
पोखरा । पोखरा महानगरपालिका–२९ भण्डारढिकका दुई दाजुभाइ महेशमणि भण्डारी र मुकुन्दमणि भण्डारीले ‘मनि फुड इन्डस्ट्रिज’ स्थापना गरी मकैको परिकार ‘मनिकर्न’ उत्पादन सुरु गरेका छन्। पोखरा–३२ मालेपाटनमा स्थापना गरिएको उद्योगले हाल टिमुर मिक्स, चिज र क्लासिक तीनवटा स्वादमा ‘मनिकर्न’ बजारमा ल्याएको छ ।
उद्योगका अध्यक्ष मुकुन्दमणि भण्डारीका अनुसार करिब डेढ करोड रुपैयाँको लगानीमा स्थापित यस उद्योगले करिब १० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। विशेषगरी भेगन उपभोक्तालाई लक्षित गरी टिमुर मिक्स र क्लासिक स्वादलाई पूर्णतया भेगन उत्पादन बनाइएको छ।
दाजुभाइ महेश र मुकुन्दले भने, “हामीले छोटो अवधिमै ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएका छौँ। धेरैले यसलाई खाजा वा स्न्याक्सको रुपमा प्रयोग गर्न थालेका छन्।”
नेपालमै पहिलो पटक ठूलो लगानीमा मकैलाई विभिन्न फ्लेवरमा परिकार बनाइ आकर्षक प्याकेजमा बजारमा पठाउने उद्योग स्थापना गरेको दाबी उनीहरूको छ।
महेशमणि एमबीए र कानुनमा स्नातक हुन् भने मुकुन्द स्नातकोत्तर तहमा अध्ययनरत छन्। बुवा मदनमणि भण्डारीले भने, “छोराहरूले विदेश जानुभन्दा आफ्नै ठाउँमा बसेर उद्योग थालेकोमा गर्व लागेको छ। अब उत्पादन र बजार विस्तारमा उनीहरू नै नेतृत्व गर्दैछन्।” भण्डारी परिवार यसअघि पनि विभिन्न उद्योग–व्यवसायसँग जोडिएको थियो ।
शक्ति ग्याँस, भिजन केवल, गण्डकी ब्रिक फ्याक्ट्री, त्रिशक्ति शप एण्ड केमिकल इन्डस्ट्रिज, हिमालयन सोलार हाइड्रो लगायतमा उनीहरूको संलग्नता रहँदै आएको छ। दाजुभाइको नयाँ प्रयासले परिवारको पुरानो उद्यमशील पहिचानलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।





