
पोखरा । सिंगो पृथ्वी र मानव स्वास्थ्यका लागि योग भन्ने नाराका साथ पोखरामा पनि अन्तर्राष्ट्रिय योग दिवस मनाईएको छ ।
भारतीय दूतावास पेन्सन वितरण कार्यालय पोखरा, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय योग दिवस मनाईएको हो ।
पोखरा रङ्गशालामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भारतीय राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यको समेत सहभागिता रहेको थियो ।
पर्यटन राजधानी पोखरालाई योग पर्यटनको हबका रूपमा विकास गर्न सकिने कयौँ सम्भावनाहरू रहेकामा सहभागीहरूले जोड दिएका छन् । हिमाल र तालको सहर पोखरा सुन्दर, शान्त र मनोरम प्रकृतिको काखमा बसेर योगाभ्यासका लागि निकै उपयुक्त रहेको उनीहरूको भनाई छ ।
योगलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सुधार गर्ने एक उपयुक्त साधनाका रूपमा लिने गरिन्छ ।
योग अभ्यासले मनको शान्ति, आत्म नियन्त्रण, चित्त शुद्धीकरण र आध्यात्मिकतामा ध्यान केन्द्रित गर्दै मानवमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास गरिन्छ। योगलाई आफ्नो जीवनको हिस्सा बनाउन सकेमा मानिस स्वस्थर दीर्घायु हुन्छ। योगले कार्यक्षमतामा समेत वृद्धि ल्याउने गर्छ । विश्व योग दिवसको अवसरमा आजराजधानीमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सरिक हुने कार्यक्रम छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्ताव संयुक्त राष्ट्र संघले स्वीकार गरेपछि सन् २०१५ देखि जुन २१ तारिखलाई विश्व योग दिवसको रूपमा मनाउँदै आइएको छ ।











