1Shares

पोखरा भ्यूज
स्याङ्जा, १० पुष । स्याङ्जाका एक कृषकले यहि वर्ष (चालु सिजन) मै झण्डै ६० लाखको सुन्तला बिक्री गरेका छन् । अर्जुनचौपारी गाउँपालिका १ थापाथोकका जिल्लाकै अगुवा कृषक ६४ वर्षिय फनीनारायाण अर्यालले आफ्नै बगानको सुन्तला बिक्री गरेर करिब ६० लाख आम्दानी गरेका हुन् ।

सिंचाई सुविधा भएको धानखेत मासेर त्रिपुत्र बागबानी फार्म मार्फत सुन्तला खेति गर्दै आएका कृषक अर्यालले गत वर्ष मात्रै करिब ६५ लाखको सुन्तला बिक्री गरेका थिए । ८० रोपनी जग्गामा २२ सय सुन्तलाका बिरुवा लगाएका अर्यालले उत्पादन घटेका कारणले यो वर्ष झण्डै ६० लाखको सुन्तला बिक्री गरेका हुन् ।

७० मेट्रिकटन सुन्तला उत्पादन भएको बगैचाबाट प्रतिकिलो ८५ रुपैयाँमा सुन्तला बिक्री गरेको कृषक अर्यालले जानकारी दिए । । उनका अनुसार गत वर्ष ८५ मेट्रिकटन सुन्तला उत्पादन गरेर प्रतिकिलो ७५ रुपैयाँमा बिक्री गर्दा झण्डै ६५ लाख आम्दानी भएको थियो । गत वर्षको तुलनामा यस वर्ष १५ मेट्रिकटन सुन्तला उत्पादन घटेको उनले सुनाए ।

५० को दशकमा हुँदा खादाको वकिल (कानून व्यवसायी) पेशालाई छाडेर सुन्तला खेतिमा लागेका अर्यालले मनग्य आम्दानी गरेर जिल्लामै उदाहरणीय बनेका छन् । २०३६ सालबाटै सुन्तला लगाउन थालेका अर्यालले २०५५ देखि मात्रै व्यावसायिक रुपमा सुन्तला उत्पादन गर्दै आएका छन् ।

“झण्डै ५० लाखको लागतमा ग्रेडिङ् (बर्गिकरण गर्ने) मेशिन जडान गरेर सुन्तलाको मुल्य अनुसार ठूला र साना छुट्टाएर बेच्ने गरेको छु ।” कृषक अर्यालले भने, “विगतमा पोखरा, काठमाडौं, चितवन र बुटवलमा पुगेर सुन्तला बिक्री गर्दै आएको थिए ।” पछिल्लो समयमा भने भाटभटेनी सुपर मार्केट मार्फत सुन्तला बिक्री गदै आएको उनले बताए ।

बगैचाको हेरचाह गर्न नियमित ५ जनालाई रोजगार दिएका अर्यालले सुन्तला पाक्ने समय (मंसिर, पुष र माघ) महिनामा झण्डै ४५ जनालाई रोजगार दिन्छन् । बगैचाको रेखदेख, गोडमेल र मलको व्यवस्थापन गर्दैमा वर्षभरिमा झण्डै २५ लाख लगानी हुने गरेको अर्यालले जनाए ।

पुष लागेपछि मात्रै आफ्नो बगैचाको सुन्तला बिक्री गर्दै आएका अर्यालले सुन्तला पाक्ने समयमा स्थानीय गाउँबाट झण्डै ४ करोड बराबरको सुन्तला खरिद बिक्री गर्दै आएका छन् । सुन्तलाको दाना अनुसार प्रतिकिलो ५० देखि ६० रुपैयाँमा सुन्तला खरिद गरेर उनले टिपेर, बर्गिकरण र ढुवानी गरेर प्रतिकिलो ७० देखि ८५ रुपैयाँमा बिक्री गरेको बताए ।

५ छोरी ३ छोराका पिता अर्यालले सबै सन्तानलाई उच्च शिक्षासम्मको शिक्षा प्रदान गरेका छन् । सबै छोरीको बिवाहदान भएको सुनाउँदै अर्यालले भने, “जेठो छोरा कृषि विषय (एजि) पढन अष्ट्रलिया, माईलो छोरा डाक्टर (एमबिए) पढन अमेरिका र कान्छो छोरा ईन्जिनियरिङ् पढन भारत गएका छन् ।” संयोग भने यस्तो छ : ३ जना छोराहरु छात्रवृत्तिमै अध्ययनका लागि बिदेश गएका हुन् ।

गत वर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लामा यो वर्ष भने उत्पादन घटेर १९ हजार ८७ मेट्रिक टनमा सिमित रहने अनुमान छ । गत वर्ष एक अर्ब ३८ करोड रुपैयाँको सुन्तला उत्पादन भएकोमा चालु वर्षमा एक अर्ब १४ करोड ५२ लाख रुपैयाँको सुन्तला उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको छ ।

यस वर्ष ४० प्रतिशत सुन्तला बिक्री भएको छ भने बाँकी ६० प्रतिशत सुन्तला बोटमै छन् । जिल्लामा सुन्तला उत्पादन क्षेत्र २२ सय हेक्टर रहेको छ । उत्पादनशील बगैँचाको क्षेत्रफल १ हजार ३ सय २० हेक्टर रहेको छ भने ८ सय ८० हेक्टर जग्गामा बेर्ना बगैँचा रहेका छन् ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected