कुसुम भाग्यः
धेरै दिनको पर्खाई पछि आज पण्डित गोपीनाथको घरमा केटा पटीको मान्छे गोपीनाथको छोरी कुसुमलाई माग्न आउन लागेका थिए । बाईस बर्ष लागेकी जवान छोरीको बिहा हुने कुराले आमा प्रेमलता पनि खुसी थिईन् । छोरीलाई बिहानै नुहाई धुवाई गराएर साधारण श्रृंगारमा राखेकी थिईन् आमा चाहिंले । आज बिदाको दिन परेकोले सानो छोरा शिखर पनि घरमै थियो । गोपीनाथ बुढा बुढी त घरमा हुने नै भए । आठ बर्षको शिखर घरी घरी दिदी चाहिंको मेकअप रुममा गएर दिदीलाई अंगालो हाल्थ्यो ।
“दिदी तपाईं बिहा भएर गए पछि कहिले आउनु हुन्छ” ?
“आई हाल्छु नि तंलाई, आमा, बालाई भेटन । अहिले जा बाहिर खेल्न । उनीहरु आउने बेला हुन लाग्यो, मलाई गाजल लाउन दे”
“दिदी तपाईं जस्तो राम्री त मैले कांही कतै देखेको छुईन । भिनाजू नराम्रा छन् भन् त बिहा नगर्नु है दिदी” ?
“ल ल जा अब” शिखर बाहिर गयो । एकै छिन पछि फेरि दगुर्दै आएर भन्यो –
“दिदी उनीहरु आए”
यति भनेर शिखर बाहिर दौडी हाल्यो । बाहिर बैठकमा सबै जना बसे । गोपीनाथले आफ्नो परिवारका सबैको परिचय दिए । लण्डनमा पढदै गरेको जेठो छोराको समेत परिचय दिए । केटाको बाबुले पनि आफू, आफू सित आएका आफ्नी पत्नि, भाई, भाई बुहारी, बिहा हुने केटा, केटाको बैनी लाई चिनाए ।
“हामी त हजुरहरुको छोरी हाम्रो छोरालाई बिहा गर्न भनेर केटी हेर्ने बिचारले आएका हौं” केटाकी आमाले भनिन् ।
“तपार्इंहरुलाई हाम्रो घरमा स्वागत छ । हजुरको छोरा कति बर्षको हुनु भयो” ? गोपीनाथले सोधे ।
“उमेर त त्यती धेरै छैन । भरखर उन्चालिस पुगेर चालिस लाग्यो । तिस पैंतिस हजारको जागिर पनि छ” ।
चालिस बर्ष उमेर सुनेर गोपीनाथ र उनकी पत्नि अलि झस्किए । केटाको अनुहार हेर्दा पनि अलि छिपीएको देखिन्थ्यो ।
“यतिका उमेर सम्म किन बिहा नगरि दिनु भएको” ? प्रेमलताले सोधिन् ।
“कति भन्यौं हामीले, उ बिहा गर्नै मान्दैन । छिटो बिहा गर्ने पक्षमा उ थिएन । हामीले नै अब त गर्नै पर्छ भनेर जोड गरेका हौं” केटाको बाबुले भने ।
केटाको मोटोजुँगा, छिपिएको अनुहार, अलि मोटो र होचो जिउ जो सुकैले हेर्दा पनि केटी संग जोडी पटक्कै नमिले जस्तो देखिन्थ्यो । तर तत्कालै केही भनि हाल्नु पनि केटी पक्षका ले उचित ठानेनन् । प्रेमलताले भनिन् –
“केटी हेरौं न, बाँकी कुरा त छँदै छ नि” ।
शिखर उमेरले आठ बर्ष भए पनि पढाईमा दिदी चाहिं जस्तै तेज थियो । कुसमुले पनि भरखर एम.एस्सी प्रथम श्रेणीमा पास गरेकी थिईन् । शिखर चार कक्षामा पढदै थियो । बिहाको कुरा केही बुझ्ने भई सकेको थियो । भित्र गएर दिदीलाई भन्यो – “दिदी त्यो मान्छे त बुढो रैछ बिहा गर्दिन भन्नु है”
“अँ बुझें । बाहिर गएर सुन त अरु के के भन्छन्” । कुसुमले भनिन् ।
शिखर फेरी बाहिर गएर आमाको छेऊमा बस्यो । कुसुमले भने बिस्तारै पर्दाबाट सुटुक्क च्याएर केटालाई हेरिन् । उ घरि घरि ङिच्च ङिच्च हाँसि रहेको थियो । हाँस्दा उसले पान खाएको कालो दाँत प्रष्टै देखिन्थ्यो । कुसुमले नाक खुम्च्याईन् । फेरी केटी देखाउने कुरा भयो । कुसुमले चियाको ट्रे लगेर टी टेबुलमा राखेर एक पटक केटालाई हेरिन् र केही न बोली फरक्क फर्केर जान खोजिन् । त्यही बेला आमा चाहिंले भनिन् –
“छोरी ! सबैलाई चिया देऊ”
कुसुमले मन नलागि नलागि सबैलाई चिया दिईन् । एउटा ग्लासमा जूस थियो । त्यो ग्लास केटाको बैनीलाई दिएर उनी भान्सा भित्र गईन् । पाहुनाहरु सबै चिया खाँदै थिए । गोपीनाथ र प्रेमलता पनि उठेर भान्सा भित्र गए । प्रेमलताले गोपीनाथलाई सोधिन् –
“हजुरलाई केटा कस्तो लाग्यो” ?
“उमेर अलि बढी रहेछ, अरु त खोई ? ठिकै होला नि” ।
“केटोको दाँत हेर्नु भएको छ ? कस्तो पहेंलो छ पान खाको दाँत” आमा चाहींले भनिन् ।
“छोरीलाई पनि सोधन” ? गोपीनाथले भने ।
आमाले छोरीलाई सोधिन –
“छोरी, केटा त देख्यौ होला कस्तो लाग्यो” ?
कुसुमले कप पखाल्ने वास बेसिनमा पिच्च थुकेर अर्को तर्फ हेरिन् । त्यसपछि उनी फन्केर आफ्नो कोठामा गईन् ।
गोपीनाथले भने-
“छोरीलाई केटा मन परेन जस्तो छ” । फेरी कुसुमको आमा बुवा बैठकमा पाहुनहरु भएको ठाऊँमा आएर बसे । शिखर पनि सङ्गै आएर बस्यो ।
“हजुरहरुको छोरी साह्रै लक्षिणकी रहिछन् विवाह चाँडै गर्न पाए हुन्थ्यो, हामीलाई त अलि हतारो पनि छ । विवाह लगत्तै हामीले एउटा उद्योग खोल्ने बिचार गरेका छौं हजुरहरुकै छोरीको नामबाट” केटाको बाबुले भने । त्यो सुनेर प्रेम लताले भनिन् –
“मेरी छोरी साईन्स पढेकी छ, उद्योग ब्यवसायको बिषयमा जानकारी छैन, अनुभव पनि छैन, अनि बाबुले चाहीं कति पढनु भाको नि” ?
“पढाई त आई. ए. पढदा पढदै छोडेको हो, तर कामको अनुभव राम्रै छ । तेसै तिस पैंतिस हजारको जागिर काहाँ पाउँछ र” ? केटाको बाबुले भने ।
“अनि बाबु कै नाममा खोले भई गयो नि उद्योग ? अनुभवी पनि हुनुहुँदो रहेछ, आई.ए. सम्म पढ्नु पनि भएको रहेछ” गोपीनाथले भने ।
केटाको आमा, बाबु, काका, काकीले मुखामुख गरे । फेरी केटाको काका बोले-
“हजुरहरुलाई अलिक प्रष्ट पारौं कि ? उद्योगलाई पैसा अलि नपुग होला जस्तो छ, यसो तिस चालिस लाख रुपैयाँ जति हजुरहरुबाट सहयोग भए हजुरको छोरीकै नामबाट उद्योगको नाम राख्ने हाम्रो विचार हो । हजुरहरुले चाहनु भयो भने पाँच प्रतिशत शेयर हजुरलाई पनि दिन सक्छौँ” ।
तिस चालिस लाखको कुरा सुनेर कुसुमका आमा, बाबु झस्कीए । शिखर उठेर भित्र गएर दिदीलाई सोध्यो-
“दिदी पाँच प्रतिशत शेयर भनेको के हो” ?
“किन र” ? कुुसुमले भाईलाई सोधिन् ।
“भिनाजुको बुबाहरु कुरा गर्दै छन् हाम्रो बाले उनीहरुलाई तिस चालिस लाख रुपैयाँ सहयोग गर्नु भयो भने दिदी, उनीहरुले तपाईंको नाममा उद्योग खोल्ने अरे । अनि बाले चाहनु भयो भने बालाई पनि पाँच प्रतिशत शेयर दिने अरे” शिखरले एकएक खबर ल्याईरहेको थियो ।
“हामीसंग चालिस लाख लिएर हामीलाई नै पाँच प्रतिशत भिख दिने अरे” ?
चालिस लाख दाईजो मागेको सुनेर कुसुम रिसले चुर भईन् । उनी आफ्नै खुट्टामा उभिन सक्ने भई सकेकी थिईन् । एम.एस्सी. प्रथम श्रेणीमा पास गरेपछि यूनिभर्सिटी कै सिफरिसमा उनलाई एउटा विदेशी फर्मास्युटिकल्स कम्पनीले एक लाख रुपैयाँ मासिक तलबमा अनुबन्ध गरी सकेको थियो । उनले आफ्नो रिसलाई काबुमा राख्दै बाहिरको कुरा सुन्न थालिन् । गोपीनाथ भन्दै थिए-
“हेर्नुस् ! मेरी छोरी आफ्नो खुट्टामा आफै उभिन सक्ने भईसकेकी छ । उसको तत्काल विवाह गरिहाल्ने पनि विचार छैन । फेरी तिस चालिस लाख भनेको मेरो आर्थिक क्षमता भन्दा बाहिरको कुरा हो । म तपाईंहरुको यो शर्त पुरा गर्न सक्तिन” ।
“हामी केही कम पनि गर्न सक्छौ कि कसो” ? केटाको काकाले दाजु तिर हेरेर कोटाको बाबुको मनसाय बुझ्न खोजे ।
“एक पटक गुरुदत्तको विचार पनि त बुझांै” केटाको आमाले छोरा तिर हेरेर भनिन् ।
“हजुरहरुको डिपार्टमेन्टको कुरा हो जे ठीक लाग्छ” भनेर केटाले फेरी पान खाको दाँत देखायो । उ बेला बेला अंग्रेजीको ज्ञान पनि छ भनेर प्रकट गरिरहेको थियो । गुरुदत्त केटाको नाम रहेछ । गुरुदत्त भन्ने वित्तिकै कुसुमको भृकुटि खुम्चीयो । उनी पढे लिखेकी शिक्षित युवती भएकोले बरावर दैनिक समाचार पत्रहरु पढ्ने गर्थिन् । घरमा टेलिभिजनमा समाचार पनि हेर्ने सुन्ने गर्थिन् । एक महिना अगाडी गुरुदत्त भन्ने मान्छेले आफ्नो मालिकको पचास लाख रुपियाँ हडपेर पुलिसले हतकडी लगाएको फोटो सहितको समाचार उनले पत्रिकामा पढेकी थिईन् । आफ्नो शंका एकिन गर्न आफ्नो दराजमा राखेको पत्रिकाहरु झिकेर फटाफट हेर्न थालिन् । एकै छिनमा त्यो पत्रिका पनि उनले फेला पारिन् । उनलाई विवाह गर्न आएको मान्छे त्यही रहेछ । उसको अनुहारमा जुँगा उही थियो, फरक यती मात्र थियो कि फोटोमा उसको हातमा हतकडी थियो । उनी अधिर भइन् । फुत्त बाहिर निस्केर केटाको मुखमा त्यो पत्रिकाले हानेर यो के भएको भनेर उनलाई सोध्न मन थियो तर बाबु आमाको र उनीहरु बिच के कुरा भई रहेछ भन्ने कुरा सुन्नलाई सके सम्म रिसलाई काबुमा राखिन् । केटाको बाबु भन्दै थिए-
“शिरुटारको पाँच रोपनी जग्गा बेचि दिनु भए त पचास लाख आई हाल्छ नि ? फेरी त्यो रकम तपाईंहरुले आफ्नै छोरीको लागि दिने त हो नि”
“यिनीहरुकै भबिष्य सुधार्नको लागि अरु जम्मै जग्गा बेचेर त्यही पाँच रोपनी जग्गा बाँकी छ । मेरो दुई भाई छोरा पनि छन् । सानो छोराको पढाई र उच्च शिक्षा वाँकी नै छ । त्यो जग्गा बेचेर म यिनीहरुको भविष्य अन्धकारमय पार्न सक्दिन” ।
केटाको काकाले केही भन्न मात्र खोजेको थिए त्यही बेला कुसुम झ्वाट्ट पर्दा हटाएर एक्कासी भित्र पसिन् । उनको अप्रत्याशित व्यवहारबाट सबै सन्न भए । कुसुमले बैठकका पाहुनाहरु तिर आँखा तर्दै भनिन्-
“ए डाकाहरु हो ! तिमीहरुको छोराले डाका मारेर भएन अब हाम्रो एक टुक्रा जग्गामा आँखा लगाउन आयौ ? कसले भन्यो म तिमीहरुको डाका छोरासंग विवाह गर्छु भनेर” ?
“नानीलाई केही भ्रम परेको हो कि ? हाम्रो छोरा त त्यस्तो छैन” केटाको बाबुले भने ।
“त्यसो भए यो के हो त” ? भनेर गुरुदत्तको त्यो फोटो समेत छापेको पत्रिका केटाको मुखमा फालि दिईन् । केटाको बुवाले त्यो पत्रिका उठाएर हेरेर भने-
“कहाँ प्रमाणित भएको छ हाम्रो छोराको गल्ती ? त्यसैले त उ तत्काल धरौटीमा छुटेको छ । गल्ती भएको भए त जेलै जाने थिएन र”?
“पचास लाख पुलिसले घरबाट छापा मारेर निकालेको चाहिं के हो नि”? कुसुमले भनिन् ।
“त्यो त हाम्रो दुश्मन लागेर हो”
“अरुको सम्पत्तीमा आँखा लाउनेको दुश्मन किन लाग्दै त” ? फेरी केटाकी आमा केही बोल्न लागेकी थिईन्, कुसुमले बिचैमा कुरा काटेर भनिन्-
“अब तपाईंहरु खुरुक्क उठेर जानु हुन्छ कि म घरमा डाकाहरु पसे भनेर छर छिमेकीलाई बोलाउँ”? कुसुमले यति भन्ना साथै सबै जर्याक जुरुक उठे । सबै भन्दा पहिले केटा नै फुत्त बाहिर निस्कियो । मानौं केटीले सोझै आफूलाई झम्टिने हो कि भन्ने उसलाई डर थियो । केटाको आमाले उठ्ता उठ्तै भनिन्-
“हेरौंला कस्ताले लाँदा रैछन तपार्इंहरुको छोरी” । कुसुमले पनि केही भन्न थालेकी थिईन् तर गोपीनाथले हात समातेर छोरीलाई आफू तिर तानेर बोल्न दिएनन् तर प्रेमलताले भने अन्तिम वाक्य बोलेरै छाडीन्-
“मेरी छोरी पढेकी छ । आफ्नो खुट्टामा आफै उभिन सक्छे, तपाईंहरुले फिक्री गर्नु पर्दैन”। केटा पटिकाहरु बाहिर निस्की सकेका थिए । के के भन्दै गए कसैले ध्यानै दिएन ।
“समाचार पत्रको कुरा के हो छोरी” ? एक छिन पछि गोपीनाथले सोधे । छोरीले सबै बृतान्त लाए पछि आमा बुवा दुबै गम्भीर भए । फेरी गोपीनाथले खिन्न मानेर भने-
“अब कतैबाट केटी माग्न आउने बाटो थुनियो छोरी । तिनीहरुले काहाँ काहाँ गएर केटी यस्ती भनेर कति ढोल पिट्ने हुन् । मेरो छोरीको भविष्य के होला” ?
कुसुम पनि गम्भीर भईन् । उनको गोरो अनुहार झन रातो भई दिंदा अझ बढी राम्री देखिएकी थिइन् । हुन पनि अग्लो जीउडाल की अत्यन्त आकर्षक व्यक्तित्व थियो उनको, उनका साथीहरु भन्ने गर्थे –
“तँलाई त विवाह गर्न कुनै सुन्दर राज कुमार नै चाहिन्छ” ।
गोपीनाथको कुरा सुनेर प्रेमलताले भनिन्-
“बाटो थुनिए थुनिन्छ, त्यस्तो छिपिएको अधबैंसे, त्यस माथी पनि दाईजोका पिपासुहरुलाई मेरी छोरी त्यतिकै विवाह गरेर लान्छु भने पनि दिन्न”
“त्यस्तो थाहा पाएको भए त म पनि घरमा किन बोलाउथे र” गोपीनाथले पनि खिन्नता व्यक्त गरे । “लाज नभएका डाकाहरु । हामीसँग चालिस लाख भिख मागेर हामीलाई नै पाँच प्रतिशत भिख दिन खोज्ने चोरहरु । न चोरेको भए तिनीहरुको घरबाट पुलिसले दिउँसै छापा मारेर पचास लाख कसरी निकाले त ? मलाई बिहा गर्नु छैन । आफ्नो खुट्टामा म आफै उभिएर बाँच्न सक्छु । मेरो बा आमाले मलाई यति सम्म योग्य बनाई दिनु भएको छ । बाबा, आमा कै सेवा गरेर बस्छु ।” यसो भन्दा भन्दै कुसुमका आँखा रसाए ।
“चिन्ता नगर छोरी । जस्का कोही हुँदैनन् उनका लागि भगवान सहाय हुन्छन् । मेरी प्यारी छोरीको लागि कुनै न कुनै राजकुमार भगवानले अवश्य पठाउने छन् ।” छोरीको टाउको आफ्नो काधमा राखेर प्रेमलताले छोरीलाई सान्त्वना दिईन् । हुन पनि छोरीलाई उनीहरुले आज सम्म कुनै दुखः, तकलिफ, कमी हुन दिएका थिएनन् । माया पनि उत्तिकै गर्थे दुवैले ।
कुरा यतिकैमा सिद्धियो । कुसुमले पनि अर्को महिना देखी फार्मेसी ज्वाईन गरिन् । तिन महिना बिती सकेको थियो । अब उनी सामान्य भई सकेकी थिईन् । एक दिन उनले खबर पाईन, बेलायतबाट उनले काम गर्ने फर्मास्यूटिकल्स कम्पनिको मालिकको छोरा अफिस निरिक्षण गर्न आउँदैछन् । उनि कम्पनिका म्यानेजिङ्ग डाईरेक्टर हुन् अरे । आफ्नै फार्मेसीको ल्याबमा काम गर्ने उनको साथी माधुरीले उनलाई सुनाएकी थिईन् ।
“मालिकहरु उतैका हुन् नेपाली होइनन् र” ? कुसुमले सोधिन् ।
“नेपाली नै हुन, पाल्पाका धनाढ्य हुन् । दश पन्ध्र बर्ष अघि सपरिवार लण्डन गएर उतै बसोवास गरेका हुन् । यस्तो कति वटा कम्पनीहरु त उनीहरुको लण्डन शहर मै छ । सुगम सरको त बिवाह पनि भएको छैन अरे । नेपाल मै बिवाह गरेर उता लिएर जाने भन्ने सुनेकी छु । तैंले विचार गर है, तँलाई देखेर सर लट्ठ पर्लान् ।” माधुरिले हाँस्दै भनिन् ।
“भो भो ! मलाई बिवाहको कुरा न सुना । एउटै देखि मलाई एलर्जि भई सकेको छ”
“त्यसो नभन् है, देखिस भने तँ आफै भुतुक्क होलिस्”
“त्यस्तो के छ उनमा”?
“के छैन ? अरबौंको सम्पति, एक्लो छोरा, कैयौं कम्पनीको मालिक, मान्छे हेरिस् भने मन दिन बेर छैन तैंले” माधुरीले भनिन् ।
“त्यती धेरै कम्पनीको मालिक अधबैंसे होलान् नि”?
पच्चिस बर्षको छन अरे”
“तैं मन परा न त” ?
म त उनको खुट्टामा बाँध्न पनि सुहाउँदिन । फोटो हेर्छेस् ?
“तँ सित कहाँबाट आयो फोटो” ?
“कम्पनीको क्याटलगमा छ हेर्न” भनेर एउटा क्याटलग पल्टाएर देखाईन् । बेलायतबाट प्रकाशित भएको कम्पनीको एउटा क्याटलगमा सुगमको फोटो थियो । कुसुम एक छिन त फोटो हेरेको हेरैकै भईन् । फोटो के थियो कुनै सुपरहिट इंगलिस फिल्मको हिरो जस्तो जिवन्त फोटो थियो । माधुरीले भनिन् –
“कस्तो लाग्यो मैले भनेको ? झन मान्छे देखिस् भने त कसो गर्लिस्” ?
“मान्छेको मनमा को पस्न सक्छ र माधुरी । कस्ता कस्ता अरबपतिहरु कति अन्तराष्ट्रिय अपराधी भन्ने ठहरिएका छन् । फेरी उसले मलाई मन पराउँछ नै भन्ने पो के छ र ? छोड दे यी कुरा, मलाई रिपोर्ट तैयार पार्नु छ । तेरो म्यानेजिङ्ग डाईरेक्टरलाई दिनु पर्ने होला नि त रिपोर्ट, आएपछि” ?
“तेरो पनि त म्यानेजिङ्ग डाइरेक्टर हो नि ? झन तँ त याहाँको इन्चार्ज । जवाफदेही त तेरै हो नि । म त तेरो सहायक मात्रै हुँ । फेस त तैंले नै गर्नु पर्छ । ल ! गएँ म पनि, ल्याबमा काम छ” भनेर माधुरी ल्याव तिर लागिन् ।
सुगम आउने कुरा र उनको पृष्ठभूमी बारे कुसुुमले बढाई चढाई आफ्नो बावु र आमालाई सुगम आउने कुरा भनेकी थिईन् । माधुुरीको कुरा र सुगमको फोटोले कुसुमको मनमा रोमाञ्च भरि दिएको थियो । घरि घरि उनलाई लाग्थ्यो, म किन उनको बारेमा सोची रहेकी छु ? पटक पटक ऐनामा हेरेर उनी आफैसंग सोद्थिन् –
“के मेरो सौन्दर्य मात्रले उनलई आकर्षित गर्ला ? गरि हाले भने पनि के म उनलाई मन पराउँला ? कस्ता स्वभावका छन्” । फेरी एक मनले भन्यो “म किन यती धेरै सोची रहेकी छु ! उनी मलाई हेर्न आएका हु्न र” ? भनेर आफुलाई चित बुझाईन् ।
अखिर एक दिन यस्तो आयो जब उनले रिपोर्ट लिएर म्यानेजिङ्ग डाईरेक्टरको कोठामा एकलै जानु पर्ने भयो । भरखर माधुरीले आएर सुगम सरले रिपोर्ट लिएर आउनु भन्नु भएको छ” भनेर सुगमको आदेश सुनाएर गएकी थिईन् । सुगम आए देखी माधुरीले सुगमकोे पी.ए. को काम गरेकी थिईन् । ढोकामा हल्का टक टक गरेर कुसुम भित्र पसिन् । ठुलो टेवुलको उतापटी कुर्सीमा बसेको मान्छेलाई देखेर नमस्कार गरिन् र दायाँ बायाँ हेरेर फेरी उनैको मुखमा हेरेर भनिन्-
“सर ! म म्यानेजिङ्ग डाईरेक्टर साहेवलाई रिपोर्ट बुझाउन आएकी” । सुगमले एक टक उनलाई हेरी नै रहे । मानौं उनको नजर कुसुमको अनुहारमा स्थिर भएको छ ।
“सर….. ”
कुसुमले फेरी आवाज निकालिन् । सुगम केही सम्भलिए जस्तो भएर मुसुक्क हाँसे । उनलाई लाग्यो यो युवती उनको आफ्नै अफिसको स्टाफ हो वा भरखर स्वर्गबाट ओर्लिएर आएकी अप्सरा ? इङ्गलैण्डकी अनेकौं सुन्दरीहरु बिच पनि उनले यस्तो सौन्दर्य फेला पारेका थिएनन् । विस्मयपूर्वक एक छिन कुसुमलाई हेरी रहे । फेरी हाँस्तै भने –
“म नै हुँ म्यानेजिङ्ग डाईरेक्टर सुगम शर्मा, तपाईंलार्ई कुनै शंका छ” ?
“सरि सर ! मैले त हजुरलाई कुनै बृटिसर सम्झेकी थिएँ”
“बृटेनमा बसेको पन्ध्र बर्ष भयो । मेरो उच्च शिक्षा त्यहीं पूरा भयो । सबै त्यहाँको रहन सहन र क्लाईमेटको असर हो । मेरो मम्मी, बुवा सबै विदेशी नै देखिनु हुन्छ, प्लीज सिट डाउन” भनेर कुसुमलाई बस्न इशारा गरे । उनले रिपोर्टको फाईल अगाडी बढाईन् । सुगम रिपोर्ट हेर्न लागे । कुसुम कुर्सिमा बसेर मन मनै सोच्न थालिन्-
“माधुरीले भनेको भन्दा पनि कैयौं गुणा बढी रहेछन् यि त” । सुगमको गोरो हृष्ट पुष्ट अग्लो शरीर, रंग, रुप बोलचालको मीठो भाषा सबै सम्झेर उनी आफै मुसुक्क हाँसिन् । सुगमले एक पटक कुसुमको आँखामा हेरे । फेरी रिपोर्ट हेरेर भने -“तपाईको नाम के हो”?
“कुसुम ! सर”
“कस्ले बानाएको यो रिपोर्ट” ?
“मैले सर ! केही कमी भयो कि सर” ?
“छैन ! गुड एनफ । यस्तो एनालिटिकल रिर्पोर्ट म पहिलो पटक हेर्दै छु । इट इज एक्सेलेन्ट”
“थ्याङ्क्यु सर”
“तपाईंले मलाई “सुगम सर” भन्न सक्नु हुन्छ”
“हजुरले पनि मलाई तपाईं न भनिबक्स्योस तिमी भनेको मलाई बढी मन पर्छ सर”
“गुड ! त्यसो भए हामी आज देखी फ्रेण्ड भयौँ भनेर सुगमले आफ्नो हात अगाडी बढाए । कुसुमले दुबै हात बढाएर उनको हात थामिन् । फेरी लाज मानेर दुवै हातले आफ्नो आँखा छोपिन् । सुगमले भने-
“एउटा कुरा भनूँ” ?
“भनि बक्स्योस्”
“तिमीले लाज मानेर आँखा छोप्ता पनि असाध्यै राम्री देखिन्छौ”
“हो र सर” ?
“मेरो मनले चाहेको एउटा प्रस्ताव राख्न चाहन्छु सुन्छ्यौ” ?
“प्रस्ताव” ? कुसुमको मनको ढुकढुकी बढ्यो ।
“म संग बिहे गछ्र्यौ” ?
“सर” ? उनी सिरियस भईन् ।
“प्रस्ताव स्वीकार न भए तिमी अस्वीकार गर्न सक्छौ । म माईण्ड गर्दिन । तर तिमीले पनि यस्तो प्रस्ताव गरेकोमा माईण्ड न गर्नु”
“सर ! हजुरको प्रस्ताव अस्वीकार गरेर म आफूलाई आफ्नै अपराधी बनाउन चाहन्न तर…….”
“मैले कुरा बुझें । मलाई तिम्रो मम्मी, डैडीसंग भेट गराउन सक्छौ” ?
“सर ! मेरो आमा, बाबा हजुरलाई भेटेर एकदमै खुसी हुनु हुनेछ” ।
“अनि तिमी” ?
“हजुरको खुसी नै मेरो पनि खुसी”
त्यसो भए एक पटक मज्जाले हाँसी देउ भनेर उनी मुसुक्क हाँसे ।
नचाहँदा नचाहँदै पनि उनी उन्मुक्त हाँसो हाँस्न पुगीन् । उनी हाँसेको मात्र के थिईन् सुगमलाई बसन्त बहार नै आए जस्तो भयो । मानौं कोठा भित्र एकै पटक कैयौं रंगीन पानीको रंगी चंगी फौब्बारा छुटे जस्तो भयो । कोठामा राखेको ठुला ठुला फुल्दानीहरु आफै हल्लिएर मन्द पवन चले झैं भयो । वातावरण अनन्दमय भयो । कोठा खुसबुमय भयो । मन मनै हर्षित भएका सुगम पनि हाँसे । कुसुमको हँसाईले सुगमलाई अनन्दित भएको अनुभव गराएको थियो । कुसुमले त हिजो सम्मको मनको तिक्तता सबै बिर्सिन् । सुगमको प्रस्ताव, मुस्कान र हँसाईले उनको मन त चरा झैं हावामा उडी रहेको थियो ।
“तिम्रो घर कहा हो” ?
“यसै शहरमा सर”
“भोली शनिवार माधुरीलाई साथमा लिएर म तिम्रो घरमा आउँदा कस्तो होला” ?
“यू आर मोस्ट वेलकम् सर उनले पनि यस पटक हात बढाईन् । कोठामा उनीहरु बाहेक कोहि थिएन । सुगमले उनको हात दुवै हातले समाते । एक पटक कुसुमको आँखामा हेरेर हात आफू तिर बिस्तारै ताने । कुसुमका आँखा तल झुके, सुगमले हातमा चुम्बन लिएँ । कुसुमको आँखा फेरी जुध्यो, फेरी तल हेरिन् । मन आकाशमा उडन थाल्यो ।
शनिवारको दिन, दिनको एक बजे माधुरीलाई साथमा लिएर सुगम कुसुमको घर पुगे । नमस्कारको औपचारिकता र परिवारको परिचय पश्चात् गोपीनाथले भने –
“हजुर हाम्रो घरमा पाल्नु भयो, म कसरी आभार व्यक्त गरुँ हजुर”
“हजुरहरुको छोरीको ट्यालेन्ट देखेर म ज्यादै प्रभावित भएको छु । उनी ब्रिलिएन्ट मात्र होईन, जस्तो उनको तन सुन्दर छ मन पनि अति नै सुन्दर छ । आई लाईक हर भेरी मच” । सुगम घरी घरि अंग्रेजी शब्द प्रयोग गरी रहेका थिए ।
“हजुर मेरी छोरी अलि खरो मिजास कि छ” गोपीनाथले भने ।
“यो उनको थप योग्यता हो । मेरो कम्पनीमा सच्चा, इमान्दार, स्पष्ट वक्ता मानिसको खाँचो छ । म उनलाई कम्पनीको केही शेयर दिएर कम्पनीको म्यानेजिङ्ग डाइरेक्टर बनाउन चाहन्छु हजुरको के बिचार छ” ?
“हजुरको बिचार अति उत्तम छ तर हाम्रो हैसियत…. ”
गोपिनाथको कुरा बिचैमा काटेर सुगमले भने –
“गोपीनाथजी म एउटा सफल बिजनेसम्यान हुँ । मैले भन्न खोजेको कुरा शर्टकट मै भन्न चाहन्छु । म तपाईंहरुकी छोरी कुसुमलाई बिहे गर्ने मनसायले हजुरहरुको अनुमति माग्न आएको छु । यदि मलाई तपाईंहरुकी छोरीको योग्य ठान्नु हुन्छ भने अर्को महिना म मेरो मम्मी र बुवालाई लिएर फेरी आँउछु तर आजै कुरा पक्का गरी दिनु भयो भने म लण्डनमा आमालाई फोन गरेर यो खुसीको कुरा भन्ने थिएँ” ।
कुसुमका आमा बुवाले छोरीबाट पटक पटक सुगमको तारिफ सुनेका थिए । उनी घर अउने कुराले कुसुम कति खुसि थिईन् यो कुरा कुसुमका आमा, बुवा दुवैले राम्ररी अनुभव गरेका थिए । उनले भने-
“हजुरको कुरा स्वीकार नगरेर म हजुरको र छोरीको अपराधि बन्न सक्तिन । हजुर यहाँ आउने कुरा मात्रले पनि हाम्री छोरी कत्ति खुसी थिई । आज हजुरको आगमनले हामी पुरै परिवार हर्षित भएका छौं । हाम्रो तर्फबाट आजै कुरा पक्का भयो” गोपीनाथले भने ।
“हामी आजै देखि हजुरलाई ज्वाईं संकल्प गछौँ” प्रेमलताले भनिन् ।
“हजुरको छोरीलाई पनि त सोध्नुहोस” सुगमले भने ।
“छोरी तिम्रो बिचार के छ” ?
“हजुरहरु सबै जनाको विचार नै मेरो पनि विचार” भनेर एक पटक सुगमको आँखामा हेरेर हर्षित मनले कुसुम भित्र गईन् । माधुरी पनि संग संगै भित्र गएर कुसुमको कानमा भनिन्-
“बधाई छ कुसुम ! तेरो भाग्य खुल्यो” ।
कुसुमले माधुरीलाई अंकमाल गरेर भनिन् –
“थ्याङ्कक्यु माधुरी ! तेरो गुन म कहिल्यै बिर्सिन्न” । माधुरीको आँँखामा आँसु आयो । कुसुम पनि खुसीले रोईन् । आमा चाहीं पनि उठेर भित्र गईन् । एकै छिन पछि आफ्ना पति गोपीनाथलाई पनि भित्र बोलाईन् । केही बेरको सल्लाह पछि गोपीनाथ बैठकमा आएर बसे । उनले आँखामा खुसिको भाव लिएर बसेका सुगमलाई भने –
“आमा छोरी दुवै खुसी छन् । सानो टीका टालोको व्यवस्था गर्न लागेका छन् ।
“जस्तो हजुरहरुको बिचार” सुगमले भने ।
भित्र कोठामा आमा, छोरी, माधुरी भएर थालमा अक्षता र पूजा कोठाबाट फूलमाला झिकेर चामलमा दियो बालेर माधुरी समेत सबै बाहिर बैठकमा आए । कुसुमले यस बेला सितारा जडेको रातो साडी लाएकी थिईन् । गोपीनाथ, प्रेमलता र माधुरी भएर दुवै लाई सोफामा राखेर पति पत्नि दुवैले पालैपालो रातो अक्षताको टीका लाई दिएर एक एक हजारको नोट सगुन स्वरुप दुवैको हातमा राखी दिए । सुगमले माधुरी तिर हेरे । उनले आफ्नो ब्यागबाट झिकेर एउटा सुनको सिक्रि सुगमलाई दिईन् । सुगमले त्यो हीरा जडित सुनको सिक्रि कुसुमको गलामा आफैले लगाई दिए । माधुरीले ताली बजाएर स्वागत् गरिन् । देखा शेखी गोपीनाथ प्रेमलता र शिखरले पनि ताली बजाएर स्वागत गरे । त्यस पछि एक अर्कालाई फूलको माला लगाई दिंदै कुरा पक्का भएको सामान्य औपचारीकता पूरा गरे । माधुरीले धेरै वटा फोटोहरु खिचिन् । कुसुम र सुगमको हँसिलो अनुहार देखेर आमा बाबु फुर्ति साथ जुस र फलफूल ओसार पसार गर्न लागे । माधुरीले पनि त्यस कार्यमा सक्रिय सहयोग गरि रहिन् । अन्त्यमा जाने बेला भयो । सुगमले भने –
“मैले कुरा पक्का गरेको सुनेर आमा बुवा अत्यन्तै खुसी हुनु हुने छ । अब दुई महिना मात्र समय बाँकी छ, विवाह त मंसिर पन्द्र मै गर्नु पर्छ । विहाको एक हप्ता अगाडी मेरो मम्मी, डैडी, बैनी हामी सबैजना आएर अैपचारिक रुपमा नै बाँकी विधी विधान पनि पुरा गरौंला । बिहा पछि केही केही दिन बसेर हामी लण्डन जान्छौ” ।
“हजुर ! त्यस पछि त हाम्रो भेटघाट चाँडो हुँदैन होला” ? गोपिनाथले शंका व्यक्त गरे ।
“हरेक दुई तिन महिनामा हामी आई रहन्छांै” । सुगमको कुरा सुनेर पति पत्नि ढुक्क भए ।
“दिदी म पनि लण्डन जान्छु” शिखरले दिदी चाहींको साडीमा लुटपुटींदै भन्यो ।
“हुन्छ बाब,ु तिमी दिदीसंगै लण्डनमा बसेर पढ्नु है त” ? सुगमले भने ।
“भिनाजु कति राम्रो भनेर भित्र सबैलाई सुनाई सकी रैछ । यसले त दिदी लाई एक छिन छोड्दैन । दिदी भिनाजुसंग जान पाए दंग परेर जान्छ नि” प्रेमलताले भनिन् ।
“सानो बाबुको हजुरहरुले चिन्ता ठ््याम्मै न लिई बकस्योस् । बाबुको उच्च शिक्षा अब मेरो जिम्मेवारी भयो, हैन त बाबु” ? सुगमले निहुरिएर शिखर तिर हेरेर सोधे ।
“हवस भिनाजू” शिखरले भन्यो । शिखरले भिनाजू भने पछि उनले शिखर सित हात मिलाएर छातीमा लगाए । उसले भिनाजू भनेर सम्बोधन गरेको सुनेर सुगम हर्षित भएका थिए । बाबु आमा पनि हाँसि रहेका थिए । फेरी शिखर उठेर गएर दिदीलाई अँगालो हाल्यो । दिदीले कपालमा हात राखेर भाईलाई माया गरिन् । शिखर फेरी गएर आमासंग लुटपुटियो ।
“अब म बिदा हुन अघि हजुरहरुसंग सानो निवेदन गर्न चाहन्छु । अब देखि यो घर मेरोे पनि हो । यो घरको दुखः, सुख सबै मेरो पनि हो । हजुरहरु मेरो आमा बु्वा सरह हुनुहुन्छ । बिहामा दुई तिन सय जति जन्ती हुन सक्छन् । तसर्थ एउटा सानो कागजको टुक्रा हजुरलाई सुम्पिन चाहन्छु” भनेर सुगमले माधुरी तिर हेरे । माधुरीले ब्यागबाट झिकेर एउटा चेक सुगमलाई दिईन् । कुसुमले के हो भनेर इशाराले माधुरीलाई सोधिन् । माधुरीले भने अरुले न देख्ने गरी कुसुमलाई आँखा झिम्क्याई दिइन् । तर कुसुमले केही बुझिनन् । सुगमले त्यो चेक गोपीनाथलाई दिए । गोपीनाथले आफ्नो नाममा लेखिएको त्यो चेक हेरेर आश्चर्य मान्दै भने –
“यो पचास लाखको चेक मेरो नाममा के का लागि हजुर” ?
बुवा ममीले अन्यथा नमान्नु होला । मेरो कमाई महिनाको पाँच सात करोड भन्दा बढी छ । सानो कुराले बिहामा कसैले हजुरहरुको कुरा काट्ने मौका पाए भने मलाई पनि खल्लो हुनेछ । तसर्थ गाह्रो न मानी दिनुहोला । कुनै अन्य कुरा परेमा कुसुमले माधुरीलाई भन्ने छिन् । म हजुरहरुको सम्पर्कमा रही रहने छु” ।
माधुरीले सुगमको ब्याग बोकेर बाहिर कारमा राखिन् । गोपीनाथ, प्रेमलता, शिखर र कुसुम बाहिर गाडी सम्म पुर्याउन आए । सुगमले कुसुम तिर हेरेर भने-
“भोली अफिस आउन नबिर्सनु । तिमीले तैयार पारेको रिपोर्टको ब्रिफिङ्ग गर्नु पर्छ मलाई” ।
“यस सर ………. सरी.., हवस हजुर ! म सेवामा अवश्य हाजिर हुनेछु” । उनले अब पनि झुक्कीए सर भन्न खोजेको र “सरी” भनी सच्याएको देखेर एकै पटक सबै हाँसे । गाडी सुगम र माधुरीलाई लिएर अगि बढ्यो । घरका बाँकी सबै जना कोठामा आए । शिखरले दिदीलाई एक छिन छोडेको थिएन । आज हरेकको अनुहारमा उज्यालो थियो । बोली चाली चाल ढाल सबै थोक बाट खुसियाली नै खुसियाली झल्की रहेको थियो । आज सबैले महसुस गरे
“जस्को कोही छैन उसका लागि भगवान हुन्छन्” ।
एक दिन प्रेमलताले आफ्नो दुखी छोरीलाई सान्त्वना दिंदै भनेको कुरा आज पुरा भएको थियो । सुगमलाई यस घरमा पठाएर साँची नै भगवानले आफ्नो अस्तीत्वको बोध यस परिवारलाई गराई दिएका थिए ।
समाप्त