आमाका पालाको तीज र अहिलेको तीज
वर्ष दिनको तीजमा बाबा लिन आएनन्
साउने झरी झैं रो छ मेरो मन्-२

हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्त्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्त्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्त्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै बर्त बसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी बर्त बस्छन । बर्तको समयमा महिलाहरूले तीजको बर्तकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ ।



हाल सबै भन्दा बढी प्रचलित हरितालिका तीज पर्व नै हो । हरितालिका दुई शव्दबाट बनेको हो – हरत र आलिका । हरतको अर्थ हरण र आलिकाको अर्थ साथी हो । पौराणिक कालमा भगवान विष्णुले देवी पार्बतीसंग बिबाहको लागि प्रस्ताव गर्न नारदलाई पठाएको र पार्बतीका पिता हिमालय पर्बतले पनि स्वीकृति दिएको तर देवी पार्बतीले भने भगवान शिवलाई मन पराएको । यस्तो अवस्थामा पार्बतीका साथीहरुले पार्बतीलाई भगाएर तीन दिनसम्म लुकाएर राखेका थिए रे ।

यिनै तीन दिनमा देवी पार्वतीले भगवान शिबलाई पाउने आशामा कठोर पूजा आराधना तथा तपस्या गरेर सफल भएकोले सबैले त्यही सफलताको कामना र आशा गर्दै यो व्रत तथा पूजा आराधना गर्ने चलन चलिआएको हो भनिन्छ । त्यसैले यो पर्वलाई हरितालिका भनिएको हो भन्ने परम्परा रहि आएकोछ । भाद्र शुक्ल तृतीया, चतुर्थी र पञ्चमी तिथिहरु गरेर तीन दिन मनाइने हरितालिका तीजको पहिलो दिनलाई “दरखाने” दिनका रुपमा चिनिन्छ । वास्तवमा नेपालको भौगोलिक परिवेस अनुसार बाटोघाटोको असुविधा, अनि विवाह गरेर दिएकी चेलीलाई विभिन्न खोला जङ्घार, पहाड, घुम्ती पार गर्दै मूलतः बुबा, दाइ वा भाइले लिन जाने र मीठामीठा परिकार पकाएर “दर” खुवाउने चलन छ ।
पहिला पहिला तीजमा माइतीबाट बाबुआमा वा दाजुभाइ आएर चेलीलाई लिएर जाने परम्परा थियो भने अहिले माइतीको अलावा साथीभाइले समेत निम्ता गरी बोलाउने वा संघसंस्थाहरुले पनि तीजको कार्यक्रम राखी दर खुवाउने, गीत गाउने, नाच्ने आदिको व्यवस्था गर्न थालिएको छ भने आजको एकदुई दशकपछि अझ नौला कार्यक्रमहरु बन्नेछन् भन्ने आशा गर्न सकिन्छ । हिजोको दिनमा माइती लिन नआएमा छोरीले निकै ठृ्लो गुनासो गर्ने बेला त्यो थियो भने अव माइती लिन नआए पनि त्यती दुखेसो नगर्ने समय आइसकेको छ । पहिले पहिले एक दिन अगाडि मात्र दरखाने गरिन्थ्यो भने आजभोलि एक दुई महिना अगाडिदेखि नै दरखाने चलन आइरहेको पनि देखिन्छ ।
आमाहरुका पाला विभिन्न कारणबस कतिपयका माइती लिन आउन नसक्ता चेलीहरुले यसरी बिलौना गर्ने गरेको सुनिन्थ्योः—
वर्ष दिनको तीजमा बाबा लिन आएनन्
साउने झरी झैं रोछ मेरो मन्
यता माइती आएका चेलीबेटीहरु दर खाँदा को दिन रात अबेर सम्म बसेर आफूले भोगेका दुःख पीडालाई रुँदै गीत मार्फत व्यक्त गर्ने चलन थियो । कति मर्म स्पर्शी हुन्थे सेन्नेका आँखाहरू रसाउँथे। विशेष त विवाह गरेको पहिले वर्ष गीत कथने नारीहरुको चलन थियो । खाना खाएर सुत्यौ भने मसक्क निदाउने डरमा रात भर गाएर , नाचेर डर खाने गर्दथे।
त्यस पछि दोश्रो दिन अर्थात भाद्र शुक्ल चतुर्थी । दिनभरी श्रद्धालु महिला भक्तजनहरु निराहार निर्जल व्रत बस्ने गर्दछन् । यसको अर्थ आफ्नो र सपरिवारको सुखशान्ति तथा दीर्घायुको कामना गर्दै असल पारिवारिक जीवनको चाहनाको अभिव्यक्ति नै हो । व्रतको दिन विशेष गरेर भक्तिका गीतहरु गाउने गरिन्छ । व्रतको दिन महिलाहरु नजिकको मन्दिरमा गएर नाच्दै गाउंदै रमाइलो गर्ने गर्दछन् ।
तीज पर्वको अन्तिम दिनलाई ऋषिपञ्चमी भनेर भनिन्छ । यो दिनमा सबै व्रतालुहरु विहानै विभिन्न खोला, इनार, नदी किनारमा गई नुहाइधुवाइ गरी एक किसिमको जडिबुटी दतिउनले दाँत माझेर कुल्ला गर्ने चलन पनि छ । तीजको अन्तिम दिन महिलाहरु रातो माटो र दतिउनको टुक्राबाट आफ्नो शरीर र मन शुद्ध गरेर जानी नजानी गरेका पापहरुबाट मुक्ति मिल्ने आशा गर्दै बिर्सजन गर्दछन् । त्यस क्रममा गौरीशङ्कर (शिवपार्वती) को तथा सप्तर्षिको पूजागरि गच्छेअनुसारको दानदक्षिणा उपहार दिने चलन छ ।
पञ्चमी सकिएपछि आ—आफ्नो समय, फुर्सद अनुसार माइत जन्मघर आएका चेलीहरु आफ्ना कर्मघर जान्छन् । कतिपयलाई घरको बुहार्तन खट्न नसकेर जन्मघरमा नै बस्न मन हुन्छ तर माइती पक्षले सम्झाइबुझाइ घर पठाउँछन् । अनि चेलीहरुले यसलाई गीतमा उतार्दै भन्छन् –
फकाई फकाई ल्याउँछन् , कोचाई कोचाई खुवाउँछन्
पञ्चमीका भोलिपल्ट रुवाउँदै पठाउँछन्
हुन त तीज नेपालमा मात्र नभइ तीज भारतको राजस्थान, उत्तर प्रदेश, बिहार, झारखण्ड र हरियाना राज्यहरुमा पनि मनाइन्छ । खासगरी शुरुमा हिन्दु महिलाहरुले मनाउने चाडपर्ब थियो तर विस्तारै चेतनाको विकास र धार्मिक सहिष्णुताका कारणले प्राय नेपाली सबै समुदायका मानिसहरु सहभागी भएर यसलाई मनाउँछन् । राजस्थानका महिलाहरु हरियो रगंको लुगामा सजिएर गाउंदै र नाच्दै पानीका भगवानको प्राथर्ना गर्दै रमाइलो गर्ने गर्दछन् । आजभोलि भारतको हरियाना राज्यमा बाहेक अरु राज्यहरुमा पनि बिस्तारै यो पर्ब मनाउनेहरुको संख्या कमी हुंदै गएको सुनिन्छ ।
परम्परागत तीजभन्दा आजभोलिको तीजमा बिस्तारै परिवर्तन र परिमार्जन देखिंदै आएको छ । अनिवार्य भन्ने कुरालाई झिकेर मनले मागेको र समाजले चाहेको कुरालाई मात्र अगिंकार गर्न शुरु गरिएको छ । धार्मिक हिसाबले यस प्रकारको सिद्धान्त ठीक हो होइन थाहा भएन तर सामाजिक सुधार भने पक्कै पनि भएको छ । भगवान प्रति मान्छेको आस्था र विश्वास नघटाई समाजमा समय अनुसार सामाजिक परिर्बतन हुनु मानव जगतका लागि ठृ्लो कुरा हो ।
पहिलेका तीजका गीतहरु ईश्वर भक्ति, घर र माइतीको कुरा र मायापिरतीका बारेमा हुन्थे भने आज आएर “हाई मेरो फरिया, हाई मेरो फरिया, झनमाथि सारयो झन तल झर्छ …., मैना मादल ठोक न मादल ठोक……, चोली छोट्याई देउ तीजमा लाउनु छ ….., आई थी साली, लाई थी नी कुरा…., पोइल जान पाउँ शिब पोइल जान पाउँ…पोका पुकी , बिछ्यौना तात्यो जस्ता गीतहरुले रेडियो घन्किन्छ, एफ एम रन्किन्छ, टेलिभिजन भरिन्छन् ।” आजको समाजले यिनै गीतहरुलाई महत्व र स्थान दिएको छ ।
आमाका पालामा , हरितालिका तीजको एउटा महत्वपूर्ण पाटो भनेको अभिव्यक्ति स्वतन्त्रतालाई गीतका माध्यमबाट उपयोग गर्नु रहेको थियो । आम नेपालीहरुमा राजनीतिक चेतना नआइसकेको र पितृसत्तात्मक नियन्त्रित सामाजिक परिपाटीमा नेपाली चेलीहरुले आँफूमाथि श्रीमान र सासू आदिबाट भएका अप्ठ्याराहरुलाई तीजका गीतबाट अभिव्यक्त गरिन्थे । त्यस्तै आफ्ना यौन कुण्ठा र ठट्टाहरु विवाहोत्सवमा गाइने रत्यौली आदिमा अभिव्यक्त हुने गर्दथे । विस्तारै नारी शिक्षा र परिवारमा आफ्नो समान हिस्सा जनाउनका लागि पनि तीजका गीत प्रयोगमा आउँथे –
हातमा घडी, काँधमा रेडियो
उठ सासू दैलो पोत पढ्न हिंडियो
त्यस्तै पढ्न नपाएको र श्रीमानले भनेको कुरा आँफूले नबुझेको सन्दर्भलाई गीतमा यसरी व्यक्त गरिन्थे –
स्वामीज्यूले पानी मागे अंग्रेजीमा वाटर
नबुझेर दिएँ राजै काँचो कटर, नबुझेर दिएँ राजै काँचो कटर
त्यस्तै अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित गरिएको, खुम्च्याइएको वा पूर्ण वर्जित गरिएको एक दलीय तानाशाही व्यवस्थामा हरितालिका तीज आफ्ना राजनैतिक आस्था र अभिव्यक्तिलाई पस्किने अवसर पनि बन्ने गर्दथ्यो । तर आज व्यवस्था फेरिएको छ, सूचना र प्रविधिले छलाङ्ग मारेको अवस्थामा यो चाडको व्यापकता निश्चित समुदायमा सीमित नभई एक राष्ट्रीय चाडको रुपमा देशविदेशमा फैलिंदै गएको छ ।
भृ्गोलको सीमा नाघेर आफन्तहरुबाट टाढिन परेको बेदना तथा उनीहरु संगको मायामोहको कोसेली संधै आफ्नो छातिमा लिएर बसेका प्रबासी महिलाहरु बेदना र सम्झनाका गीतहरु लेखेर पनि आफ्नो रहर मेटाउछन् । प्रवासमा यस्ता सिर्जनहरु प्रशस्तै देखिन थालेकाछन् । जस्तै निम्न पक्तिहरुलाई हेरौं –
रहरैमा
रहरैमा छोडियो देश -२, करीमैमा रैच र प्रदेश _२
हुन त अहिले सामाजिक सञ्जालमा ले नजिक बनाएको छ तर पनि विदेशी भूमिमा चाडबाडका दिन काम गर्न जानु पर्दा बैंचन हुने गर्दछ।
तीजको मौलिकता हराउँदै गए पनि तीजको दिनमा पुराना भाकाहरु संगै नया पिढिका गीतमा ढाकिने गर्दछ तथापि पछिल्लो समयमा तीज तडक भडक बन्दै गएको यथार्थ हाम्रा सामु छर्लङ्ग छ । तीजमा मौलिकता ल्याउनुपर्ने हुन्छ । हाम्रामा कयौ महिला दिदीबैनीहरु पनि वर्तमान अवस्थामा देखिएको तीज पर्व मनाउने प्रचलन र गीत प्रति सन्तुष्ट भने देखिनु हुन्न । उहाँहरुका अनुसार मध्यम एवं विपन्न वर्गलाई मनोवैज्ञानिक असर पार्नुका साथै तीजको मौलिकता हराउन नदिनको लागि सबै लाग्नु पर्छ । अहिलेको तीज मनाउने प्रवृतिले तीजको मौलिकता नै ओझेलमा पर्न थालेको छ । नेपाली नारीहरुको महान चार्डको रुपमा लिने गरेको हरितालिका तीज भड्किलो भएको तथा यसले हुने खाने र हुँदा खाने वर्ग बीचको दूरी बढाउँदै लगेको बुढापाका महिला बताउँछन् ।
विगतका बर्षहरुको तीजमा दुई चार वटा मादल सहित गीत गुञ्जदा सिंगो गाउँनै हर्ष मनाईरहेको हुन्थ्यो । महिलाहरुले कर्म घरमा पाएका दुख पिडा बेदनाले भरिएका गीतहरु गाउँदै नाच्दै रमाइलो गर्ने त्यो परम्परा अहिले हराउँदै गएको छ ।
तीजको मौलिकता हराएसंगै मादल बनाउने समुदायको पेशासमेत संकटमा पर्न थालेको छ । यस बर्ष तीजमा मादल नै बिक्रि नभएको मादल बनाउने समुदायले समेत गुनासो गरेका छन् ।




