लेखनाथ उद्योग वाणिज्य संघको शनिवार सन्पन्न निर्वाचनमा १८८१ मत खस्यो


लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशन अन्तर्गत शनिबार सम्पन्न भएको निर्वाचनमा १८८१ मत खसेको छ । कुल २०१८ मतदाता रहेकोमा ९३.०३ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । उच्च प्रतिशतमा भएको मतदानलाई व्यवसायीहरुले संघप्रतिको आस्था र सरोकारको प्रमाणका रुपमा लिएका छन् ।
शनिवार विहान ७ः०० बजेबाट शुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म निरन्तर रुपमा सञ्चालन भएको थियो । बिहानैदेखि मतदान स्थलमा व्यापारी, व्यवसायी तथा सरोकारवालाको ठूलो भीड लागेको थियो । दिनभरजसो संघको परिसर व्यवसायीहरुसँगै स्थानीय राजनीतिक दलका प्रतिनिधि, समर्थक तथा चासो राख्ने नागरिकले खचाखच भरिएको देखिन्थ्यो ।
निर्वाचन शान्तिपूर्ण र व्यवस्थित ढंगले सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार आवश्यक तयारी र सुरक्षा व्यवस्था मिलाइएकाले कुनै अप्रत्याशित समस्या सिर्जना नभई सहज ढंगले मतदान सम्पन्न भएको हो ।
आइतबार बिहान ७ः०० बजेदेखि मतगणना सुरु हुने तय गरिएको छ । यसपटक अध्यक्ष पदका लागि दुई उम्मेदवार राजेन्द्र ओझा र जानुका अधिकारीबीच प्रतिस्पर्धा रहेको छ । कसले नेतृत्व गर्ने भन्ने प्रश्न अब मतगणनाले मात्रै टुंगो लगाउने छ ।
व्यवसायी समाजको नेतृत्व गर्ने संघको यो निर्वाचनलाई स्थानीय स्तरमा चासोका साथ हेरिएको छ । निर्वाचन परिणामले आगामी कार्यकालमा संघले लिन सक्ने नीति, कार्यक्रम र प्राथमिकता समेत निर्धारण गर्ने भएकाले व्यवसायी, व्यापारी तथा सरोकारवाला उत्साहित बनेका छन् ।





