सूर्यप्रसाद बाँस्तोला, पोखरा, १९ भदौं । पोखरा महानगरपालिका वडा नं २० ले गत वर्ष जस्तै यस वर्ष पनि वडा स्तरीय तिजगीत प्रतियोगीता एवं चेलीवेटीका लागी दर खाने कार्यकम सम्पन्न गरेको छ । वडा कार्यालय भलाम-मौजाले पोखरा महानगरपालिकाका उपप्रमुख मन्जु देवी गुरूङको प्रमुख आतिथ्यतामा हरितालिका तीजको अवसर पारेर विहिवार वडाको पहिचान हुने खालको तीज गीत प्रतियोगिता एवं चेलिबेटीका लागि दर खाने कार्यक्रम सम्पन्न गरेको हो ।
वडाभित्रका आमा समूहबीचको प्रतिष्पर्धामा देवीडाडाँ आमा समूह प्रथम, बेसी दिदीबहिनी समूह द्वितीय र बिसौंना दिदीबहिनी समूहले तृतीय स्थान प्राप्त गरेको वडा सदस्य एवं कार्यक्रम संयोजक मिना पौडेलले बताईन् ।
त्यस्तै प्रतियोगितामा खोर प्यारे दिदीबहिनी र सृजनशील आमा समुहले सान्त्वना स्थान हासिल गरेको छ भने उत्कृष्ट नृत्य, उत्कृष्ट स्वर, उत्कृष्ट भेषभुषा र उत्कृष्ट शब्द चयनमा क्रमशः रेसीका बाल समूह, पिपलडाली आमा समूह, सुवेदी बुहारी समूह र शिव मन्दिर आमा समूह पुरस्कृत भएको पौडेलले बताईन् ।
प्रतियोगितामा प्रथम हुनेले रु. १२ हजार, द्वितीयले रु. १० हजार, तृतीयले रु. ८ हजार, सान्त्वनासहित विभिन्न बिधामा उत्कृष्ट हुनेले ३/३ हजार नगद प्रमाणपत्र प्राप्त गरेका थिए ।
प्रतियोगिताको निर्णायकमा लोक दोहोरी गायक जीवन दाहाल, तारापति सुवेदी, पार्वती जि.सि.र माया गुरुङ रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मन्जु देवी गुरूङले महिला दिदीबहिनीका लागि रमाइलो चाडपर्वका रुपमा आउने तीजले जागरुकता ल्याएको बताईन् । उनले तीजमात्र नभइ अन्य बेलामा पनि वडाले महिला जागरणका कार्यक्रम ल्याइ स्ववालम्बी बनाउन सघाउनुपर्ने जनाईन्।
वडा नम्बर २० का वडाध्यक्ष गंगा बहादुर क्षेत्रीले वडा कार्यलयले स्थानियलाई चाडपर्व होस् वा दुःख पीडा रहेका बेलामा साथ दिने गरी काम गर्ने प्रयास गरिरहेको बताए । महिला दिदीबहिनीका लागि बजेट छुट्याएर सक्ने जति काम गर्न तयार रहेको जनाए । क्षेत्रीले महिला दिदीबहिनी अघि बढे घर परिवार र समाज नै अघि बढ्छ, जसका लागि महिला दिदीबहिनीलाई प्रखर बनाउन जरुरी रहेको बताउदै वडावासी सम्पूर्णलाई धन्यवादसहित आभार व्यक्त गरेका थिए ।