21Shares

स्याङ्जा । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै प्रकाशन गरेको आर्थिक बर्ष २०७९/०८० को संस्थागत क्षमता स्वमुल्याङ्कन नतिजामा गाउँ भन्दा नगर कमजोर रहेको देखाएको छ । विभिन्न १० वटा शीर्षकमा स्थानीय निकायको कार्यसम्पादनलाई आधार बनाएर हरेक वर्ष संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुणस्तर परीक्षण (स्वमुल्याङ्कन) गरी नतिजा प्रकाशन गर्दे आएको छ । यो प्रतिवेदनलाई लिसाको रुपमा चिनिन्छ । शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरुको पहिचान गर्ने, आवद्यिक समिक्षाको आधारमा प्राप्त गर्ने र स्थानीय सरकारहरु बीच स्वस्थ्य प्रतिस्पर्धा गराउने उदेश्यले यो विधि अपनाइदै आएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको नतिजामा स्याङ्जाका ११ पालिकाहरु मध्ये गाउँपालिकाहरुले नै राम्रो नतिजा दिन सफल भएका छन् । गाउँ भन्दा नगर अझै सुगम र सक्षम मानिने भएपनि गुणस्तर परीक्षणमा नगरपालिकाहरुको नतिजा कमजोर देखिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कनको नतिजामा स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका पहिलो बनेको छ । संघीय मामिला मन्त्रालयले सार्वजनिक गरेको नतिजामा स्याङ्जाका ११ पालिकाहरु मध्ये अर्जुनचौपारी गुणस्तर परीक्षणमा पहिलो भएको हो ।
अर्जुनचौपारी गाउँपालिकाले शासकीय प्रबन्धमा ८.५, संगठन तथा प्रशासनमा ७.२५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ६.५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०.७५, सेवा प्रवाहमा १५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ९, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपत् व्यवस्थापनमा ७.५ र सहकार्य र समन्वय शीर्षकमा ४.५ अंक सहित ८६ ल्याएर जिल्लाकै पहिलो हुन सफल भएको छ । अर्जुनचौपारी गाउँपालिका गतबर्षको नतिजामा पनि पहिलो भएको थियो ।
यसै गरी फेदिखोला गाउँपालिकाले ८४.७५ अंक प्राप्त गरेर दोस्रो स्थानमा परेको छ भने कालीगण्डकी गाउँपालिका ८४.५० अंक प्राप्त गरी तेस्रो स्थानमा परेको छ । आँधीखोला गाउँपालिकाले ८४ अंक, वालिङ नगरपालिकाले ८२.५०, गल्याङ नगरपालिकाले ८२, भीरकोट नगरपालिका ८१.२५, हरीनास गाउँपालिका ६७.५०, बिरुवा गाउँपालिका ६७.२५, पुतलीबजार नगरपालिका ६६.२५ र चापाकोट नगरपालिका ५२.५० अंक प्राप्त गरेका छन् ।
यो नतिजाले गाउँपालिकाको भन्दा नगरपालिकाको सेवा प्रवाहमा निकै कमजोर रहेको देखाएको छ । समग्र नतिजामा नगरपालिका पाँचौ स्थानमा पुगेको देखिन्छ । पाँचौ स्थानमा वालिङ नगरपालिका रहेको छ । यो नतिजाले स्थानीय सरकार संचालन कसरी भएको छ भन्ने पनि सिकाउने मन्त्रालयले जनाएको छ । पालिकाहरुले ठिक रुपमा सेवा प्रवाह गरेका छन् वा छैनन् भन्ने समेत यो नतिजाले देखाउने भएकाले पालिकाहरुलाई नैतिक दवाव पर्ने समेत मन्त्रालयको दावी छ ।
हरेक बर्ष गरिने यो नतिजाले नगरपालिकाहरुलाई चुनौती थपिएको छ । ५ नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा कार्यसम्पादन मुल्याङकनमा नगरपालिकालाई कमजोर नतिजाले प्रश्न उठाइरहेको छ ।
स्याङ्जामा १ सय ३३ लाभग्राही हटाइए
२०७७ सालदेखी राहतको प्रतिक्षामा बसेका १ सय ३३ पिडित लाभग्राहीहरु जिल्ला प्रशासनको सूचीबाट हटाइएका छन् । १ सय ८७ जना लाभग्राही मध्ये ५४ जनालाई लाभग्राही कायम गरी १ सय ३३ जनालाई सूचीबाट हटाइएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले मौसुमजन्य विपद व्यवस्थापन पुर्नस्थापना तथा पुणर्निर्माण कार्यविधि २०७७ अनुसार प्रक्रिया नपुगेका लाभग्राहीलाई सुचीबाट हटाउने निणर्य भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । अहिले सम्म कार्यविधि अनुसार जम्मा ५४ जनाको प्रक्रिया पुगेकोले उनीहरुलाई दोस्रो किस्ता बापतको रकम उपलब्ध गराउने निणर्य भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सुचना अधिकारी सहायक प्रजिअ दीपक पौडेलले बताए ।
जिल्लाका ११ ओटै पालिकाबाट विपदमा परेको आधारमा जिल्ला प्रशासनमा १ सय ८७ जना लाभग्राहीको नाम २०७७ सालमा सुचिकृत गरिएको थियो । लामो समयसम्म यसले पुणर्ता नपाउदा विपदमा परेका लाभग्राहीहरु राहत पाउनबाट बन्चित हुदै आएका थिए । वर्तमान प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको पहलमा राहत नपाउने लाभग्राहीको प्रक्रियाका लागि पहलकदमी थालेपछि जम्मा ५४ जना लाभग्राहीले मात्रै प्रक्रिया पुरा गरेका थिए । पालिकाहरुले कागतजात सहित प्रक्रिया नमिलाईदिदा दोस्रो किस्ताको राहत लिनबाट १ सय ३३ जना लाभग्राही बन्चित हुन पुगेका छन् ।
सुचना अधिकारी पौडेलका अनुसार ५४ जना लाभग्राहीले आउदो दशैं अगाडी दोस्रो किस्ता बापतको २ लाख रुपैयाँ प्राप्त गर्ने बताए । मौसुमजन्य विपदमा परेर घर गुमाएका पिडित लाभग्राहीलाई ४ लाख दिने सरकारको घोषणा अनुरुप बाँकी किस्ता घर सम्पन्नको कागतजात पालिकाबाट ल्याएपछि पाउने सहायक प्रजिअ पौडेलले बताए । बैठकले प्रक्रिया पुगेका आँधीखोला गाउँपालिका १, फेदिखोला गाउँपालिका १, अर्जुनचौपारी गाउँपालिका १, चापाकोट नगरपालिका १, बिरुवा गाउँपालिका ७, गल्याङ नगरपालिका ८, वालिङ नगरपालिका ५, पुतलीबजार नगरपालिका १, हरिनास गाउँपालिका १८ र कालीगण्डकी गाउँपालिका ११ जना लाभग्राही कायम भएका छन् ।
जिल्ला विपद व्यवस्थापन समितिको बैठकले हालै भएको मौसुमजन्य विपदमा जिल्लामा ११ जनाले ज्यान गुमाएको र उनीहरु सबैलाई तत्काल राहत उपलब्ध गराइएको जानकारी दिइएको थियो । हालै आएको बाढीपहिरोले जिल्लामा २९ घरधुरी पुणर् रुपले क्षती भएको विवरण सुचिकृत गरेको छ । विपद व्यवस्थापन समितिको बैठक प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा बसेको थियो । जिल्लाका ११ ओटै पालिकाका जनप्रतिनिधि, राजनीतिकदल, सरकारी कार्यालयका प्रमुख, सामाजिक संघसंस्था, नेपाल पत्रकार महासंघ लगायतको बैठकमा सहभागी रहेको सहायक प्रजिअ पौडेलले बताए ।
स्याङ्जामा इन्स्युरेन्स सोसाइटी गठन
स्याङ्जामा नेपाल इन्स्युरेन्स प्रोफेसनल सोसाइटी (एनआईपिएस) गठन गरिएको छ । सोसाईटीको पहिलो अधिवेसनले पृथ्वीनारायण शर्माको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा पार्वती आले, सचिवमा सुर्यप्रसाद खनाल र कोषाध्यक्षमा तुलसा तिवारी रहेका छन् ।
समितिको सदस्यमा संगिता श्रेष्ठ, शुशिल भण्डारी, प्रदिप रेग्मी, नारायण खनाल र पवन अर्याल चयन भएको तदर्थ समितिका संयोजक शंकर सुवेदीले जानकारी दिए । इन्स्युरेन्स कम्पनीबाट हुने सेवा प्रवाहलाई सहज र दरिलो बनाउन सोसाईटी गठन गरिएको बताइएको छ । यसको व्यवस्थापन र दिगो बनाउन यो सोसाईटीले महत्वपुणर् भुमिका खेल्ने विश्वास उनीहरुले लिएका छन् । वालिङमा मात्रै २२ ओटा लाईफ र ननलाईफ इन्स्युरेन्सले सेवा प्रवाह गरिरहेका छन् ।

21Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected