टाइगर कप भलिबलः पहिलो खेलमा ट्राभल इन्क्वारीमाथि एपिएफको पुनरागमन जित, पुलिसमाथि न्यू डायमन्डको रोमाञ्चक जित
- January 25, 2025
- 1539

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई पराजित गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा एपिएफले ३–२ सेटले खेल आफ्नो पक्षमा पारेको हो ।
पहिला दुई सेट गुमाएको एपिएफले उत्कृष्ट पुनरागमन गर्दै ३–२ सेटको जित निकाल्न सफल भयो । पहिलो सेटमा १२–७ को एपिएफको अग्रतालाई उल्टाउँदै ट्राभल इन्क्वारीले आफ्नो पक्षमा पारेको थियो । इन्क्वारीले दोस्रो सेटमा २५–२० को सहज जित निकालेको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै एपिएफले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । एपिएफले तेस्रो सेट २५–१९ र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्यो । पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै डिफेन्डिङ च्याम्पियन एपिएफले १५–७ को जित निकाल्यो ।
अब हुने दोस्रो खेलमा महिलातर्फ टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेलपछि प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ गर्नेछन् । उद्घाटन खेल आयोजक महिला टोली र त्रिभुवन आर्मी क्लबबिच हुनेछ ।
आजबाट सुरु भएको पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फका खेल भने आइतबार हुनेछन् ।
पुलिसमाथि न्यू डायमन्डको रोमाञ्चक जित

एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा न्यू डायमन्डले पुलिसलाई ३–२ ले जित निकालेको हो ।
पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २३–२५ ले डायमन्डलाई सुम्पिएको थियो । निकै प्रतिस्पर्धात्मक भएको तेस्रो सेट पुलिसले २६–२४ ले आफ्नो पक्षमा पारेका थियो । चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमन्डले २५–१८ आफ्नो पक्षमा पार्दा खेल पाँचौं सेटमा धकेलिएको थियो । ंपाँचौं सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमन्डले पुलिसलाई १५–१० ले पराजित गर्यो ।
यसअघि भएको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई ३–२ सेटले पराजित गरेको थियो । आजै हुने तेस्रो खेलमा आयोजक महिला टोली र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन कार्यक्रमपछि उक्त खेल सुरु हुनेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा आजबाट सुरु भएको पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फका खेल भने आइतबार हुनेछन् ।













