
30Shares
पोखरा । मानवसेवा फाउण्डेशन शुक्रवार बिहान पोखरामा बृहत् ट्याक्सी र्याली गरेको छ । बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले आयोजित र्यालीमा सयौं ट्याक्सीहरू सहभागी भएका थिए।
र्याली बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भई ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्वीनारायण क्याम्पस गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, सितला देवी, कुँडुहर, मियापाटन, अमरशिंहचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक, नागढुङ्गा, मुस्ताङचोक हुँदै पुनः बिरौटा कोटिहोम स्थलमा पुगेर समापन भएको थियो।
महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले र्यालीले पोखरावासीमाझ महायज्ञको सन्देश पुर्याउनुका साथै सामाजिक एकता र धार्मिक जागरणमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए । “यो र्यालीले पोखरेली जनतामा धार्मिक र सामाजिक सद्भावको भावना जागृत गरेको छ। हामी सबैको सहयोगले महायज्ञलाई भव्य र सभ्य बनाउनेछौं,” उनले भने ।
र्यालीमा सहभागी ट्याक्सी चालकहरूले महायज्ञको सन्देश बोकेका ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरेका थिए। स्थानीय बासिन्दा र दर्शकहरूले र्यालीलाई उत्साहपूर्वक स्वागत गरेका थिए। र्यालीका क्रममा पोखराको सडकमा धार्मिक भजन र सन्देशमूलक नाराहरू गुञ्जिएका थिए।
मानवसेवा फाउण्डेशनले महायज्ञको तयारीलाई तीव्रता दिँदै थप कार्यक्रमहरूको आयोजना गरिरहेको छ। बैशाख १३ गते मोटरसाइकल र्याली, १४ गते फेवातालमा डुङ्गा र्याली र १६ गते बृहत् कशलयात्रा आयोजना हुने फाउण्डेशनले जनाएको छ। यसअघि बैशाख ११ गते साइकल र्याली सम्पन्न भएको थियो।
र्यालीको सफलताले पोखरेली जनतामा महायज्ञप्रति उत्साह थपिएको छ। फाउण्डेशनले सबै पोखरेलीलाई आगामी कार्यक्रमहरूमा सहभागी भई महायज्ञलाई सफल बनाउन अपिल गरेको छ।
30Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।








