खानेपानी समस्या समाधानमा निर्माणाधीन खानेपानी आयोजना सम्पन्न हुनु पर्नेछ- आचार्य
- September 14, 2024
- 1710


पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगरवासीहरूलाई स्वच्छ खानेपानीको व्यवस्थाका लागि सञ्चालित विभिन्न परियोजनाहरू निर्माण सम्पन्न भइसकेपछि खानेपानीको समस्या सदाका लागि अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ। भरतपोखरी–कृष्ति–निर्मलपोखरी खानेपानी उपभोक्ता समितिको १७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले नगर क्षेत्रको खानेपानी समस्या समाधानका लागि हाल निर्माणाधीन खानेपानी आयोजनाहरू सम्पन्न हुनु पर्ने बताउनुभयो ।
पोखराको मुख्य बजार क्षेत्रमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाद्वारा निर्माण भइरहेको खानेपानी सुधार परियोजना, भरतपोखरी–कृष्ति–निर्मलपोखरी लगायत पोखरा २१ र ३३ मा सञ्चालित सहलगानीका खानेपानी आयोजनाहरू पूर्ण रूपमा सम्पन्न भइसकेपछि खानेपानीको समस्या सदाका लागि अन्त्य हुने उहाँले बताउनुभयो । लेखनाथ क्षेत्रमा लेखनाथ साना सहरी खानेपानी आयोजनाले पानी वितरण गरिरहेको भए पनि त्यस क्षेत्रमा पर्याप्त मात्रामा खानेपानीको प्रबन्ध गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख आचार्यले बताउनुभयो ।
‘महानगरपालिकाका ग्रामीण क्षेत्रहरूमा रहेका रैथाने खाने पानीका मूलहरू संरक्षण गर्दै नगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था गर्न पोखरा महानगरपालिका प्रतिबद्ध छ, नगर प्रमुख आचार्यले भन्नुभयो, पोखरामा खानेपानीको वितरण प्रणालीको सुडृढिकरण, मूल्यमा भएको असमानताको अन्त्य र पर्याप्त खानेपानीको उपलब्धताका लागि एक अधिकार सम्पन्न बोर्डको आवश्यकताको महसुस भएको छ, हामी यसको समेत व्यवस्थाका लागि सरोकारवालाहरूसँग निरन्तर छलफलमा छौँ।’ खानेपानीको मुहानदेखि धारासम्म वितरणको सम्पूर्ण व्यवस्थापनका लागि एक अधिकार सम्पन्न बोर्डको संरचना भए उपभोक्ताहरूलाई सहज रूपमा खानेपानीको उपलब्ध गराउन सकिने उहाँले बताउनुभयो ।
भरतपोखरी–कृष्ति–निर्मलपोखरी खानेपानी आयोजनाले हाल १ हजार २२ घरमा पानी वितरण गरिसकेको उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले बताउनुभयो । उहाँका अनुसार अझै १२७० घरधुरीमा पानी जडान गर्न बाँकी छ । थप १४ सय घरधुरीलाई खानेपानीको व्यवस्थापन गर्नुपर्ने दायित्व समेत आयोजनाको रहेको छ । हालसम्म आयोजनामा ५४ करोड लगानी भएकामा पोखरा महानगरपालिकाले १२ करोड रुपैयाँ लगानी गरेको छ । पोखरा महानगरपालिकाका वडा नं.२१ र ३३ को करिब ७० प्रतिशत भूभागमा बसोबास गर्ने उपभोक्ताहरूलाई यस आयोजनाले पानीको प्रबन्ध गर्नेछ ।
साधारण सभाले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र सचिवको प्रतिवेदन सर्वसम्मतिले पास गरेको छ ।





