12Shares

पोखरा । नेपाल र चीनको संयुक्त लगानीमा रहेको हिमालय एअरलाइन्स्‌ले ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु गरेको छ । एयरलाइन्सले चीनको ल्हासा र पोखरा जोड्ने गरी सोमवारबाट व्यावसायिक उडान सुरु गरेको हो । ल्हासाबाट १ सय ७ यात्रु बोकेर आएको हिमालयको जहाज सोमबार दिउँसो १ः५५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्ने गरी उडान तालिका निर्धारण गरिएको हिमालय एयरलाइन्सले जनाएको छ ।

ल्हासाबाट आएका यात्रुलाई स्वागत गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डले नियमित अन्तर्राष्ट्रिय उडान गर्न प्रदेश सरकार, पोखराका पर्यटन ब्यवसायी, उद्योगी व्यवसायी र स्थानीयले सहयोग गर्नुपर्ने बताए । नेपालको पर्यटकीय राजधानी पोखरालाई अन्य अन्तर्राष्ट्रिय गन्तव्यबाट पनि जोड्न सक्ने हो भने गण्डकी प्रदेशकै पर्यटन र आर्थिक विकासमा ठुलो टेवा पुग्ने मुख्यमन्त्रीको भनाई थियो ।

पोखरालाई गन्तव्यको रूपमा रोजेकोमा हिमालय एअरलाइन्स्‌को प्रशंसा गर्दै नियमित उडानहरू कायम राख्ने चुनौतीहरूलाई सामना गर्नुपर्ने बताउदै मुख्यमन्त्री पाण्डे भने, ‘चुनौतीहरू बाँकी रहे पनि, सरकारी सहयोगले तिनीहरूलाई सम्बोधन गर्न सकिन्छ, गण्डकी प्रदेश सरकार पोखरामा हिमालय एअरलाइन्स्‌को सञ्चालनलाई सहजीकरण र विस्तार गर्न प्रतिबद्ध छ ।’

क़ार्यक्रममा संस्कृति, पर्यटन र नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले नेपालका सबै सरोकारवालाहरूलाई हिमालय एअरलाइन्स्‌लाई सहयोग गर्न अनुरोध गरे ।

चीनका राजदूत चेन सोङले पोखरेली जनतालाई पहिलो निर्धारित व्यावसायिक उडानका लागि बधाई दिदै तपाईँहरूका लागि निर्धारित अन्तर्राष्ट्रिय उडानको सपना हिमालयले वास्तविक बनाएको छ । हिमालय एअरलाइन्स्‌को ल्हासा–पोखरा उडानले नेपाल–चीन सम्बन्धलाई सुदृढ गर्ने बताएका थिए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराबाट पहिलो निर्धारित सेड्युल उडान सेवा गरेकोमा हिमालय एयरलाइन्स्‌प्रति धन्यवाद व्यक्त गर्दै ऐतिहासिक ल्हासा–पोखरा उडानले दुवै देशका नागरिकलाई एक–अर्काका देशहरूको समृद्ध संस्कृति र पर्यटन अन्वेषण गर्न मद्दत गर्ने बताए । स्थानीय तहबाट हिमालयलाई पोखराबाट आफ्नो सेवा जारी राख्न सहयोग गर्ने प्रतिबद्धता समेत प्रमुख आचार्यले ब्यक्त गरेका थिए ।

यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णले हिमालय एअरलाइन्स्‌ले सुरु गरेको ऐतिहासिक उडानप्रति उत्साह व्यक्त गर्दै हिमालय एअरलाइन्स्‌लाई पोखराबाट उद्घाटन र निर्धारित उडान दुवै सञ्चालन गर्ने पहिलो एअरलाइन्स् भएकोमा बधाई दिए ।
उनले एयरपोर्ट पहिले नै उद्घाटन भए तापनि पहिलो निर्धारित उडान सुरु गर्न दुई वर्ष लागेको बताउदै हिमालय एअरलाइन्स्‌लाई नयाँ क्षेत्र, गन्तव्य र बजारको रूपमा पोखरा प्राप्त गरेकोमा बधाई दिए । पोखराका पर्यटन व्यवसायी र सरोकारवालाहरूसँग हिमालय एअरलाइन्स्‌लाई यस पोखरा–ल्हासा मार्गलाई सफल बनाउन सहयोग पुर्‍याउनु पनि अनुरोध गरेका थिए ।

हिमालय एअरलाइन्स्‌का अध्यक्ष  झोउ एनयोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र ल्हासा बीचको पहिलो निर्धारित अन्तर्राष्ट्रिय उडान सुरु गर्न पाउँदा खुशी व्यक्त गर्दै भने, “यो ऐतिहासिक उपलब्धि हिमालय एअरलाइन्स् र नेपालको उड्डयन उद्योगका लागि एक ठुलो सफलता हो, जसले पोखरालाई प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वारको रूपमा स्थापित गर्दै क्षेत्रीय हवाई सम्पर्कलाई प्रवद्र्धन गर्दछ । यो केवल नयाँ मार्ग मात्र नभई नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, पर्यटन प्रवद्र्धन गर्ने तथा व्यापार र सांस्कृतिक आदानप्रदानका नयाँ अवसरहरू सिर्जना गर्ने महत्वपूर्ण पहल पनि हो । सुरक्षित र प्रभावकारी हवाई सेवाप्रति प्रतिबद्ध रहँदै हिमालय एअरलाइन्स् यस उडानको दीर्घकालीन सफलताका लागि निरन्तर सहयोगको अपिल गर्दछ ।’

त्यस्तै, हिमालय एअरलाइन्स्‌का उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले नयाँ सुरु भएको रुटप्रति उत्साह व्यक्त गर्दै हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र वार्षिक १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने लक्ष्य रहेको बताए । उनले भने, ‘हिमालय एअरलाइन्स्‌ले सधैं चीनमा नयाँ नयाँ गन्तव्यहरू खोज्दै आएको छ र नियमित उडान सञ्चालनहरू अगाडि बढाउँदै आएको छ । यो नयाँ रुटको सुरुवातसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रागत अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ । हामी हाम्रा उडानहरूमा यात्रुहरूलाई स्वागत गर्न र उहाँहरूलाई नेपाल र चीन दुवैले प्रदान गर्ने प्राकृतिक सौन्दर्य र विविध अवसरहरूसँग जोड्न तत्पर छौँ ।’

कार्यक्रममा ल्हासास्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

‘रुफ अफ द वर्ल्ड’ भनेर चिनिने विश्व प्रसिद्ध सहर ल्हासाबाट नेपालको पर्यटकीय राजधानी पोखरासम्मको सेड्युल उडान सेवामार्फत हिमालय एअरलाइन्स्‌ले सोमवारबाट ल्हासा–पोखरा–ल्हासा सेड्युल उडान सेवा सुरु गरेका हो ।

नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न र अन्तर्राष्ट्रिय हवाई यात्रालाई टेवा पुर्‍याउन समर्पित, हिमालय एअरलाइन्स्‌ले निर्बाध र सुविधाजनक यात्रा विकल्पहरू प्रदान गर्न आफ्नो उडान सञ्जाल बिस्तार गर्न जारी राखेको छ । ल्हासा–पोखरा–ल्हासा उडानले नेपाललाई विश्वसँग जोड्ने, सांस्कृतिक आदानप्रदानलाई सहज बनाउने र दुवै गन्तव्यहरूको पर्यटन वृद्धिमा सहयोग गर्ने एअरलाइन्स्‌को प्रतिबद्धतालाई जोड दिन्छ ।

हिमालय एअरलाइन्स्‌ले काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू पनि थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्दै छ । ऐतिहासिक ल्हासा–पोखरा उडान H9 731 ले ल्हासा गोङ्गर विमानस्थलबाट सोमवार चीनको स्थानीय समयअनुसार मार्च ३१, २०२५ मा १४ः३९ बजे उडान भर्‍यो र एक घण्टा चौतीस मिनेटको उडान समय पछि कुल १०७ यात्रुहरूसहित आजै नेपाली स्थानीय समयअनुसार १३ः५६मा पोखरा अवतरण गर्‍यो ।

यसै गरी, ऐतिहासिक पोखरा–ल्हासा उडान (H9 732) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल ०१, २०२५ मा स्थानीय समयअनुसार बिहान ८ः२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समयअनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा अवतरण गर्ने छ ।

नयाँ ल्हासा–पोखरा–ल्हासा उडानले यात्रुहरूलाई नेपालको पर्यटन राजधानी पोखरा र चीनको ऐतिहासिक तथा मनोरम सहर ल्हासाबीच सिधा र सहज हवाई सेवाको विकल्प प्रदान गर्दैछ । हिमालय एअरलाइन्स् आफ्ना यात्रुहरूलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध छ । यो मार्गमा उडान शुभारम्भ भएसँगै सुस्त ग्रीष्मकालीन सिजनमा पनि पर्यटन बढ्ने अपेक्षा गरिएको छ ।

 

12Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected