0Shares

पोखरा भ्यूज

पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलामा शनिबार थामिनसक्नुको भीड भयो । आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले शनिबारमात्र ५० हजार जनाले मेलाको अवलोकन गरेको अनुमान लगाए ।
‘मेलाको आइतबार समापन हुँदैछ, शनिबार ठूलो संख्यामा अवलोकनकर्ताहरु आउनुभयो,’उनले भने,‘उहाँहरुले अवलोकनमात्र गर्नुभएन, आफूलाई चाहिने सामग्रीहरु पनि किन्नुभयो । उहाँहरुको भव्य र सभ्य उपस्थितिबाट हामी हर्षित छौं । मेलाप्रति आम पोखरेलीले देखाएको सद्भावप्रति म हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।’
संघका महासचिव बलराम आचार्यका अनुसार आइतबार अपरान्ह पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा मेलाको समापन हुनेछ । उनले शनिबार आयोजित सांगीतिक कार्यक्रम पनि उत्तिकै सफल भएको जिकिर गरे । चर्चित गायक पुरुषोत्तम न्यौपानेदेखि एलिना चौहानसम्मले मेला अवलोकनकर्तालाई भरपुर मनोरञ्जन दिएको उनको भनाइ थियो । आइतबार पनि सांगीतिक कार्यक्रम जारी रहने उनको भनाइ छ ।
संघका कोषाध्यक्ष दीनेशचन्द्र बास्तोलाका अनुसार मंसिर २१ गतेबाट सुरु भएको मेलास्थलमा रहेका स्टलहरुबाट १० करोड रुपैयाँ बराबरको कारोबार भएको अनुमान गरिएको छ ।
‘उद्यमशीलता विकास हाम्रो लक्ष्य हो, मेलामा धेरैजसो स्टलहरु प्रवद्र्धनका लागि राखिएका छन् तर पनि गाडीलगायत घरायसी सामानहरुको बिक्रीलाई आधार मानेर हामीले यो अनुमान गरेका हौं,’उनले भने,‘वास्तविक तथ्याङ्क भने मेला समापनपछि मात्र आउनेछ ।’

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected