
पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार बिहान भएको खेलमा आयोजक टोलीले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
आयोजक टोलीले आर्मीले पहिलो सेट २५–१४, दोस्रो सेट २५–११ र तेस्रो सेट २५–२१ ले पराजित गर्यो । यसअघि शनिबार खराब प्रकाशका कारण खेल स्थगित भएपछि आइतबार पुनः गराइएको थियो । आयोजक टोलीको नेतृत्व राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीले गरेकी छन् । टोलीमा ३ थाइल्यान्डका खेलाडी समावेश गरिएको छ ।
प्रतियोगितामा अब पुरुषतर्फका खेल सुरु हुनेछन् । पुरुषतर्फ पहिलो खेल डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिमबिच हुँदैछ । उक्त खेल केही बेरमा सुरु हुनेछ । दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ । तेस्रो खेल शसस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लबबिच हुने आयोजकले जनाएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
साविक विजेता हेल्प नेपालमाथि भारतको सुनिल भलिबल क्लबको जित

एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई पराजित गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भर्खरै सकिएको खेलमा सुनिल क्लबले हेल्प नेपाललाई ३–१ सेट पराजित गरेको हो । पहिलो सेट २२–२५ ले गुमाएको सुनिल क्लबले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरामगन गर्दै विजयी सुरुआत गरेको हो । सुनिल क्लबले दोस्रो सेट २५–२३, तेस्रो २७–२५ र चौथो सेटमा २५–१६ ले आफ्नो पक्षमा पारेको हो ।
यसअघि भएको खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
अब केही बेरमा पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिचको खेल सुरु हुनेछ । त्यसपछि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच हुनेछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।
गण्डकी प्रदेश पुलिससँग पराजित

एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको दोस्रो खेलमा गण्डकी प्रदेश नेपाल पुलिस क्लबसँग पराजित भएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भर्खरै सकिएको खेलमा गण्डकी पुलिससँग ३–२ को सेटमा पराजित भयो । पहिला दुई सेट गुमाएको गण्डकीले तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गरेपनि पाँचौं सेटमा सम्हालिन नसक्दा खेल गुमाउनुपर्यो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । गण्डकीले तेस्रो सेट २५–१९ र चौथो सेट २५–१४ ले जितेको थियोे ।
पाँचौं सेटमा गण्डकीले सुरुआती अग्रता जोगाउन नसक्दा खेल १५–१० ले गुमाउनुपर्यो । अब आजको अन्तिम खेल त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच हुनेछ । यसअघि पुरुषतर्फ भएको खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाललाई ३–१ को सेटले पराजित गरेको थियो । यस्तै आजै भएको पहिलो खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।











