भारतीय पेन्सन वितरण कार्यालय पोखरामा इन्टर बटालियन भूपू भलिबल प्रतियोगिता सुरू
- February 21, 2024
- 1449
पोखरा भ्यूज
पोखरा । भारतीय दूतावास पेन्सन वितरण कार्यालय रामबजार पोखरामा इन्टर बटालियन भूपू भलिबलप्रतियोगिता–२०२४ सुरु भएको छ । आगामी १७ फागुनसम्म सञ्चालन हुने सो प्रतियोगितामा १८ टिमले भाग लिएका छन् ।
बुधबार एक समारोहबीच कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्नेल प्रशान्त बघेलले रेफ्री हितकुमार गुरुङलाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरे । शारीरिक तथा मानसिक विकाससहित भूपूहरुबीच आपसी भेटघाटएवं भाइचारा सम्बन्ध विकासमा खेलले सघाउ पुग्ने उनको भनाइ छ ।
६/८ जिआर र २/८ जिआरबीच उद्घाटन खेलमा सोझो सेटमा ६/८ जिआर विजयी भयो । २५–१७, २५–१७ र२५–१० सेटमा उसले खेल जितेको हो । पहिलो दिनमा भएका ३ खेलमध्ये दोस्रोमा १/१ जिआर र तेस्रोमा २/५जिआर विजयी भए । आफ्नो अनुपस्थितिमा २/९ जिआरले १/१ जिआरलाई र ५/१ जिआरले २/५ जिआरलाई वाकओभर दिएको धनवीर गुरुङले जानकारी दिए ।
उद्घाटन समारोहमा भारतीय भूतपूर्व कर्नेल कृष्णबहादुर खत्री, एसबिआई बैंक गण्डकी प्रदेश प्रमुख मीनबहादुर गुरुङ, एभरेस्ट बैंक गण्डकी प्रदेश प्रमुख सुधीर गौतम, भूपू सैनिक परिवार लगायत उपस्थित रहेको बिबि पाण्डेले बताए । पाँचौं संस्करणको यो प्रतियोगिता विजेतालाई ५० हजार र उपविजेतालाई ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।