सुर्य बास्तोला
पोखरा । प्रधानमन्त्री केपी शर्मा वलीद्वारा लोकार्पण गरिएको राप्रपा नेपालका अध्यक्ष कमल थापाको नाकाबन्दी र भूराजनीति पुस्तक बजारमा आएको छ । पुस्तकमा भारतीय नाकाबन्दीका बेला सेभेन रेस कोर्समा आक्रामक मोदी र थापाको सम्वादको नालीवेली समावेश भएको पुस्तक पोखराका पुस्तक पसलहरुबाट समेत खरिद गर्न सकिने छ ।
पुस्तकमा थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, सुरक्षा सल्लाहकार अजित डोभाल र त्यतिबेलामा विदेश सचिव एस जयंशकरको मिलेमतोमा नेपालमाथि नाकाबन्दी लगाएको उल्लेख ग़रिएको छ ।
नाकाबन्दीको समयमा परराष्ट्रमन्त्रीको जिम्मेवारीमा रहेका थापाले जसरी पुस्तकमा प्रसंगहरू लेखेका छन्, त्यसले भारतीय हेपाहा प्रवृत्तिको पराकाष्ठा पनि देखाउँछ । अनि, कर्मचारी प्रशासनको दबदबामा भारतीय सरकार रहेको संकेत पनि गराउँछ ।
पुस्तकमा भारत भ्रमणका क्रममा थापा र भारतीय प्रधानमन्त्री निवास‘ सेभेन रेसकोर्स’ अर्थात् लोमान्य मार्गमा मोदीसँगका संवाद पनि रोचक देखिएको छ । थापाले त्यस भेटका सन्दर्भमा मोदीको हाउभाऊ लेख्ने क्रममा भनेका छन्, ‘त्यो भेटमा प्रधानमन्त्री नरेन्द्र मोदीको बडी ल्याङ्ग्वेज असहज देखिन्थ्यो । उनको अनुहार उज्यालो थिएन । तनावमा रहे जस्तो आभाष भयो ।’
थापाले बालुवाटारको सर्वदलीय बैठकमा मोदीको उक्त सन्दर्भ बारे कुरा उठाएपछि प्रचण्ड र शेरबहादुर देउवाले आफूलाई भारतले हिन्दु धर्म राख्न प्रस्ताव गरेको र त्यसमा सहमति जनाएको स्वीकार गरेको सन्दर्भ पनि किताबमा उल्लेख छ । प्रचण्डले आफूलाई धर्म निरपेक्षता नै चाहिन्छ भन्ने लागेको थिएन । तर, बाबुराम भट्टराई नमानेको पनि त्यहीँ बैठकमा पोल खोलेका छन् ।
थापाले भारतीयहरूसँगको हरेक भेटमा चिनियाँ कार्डको प्रयोग गरेको देखिन्छ । नेपाली जनतामा भारत विरोधी भावना बढ्न थालेको र चीनप्रति सकारात्मक हुन थालेको प्रसंग पटक-पटक उल्लेख छ । थापाले विदेश सचिव जय शंकरसँगको भेटमा होस् वा विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा होस्, अनि अजित डोभाल र मोदीसँगको भेटमा पनि चिनियाँ सन्दर्भ निकालेका छन् ।
नाकाबन्दी खुलाउन नेपाली सेनाको भूमिकाबारे पनि थापाले लेखेकाछन् । खासगरी हिमालय थापाको प्रयासलाई उनले बढ्ता जोड दिन खोजेको देखिन्छ । प्रधान सेनापति राजेन्द्र क्षेत्री भारत भ्रमणमा जानुअघि परराष्ट्रमन्त्री थापालाई भेट्न सिंहदरबार गएको सन्दर्भका क्रममा थापाले किताबमा लेखिएको छ । थापाले, ‘भारतीय सेनाध्यक्षसँगको भेटमा नाकाबन्दीका कारण नेपाली जनतामा भारत विरोधी भावना बढेको उल्लेख गर्दै नाकाबन्दी अन्त्यका निमित्त पहल गरिदिन अनुरोध गर्न उनलाई सल्लाह दिएँ ।’
त्यति मात्र होइन, मधेश आन्दोलन र नेताहरूलाई भारतले परिचालन गरेको पनि स्थापित हुने गरी नै लेखिएको छ । मधेश केन्द्रित दलसँगको वार्ता भारतीय विदेशमन्त्री स्वराजसँग भएको सन्दर्भ पनि उल्लेख छ । चारबुँदे प्रस्तावको सन्दर्भमा पनि लेखिएको छ । अनि, बालुवाटारमा सर्वदलीय बैठक बहिष्कार गरेका मधेश केन्द्रित दलहरू लैनचौर पुगेर भारतीय राजदूत रञ्जित रेसँग ती चारबुँदे सहमतिबारेमा छलफल गरेको पनि लेखिएको छ । रे ले त्यतिबेला चारबुँदे मानेर जान मधेशी नेताहरूलाई सुझाव दिएको सन्दर्भ पनि उल्लेख गरिएको छ ।