
पोखरा । व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवम् नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा आइतवारदेख़ि पोखरा आइडिया मार्ट तथा बुट क्याम्प सुरू भएको छ ।
लुम्लेस्थित कृषि अनुन्धान निर्देशनालयको सभाकक्षमा तीन दिनसम्म सञ्चालन हुने मार्टको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे ।
कार्यक्रममा महानगरप्रमुख आचार्यले कार्यक्रममा युवाहरूले प्रस्तुत गर्ने हरेक आइडियाहरू समाजको उन्नयनका लागि प्रेरक बन्न सक्ने बताए । अघि सारिएका आइडियाहरूलाई थप परिष्कृत गर्दै जानुपर्नेमा जोड दिदै आचार्यले महानगरपालिकाले युवाहरूको उद्यमशिलता अभिबृद्धिका लागि यस किसिमका कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । पोखरा पर्यटनको राजधानी घोषणा भैसकेका अवस्थामा विभिन्न परियोजनाहरू आउने क्रम सुरु भएको उनले जानकारी गराए ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमल्सिनाले मार्टमा प्राप्त सबै आइडियालाई छलफल गरी त्यसलाई कार्यान्वयनमा ल्याउन सकिएमा त्यसले समाजमा विशिष्ट योगदान गर्न सक्ने धारणा राखे ।
कार्यक्रमका सभापति एवम् पोखरा महानगरपालिका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले मार्टमा सहभागीताका लागि आवेदन माग गरिएकोमा विभिन्न आइडिया सहित ३५ वटा समूहले आवेदन प्रस्तुत गरेकोमा १९ वटा समूह छनौट भएको जानकारी दिए । १९ समूह मध्ये १७ वटा समूह मार्टमा सहभागी बनेको बताउँदै उनले ती मध्ये उत्कृष्ट १० छनौट गरिने बताए ।
उत्कृष्ट १० लाई पुनः सरोकारवालाबीच राखेर छलफल गर्दै ती मध्येबाट प्रथम, द्वितीय, तृतीय र चतुर्थलाई क्रमशः ५०, ४०, ३० र २० हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिने उनले जानकारी दिए ।
व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले महानगरपालिकाले अघिल्लो वर्ष पनि मार्ट सञ्चालन गरेको बताउँदै सो क्रममा महानगरको आइडिया बैंकमा ३७ वटा आइडिया संकलन भैसकेको बताए । केन्द्र मार्फत युवा उद्यमशीलता अभिबृद्धिका विभिन्न कार्यक्रम सञ्चालन भैरहेको उनको भनाइ छ ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष निरज केसी, मुख्य प्रशिक्षक निरज खनाल लगायतले मार्टमा प्राप्त आइडियालाई कार्यान्वयनको तहमा लैजानुपर्ने आवश्यकता औंल्याए । देशको बढ्दो युवा पलायन रोक्नु बर्तमानको आवश्यकता भएकोमा जोड दिए ।







सम्बन्धित खवर















