11Shares

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) अन्तरप्रदेश पर्यटन प्रवर्द्धन  तथा अन्तरक्रियाका लागि मधेश प्रदेशतर्फ प्रस्थान गरेको छ । तीनदिने उक्त भ्रमणमा संस्थामा आबद्ध सदस्यसहित विभिन्न संघसंस्थाका गरी करिब २२ जना सहभागी छन् ।
टोलीलाई बिहीबार बिदाइ गर्दै नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं टेवानका सल्लाहकार टीकाराम सापकोटा, नाट्टाका पूर्व अध्यक्ष बोधराज भण्डारीले अन्तर प्रदेश भ्रमणले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने बताए ।
टोलीले भ्रमणका क्रममा आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै सरोकारवालासँग अन्तरक्रिया गर्ने टेवान अध्यक्ष कमला गिरीले बताइन् । उनका अनुसार भ्रमण टोली पहिलो दिन वीरगञ्ज पुग्नेछ ।
दोस्रो दिन वीरगञ्जमा अन्तरक्रिया गर्नेछ । कार्यक्रममा त्यस क्षेत्रका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यवसायी, पर्यटन संघसंस्था, धार्मिक संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाको उपस्थिति रहनेछ । साथै, गढीमाई मन्दिर, भरत ताल, जनकपुरधाम, धनुषाधाम, बर्दिबास आसपासका धार्मिक एवं पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्द्धन कार्यक्रम रहेको छ । शनिबार बर्दिबासमा समेत पर्यटन व्यवसायीसँग अन्तरक्रियासहित सोही दिन पोखरा फर्किने कार्यतालिका रहेको अध्यक्ष गिरीले बताइन् ।
कार्यक्रम सफल पार्न वीरगञ्ज उद्योग वाणिज्य संघ र होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले समन्वय गरेका छन् ।
‘दिगो पर्यटनका लागि समान सहभागिता’ भन्ने मूल नाराका साथ पोखराका पर्यटन व्यवसायी महिलाहरुको सक्रियतामा स्थापित टेवानले विविध कार्यक्रम गर्दै आएको छ ।
गण्डकी र मधेश प्रदेश पर्यटकीय एवं धार्मिक पर्यटनको प्रचूर सम्भावना बोकेका प्रदेश हुन् । गण्डकीको राजधानी पोखरालाई गत ४ चैतमा पर्यटकीय राजधानी घोषणा गरिएको थियो । उक्त घोषणासँगै पर्यटनसम्बद्ध विभिन्न संघसंस्था पोखराको पर्यटन प्रवद्र्धन गर्दैआएको संस्थाका सचिव एवं कार्यक्रम संयोजक शोभा पौडेल अधिकारीले बताइन्।

11Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected