पोखरा भ्यूज
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहारा नजिकै यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेर दुर्घटनामा २७ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेहरु सबै भारतीय नागरिक हुन् ।
पोखराबाट काठमाडौंका लागि छुटेको ४३ जना सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस बिहान ऐना पहरानजिकबाट मर्स्याङ्दीमा खसेको थियो ।दुर्घटनामा परी गम्भीर घाइते भएका १६ याुत्रलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले दिएको जानकारी अनुसार ‘गम्भीर घाइते १६ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । मृत्यु हुने सबैको शव आँबुखैरेनी गाउँपालिकामा राखिएको छ । दुर्घटनापछिको अवस्थाबारे भारतीय राजदूतावासमार्फत पनि जानकारी गराइएको छ ।
भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर उक्त दुर्घटनाग्रस्त बससहित २ वटा बस नेपाल भित्रिएका थिए । उनीहरु २ दिन पोखराको पार्दीस्थित स्पोर्ट्स होटलमा बसेर काठमाडौं हिँडेको एक यात्रुले बताए । उनका अनुसार दुई वटा बसमा ९० जनाभन्दा धेरै पर्यटक थिए । दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान अर्को बसमा रहेका आफन्तहरुको सहयोगमा गरिएको छ ।