरुङले बताए । उनका अनुसार अन्नपूर्ण आधारशिविरमा पूर्वाधार विकास र त्यहाँ भएको क्षयीकरणको रोकथाम गर्न गण्डकी प्रदेश सरकार तथा संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत् पटकपटक ध्यानाकर्षणपत्र बुझाउँदा पनि त्यसबारे कुनै ठोस कदम चालिएको छैन ।

महासचिव गुटेरेसले अन्नपूर्ण आधारशिविरको भ्रमण सकेपछि पोखराको पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गरी मंगलबार नै लुम्वीनीको भ्रमणका लागि प्रस्थान गर्ने छन् ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्र सङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर-हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी छन् । महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान १ बजे आइपुगेका थिए ।

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected