25Shares

काठमाडौँ । नेपाल पत्रकार महासंघले सदस्यता विवाद नसुल्झाई जवरजस्ती गरे प्रेस युनियन आन्दोलनमा जाने बताएको छ । सदस्यताको विवाद समाधान नगरी सदस्यताको नामावली सार्वजनिक गरेर जबरजस्ती ढंगले एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अघि बढाए अस्वीकार गरेर आन्दोलनमा जाने प्रेस युनियनले घोषणा गरेको हो ।

प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आज एक विज्ञप्ति प्रकाशित गरी प्रेस युनियन अधिकतम लचिलो हुँदा पनि सम्बन्धित पक्ष जिम्मेवार नभएको जनाएका छन् । महासंघकै शाखा र प्रदेश समितिले पठाएको नामावलीलाई आधार मानेर छुटेका सक्रिय पत्रकारलाई महासंघको विधि र प्रक्रिया अनुसार सदस्यता टुङ्ग्याएर अन्तिम मतदाता नामावली सार्वजनिक गरी निर्वाचन प्रक्रिया अघि बढाउन अध्यक्ष लम्सालले आग्रह गरेका छन् ।

महासंघका शाखा र प्रदेशले पठाएका सदस्यको नाम केन्द्रीय नेतृत्वले हटाएर अमुक सङ्गठनमा आस्था राख्नेलाई सहयोग पुग्ने गरी विधि र प्रक्रिया विपरीत आफूखुसी केन्द्रबाट सदस्यको नाम थपेर गैरपत्रकारलाई सदस्यता दिई सूची तयार गरेका कारण यो अवस्था सिर्जना भएको युनियनले जनाएको छ ।

महासंघको विधान अनुसार सदस्यता विवाद सुल्झाएर थप गरिएको मितिमा निर्वाचन सुनिश्चित गर्ने वातावरण तयार गर्न नेपाल पत्रकार महासंघको नेतृत्व लगायत पत्रकार सम्बद्ध सबै  पेशागत संस्थाहरूलाई अध्यक्ष लम्सालले अपिल गरेका छन् । पूर्व निर्धारित मितिमा निर्वाचन हुन नसकेकोमा युनियन दुःख व्यक्त गर्दै पछिल्लो पटक निर्धारण गरिएको मितिमा निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता युनियनले गरेको छ ।

25Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected