2Shares

श्रीकृष्ण सिग्देल, स्याङ्जा । हाल देशभर मनसुनी वायुको प्रभाव अझै रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणदेखि पूणर्तया बदली रहने जानकारी दिदै आएको छ ।

देशका सात प्रदेश अनुसार गण्डकी प्रदेशमा पनि भारी बर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारी वर्षाको सम्भावना अझै रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरोको जोखिम वा क्षतिबाट बच्न सबै नागरिकलाई आग्रह गरेको छ ।

भारी वर्षाबाट दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

यो प्रभाव स्याङ्जामा पनि अझै हुने जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्लाका नागरिकलाई मौसमजन्य प्रकोपबाट बचाउन चौविसै घण्टा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनालाई हाइअलर्टमा रहिरहने व्यवस्था मिलाएको जनाएको छ ।

स्याङ्जा पहाडी भुभाग धेरै भएको जिल्ला भएकाले बाढी पहिरोको अत्याधिक सम्भावना रहेकाले फेरी पनि जान सक्ने भएकाले सुरक्षित रहन समेत सबै नागरिकलाई जिल्ला सुरक्षा समितिले आग्रह गरेको छ ।

यो बर्ष अत्याधिक बर्षा हुने र गण्डकी प्रदेशका ११ जिल्ला मध्ये ८ जिल्ला उच्च जोखिममा रहेको गृहमन्त्रालयले जनाएको छ । ८ जिल्ला मध्ये स्याङ्जा पनि मनसुनजन्य विपदको उच्च जोखिममा रहेको भन्दै जिल्ला सुरक्षा समितिले आफ्नो तयारी चालु अवस्थामा रहेको जनाएको छ ।

गतबर्ष कास्की र लमजुङ्मा अत्याधिक बर्षा भएको र यो बर्ष स्याङ्जामा गतबर्षको भन्दा बढी बर्षा हुने सम्भावना जल तथा मौसम पुर्वानुमान विभागले जनाएको छ । गतबर्ष स्याङ्जामा ६ सय मिलिलिटर बर्षा भएकोमा यो बर्ष ९ सय देखी ११ सय मिलिमिटर बर्षा हुने अनुमान विभागले लगाएको छ । विभागले दिएको जानकारी अनुसार जिल्ला सुरक्षा समिति स्याङ्जाले मनसुनजन्य विपद प्रतिकार्य तयारी टोली समेत निर्माण गरेको आँधीखोला व्यारेक सिंह शार्दुल गुल्मका सेनानी गुल्मपति पुरुषोत्तम कार्कीले जानकारी दिए । उनका अनुसार स्याङ्जा मुख्यतया खोला तथा नदी किनारा र भिरालो एंव कमजोर जमिनमा मानववस्तीहरु रहेकोले नदी नालाको बहाव क्षेत्र मिचेर भौतिक संरचना निर्माणले गर्दा नदी बग्ने रुट परिवर्तन हुनु, भिरालो जमिनमा सडक विस्तार गर्नु र बढ्दो शहरीकरण सगै अवेव्यस्थित बसाईका कारण मनसुनजन्य विपद निम्तिने आकलन गरिएको छ ।

जथाभावी ढुङ्गा, गिट्टी, बालुवा र वनपैदावर जस्था प्राकृतिक श्रोतको दोहन र उत्खनन्ले गर्दा स्याङ्जा पनि जोखिममा रहेको सुरक्षा समितिले आकलन गरेको सेनानी कार्कीले बताए ।

गण्डकी प्रदेशका जिल्लाहरु मध्ये कास्की, म्याग्दी, बागलुङ्, तनहुँ र स्याङ्जा बाढीको जोखिममा रहेका छन् भने पहिरोको जोखिममा ४ जिल्ला मध्ये लमजुङ्ग, गोरखा, पर्वत र स्याङ्जा हुन् । स्याङ्जा बाढी र पहिरोको दुवै जोखिम रहेको जिल्लामा परेको छ । जिल्लाका ११ ओटै पालिका बाढी पहिरोको जोखिममा रहेको नेपाली सेनाले तयार पारेको रिर्पोटमा छ ।

आँधीखोला व्यारेक सिंह शार्दुल गुल्मका गुल्मपति कार्कीले दिएको जानकारी अनुसार अधिकांश पालिकाहरु बाढीको भन्दा पहिरोको जोखिममा उच्च रहेको छ । पहिरोको उच्च जोखिममा रहेका पालिकाहरु गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, फेदिखोला गाउँपालिका, आँधीखोला गाउँपालिका, बिरुवा गाउँपालिका र कालीगण्डकी गाउँपालिका रहेका छन् । अन्य पालिकामा पहिरो जोखिम न्युन रहेको छ ।

त्यसैगरी बाढीको पनि उत्तिकै जोखिम देखिएको नेपाली सेनाको रिपोर्टले देखाएको छ । बाढीबाट उच्च जोखिममा रहेका पालिकाहरु पुतलीबजार, वालिङ नगरपालिका र बिरुवा गाउँपालिका रहेको छ । भीरकोट नगरपालिका र अर्जुनचौपारी, हरिनास गाउँपालिका भने बाढी र पहिरोको जोखिममा मध्यम देखिएको छ । ११ पालिका मध्ये बाढी र पहिरोको दुवै जोखिममा बिरुवा गाउँपालिका रहेको छ ।

असार २१ र २२ गते आएको अविरल बर्षाले बिरुवामा अन्य पालिकाको तुलनामा जनधनको क्षती पुर्‍याएको छ । सिंह शार्दुल गणका गणपति कार्कीले सेनाले विपद व्यवस्थापन सामाग्रीहरु सहित ४० जनाको टोली तयारी अवस्थामा रहिरहेको जानकारी दिए । तयारी अवस्थामा रहेको जनशक्ति मनसुनजन्य विपद्मा प्रभावकारी खोज तथा उद्धार कार्यमा तालिमप्राप्त हुन् ।

विगत १० बर्षदेखी स्याङ्जामा मनसुनजन्य विपदको आकलन गरी जिल्ला सुरक्षा समितिले अझै यो बर्ष स्याङ्जाका ११ ओटै पालिकामा बर्षाले पार्न सक्ने प्रभावलाई औल्याएर प्रतिकार्यको तयारी थालेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

मनसुनजन्य विपद प्रतिकार्यका लागि हामी तयारी अवस्थामा छौं प्रजिअ नेपालले भनिन्,‘सबै पालिकाका जनप्रतिनिधिहरुको विपद प्रतिकार्यमा सहयोग हुने अपेक्षा राखेका छौं ।’ सबै मिलेर नै मनसुनजन्य विपदलाई सामाना गर्न सक्छौं, सबैले आ—आफ्ना क्षेत्रबाट भुमिका निर्वाह गर्नुपर्छ उनले भनिन् ।

जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विपद सहायता कक्षा गठन भइसकेको र यो ११ ओटै पालिकामा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा विपद सहायता कक्ष गठन भइसकेको प्रशासनले जनाएको छ । कुनै पनि बेला, समयमा आइपर्ने विपदको जानकारी स्थानीय पालिका वा नजिकको प्रहरीलाई खबर गर्न पनि जिल्ला प्रशासनले आग्रह गरेको छ ।
स्याङ्जामा बाढीपहिरोले ९ जनाको ज्यान गयो

मनसुन सुरु भएयता स्याङ्जामा ठुलो जनधनको क्षती भएको छ । गत असार २१ र २२ गते आएको अविरल बर्षाले ७ जनाको ज्यान गएको छ । यो भन्दा अगाडी दुईजनाले ज्यान गुमाइसकेका थिए । अहिले सम्म बाढी र पहिरोमा परी जिल्लामा ९ जनाले ज्यान गुमाइसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

पहिरोमा परी बिरुवा गाउँपालिका ६ लामाखेतमा पहिरोले घर पुरिएर ६५ बर्षिय गुहेश्वरी हर्मा मरासिनी, ६७ बर्षिय हरिमाया शर्मा र सोही गाउपालिका ६ माझकोटमा ७१ बर्षिय माधव शर्माको ज्यान गएको छ । त्यसैगरी भीरकोट नगरपालिका ५ ज्यामिरेमा घर पुरिएर ७३ बर्षिय खेमकुमारी मल्लको ज्यान गएको छ । बाढीले बगाएर पर्वत जिल्ला फलेबास नगरपालिका १ का ४० बर्षिय झलक पौडेललाई आँधीखोलाले बगाएर मृत्यू भएको छ भने पुतलीबजार १३ का सुरेश श्रेष्ठलाई आँधीखोलाले बगाएर मृत्यू भएको प्रहरीले जनाएको छ ।

पुतलीबजार १ का ७४ बर्षिय तिल बहादुर भुजेललाई अरगौदी खोलाले बगाएर मृत्यू भएको छ । यसभन्दा अगाडी असार १४ गते घरमा सुतिरहेको अवस्थामा फेदिखोला ५ बाँगेकी ३१ बर्षिय दुर्गा जि.टी र उनकी ३ बर्षिय छोरी निसिका जि.टीको घरमाथी बाट आएको पहिरोले पुरिएर निधन भएको थियो ।

अहिले सम्म स्याङ्जामा पहिरोले पुरिएर ६ जनाको ज्यान गएको छ भने ३ जनाको बाढीले बगाएर ज्यान गएको प्रहरी नायव उपरीक्षक रानाले बताए ।
बाढी र पहिरोका कारण झण्डै एकदर्जन मानिसहरु घाइते भएका छन् भने सयौ संख्यामा घर जोखिममा परेर सुरक्षित ठाउँमा बसिरहेका छन् । जिल्लाका ११ ओटै पालिकामा पहिरोका कारण धेरै घरहरु जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाको तथ्याङ्कले देखाएको छ । बाढी र पहिरोले पुर्‍याएको क्षतीको विवरण आउनेक्रम जारी रहेको प्रहरीले जनाएको छ । अविरल बर्षाका कारण स्याङ्जाको सिद्धार्थ राजमार्गका विभिन्न ठाउँमा पहिरो गएको छ भने ग्रामिण सडकहरु पनि पहिरोका कारण पुणर्रुपले सूचनारु हुन सकेका छैनन् ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected