पोखरा । बालबालिका र वातावरणको क्षेत्रमा सहकार्य गदैँ आएका बाबा फ़ाउण्डेशन नेपाल, रोटरी क्लब पोखरा लेकसाईड र पोखरा पाराडाईजले डस्टवीन र शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । शनिवार श्री केदारेश्वर महादेवमणि मन्दिर एवं केदारेश्वर वैदिक गुरूकुल विद्याश्रमा ९ थान डस्टवीनसहित शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
उक्त सामग्री बाबा फ़ाउण्डेशन नेपालका अध्यक्ष दिलीपराज श्रेष्ठ रोटरी क्लब पोखरा लेकसाईडका अध्यक्ष उपेन्द्र अधिकारी र पोखरा पाराडाईजका अध्यक्ष देवेन्द्र पराजुलीले श्री केदारेश्वर महादेवमणि मन्दिर एवं केदारेश्वर वैदिक गुरूकुल बिधाश्रमका पिठाधिस डा. लेखनाथ आचार्य र मन्दिर व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष मिना भट्टराईलाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्।
मन्दिर वरिपरीको फोहोर व्यवस्थापनका गर्न तीन/तीन सेट डस्टवीन जसमा कुहिने/नकुहिने/सिसाजन्य बस्तु राख्नको लागि साथै बिधाश्रममा अध्ययनरत ८० जना विद्यार्थीका लागि ५०४ पिस कपी, ७२ पिस डटपेन, ३१२ पिस पेन्सिल, १६० पिस कटर र १६० पिस ईलेजर हस्तान्तरण गरिएको बाबा फ़ाउण्डेशनका सचिव टंकराज अधिकारीले जानकारी दिए ।
गुरूकुलका पिठाधिस डा. आचार्यले बालबालिका र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न अग्रसर फ़ाउण्डेशन र रोटरी क्लबले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै आवश्यकताका आधारमा सहि ठाउँ रोज़ेकोमा आभार सहित धन्यवाद दिएका थिए ।
बाबा फ़ाउण्डेशन नेपालका अध्यक्ष दिलीपराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी क्लब पोखरा लेकसाईडका अध्यक्ष उपेन्द्र अधिकारी र पोखरा पाराडाईजका अध्यक्ष देवेन्द्र पराजुलीले वातावरण र बालबालिका मार्फत् विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न क्लव अग्रसर रहेको छ, बाबा फ़ाउण्डेशनले बिगतका बर्षदेखि तीनै कुरालाई मध्यनजर राखी कार्य गर्दै आएको हुदाँ सहकार्य गरिएको बताएका थिए ।
कार्यक्रममा रोटरी क्लब अफ पोखरा लेकसाईडका पूर्व अध्यक्ष जयराम पौडेल, पाराडाईजका ईलेक्ट प्रेसिडेन्ट भोजराज पाण्डे, सचिव दीपक गुरूङ, बाबा फ़ाउण्डेशनका उपाध्यक्ष रेनु गुरूङ, दशनामी समाज कास्कीका अध्यक्ष भूपेन्द्र गिरीसहित दुवै क्लबका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो ।
फाउन्डेशनका अध्यक्ष दिलीप श्रेष्ठले वातारण संरक्षणमा मानव जातीको भूमिका महत्वपूर्ण हुने भएकाले वातावरण संरक्षणमा क्रियाशील हुने सबैसँग आग्रह गरेका थिए । उनले फाउण्डेशन मार्फ़त समाज रूपान्तरणमा केही योगदान गर्न सकियोस भन्ने हेतुले बालबालिका र वातावरणका क्षेत्रमा बिगत १७ बर्षदेख़ि अभियान थालनी गरिएको जानकारी दिए ।