164Shares

पोखरा ।  लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा पहिलो पटक महिलाले नेतृत्व गर्ने अवसर पाएकी छन्। संघमा करिब डेढ दशकदेखि सक्रिय रहिएकी जानुका पराजुली अधिकारी शनिबार सम्पन्न निर्वाचनमा अध्यक्षमा निर्वाचित हुँदै संघको इतिहासमै पहिलो महिला अध्यक्ष बन्न सफल भएकी हुन्।

अध्यक्ष पदमा पराजुलीले ९९६ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले ८३३ मत मात्र पाए। यसरी उनी १६३ मतको फराकिलो अन्तरले विजयी भइन्। अघिल्लो कार्यसमितिमा महासचिवको जिम्मेवारी सम्हालिसकेकी जानुका यसपटक अध्यक्षका रुपमा अघि आएकी थिइन्। अर्कोतर्फ, प्रतिद्वन्द्वी ओझाले भने वरिष्ठ उपाध्यक्षको हैसियतमा उम्मेदवारी दिएका थिए।

 निर्वाचनमा जानुका पराजुलीको प्यानलले अध्यक्ष मात्र नभई सम्पूर्ण पदमा विजय हासिल गर्दै ‘क्लिन स्विप’ गरेको छ। वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बाँस्तोलाले ९६६ मत पाएर प्रतिद्वन्द्वी उपेन्द्रराज सुबेदीलाई ११३ मतको अन्तरले हराए। प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्यले ११५० मत ल्याउँदै ६७४ मतमा सीमित भएकी मेनुका श्रेष्ठलाई पराजित गरे। दित्तीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराईले १२१८ मत ल्याएर प्रतिद्वन्द्वी धिरजकुमार श्रेष्ठलाई ६१५ मतले पछि पारे।

महासचिवमा भरतराज ओझाले ९५५ मत पाई जिवन तिवारीलाई ७९ मतको अन्तरले हराए। उपमहासचिवमा गङ्गाकुमारी मल्ल १०६६ मतसहित निर्वाचित भइन् भने उनका प्रतिद्वन्द्वी लक्ष्मीप्रसाद ढुंगानाले ७६६ मत मात्र पाए। कोषाध्यक्षमा हरि बस्ताकोटी १०२७ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी टिकराम सापकोटाले ७७८ मत पाए।

खुला सदस्यतर्फ १६ जना उम्मेदवारमध्ये ८ जना निर्वाचित हुने व्यवस्था अनुसार सबै स्थान जानुका प्यानलकै उम्मेदवारले जितेका छन् । सुजन न्यौपाने १०७२ मतसहित शीर्ष स्थानमा रहे भने प्रतिक्षा रानाभाट, भविन्द्र पुन (भविन), विरेन्द्रराज भुर्तेल, दीपक अधिकारी, प्रभाकुमारी पौडेल लामिछाने, कृष्णप्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकी निर्वाचित भए।

महिला सदस्यतर्फ पनि जानुकाको प्यानलकै उम्मेदवार विजयी भए। शर्मिला श्रेष्ठले ११८४ मत र गङ्गा सापकोटा परियारले ९१० मत प्राप्त गर्दै कार्यसमितिमा स्थान बनाए। एसोसिएट सदस्यतर्फ जानुका प्यानलका दयाराज भण्डारी २७ मतसहित विजयी भए भने प्रतिद्वन्द्वी प्रवेश बन्जराले २१ मत पाए। संस्थागत सदस्यतर्फ भने विरभद्र कंडेल निर्विरोध निर्वाचित भएका थिए।

व्यवसायीहरूको यो निर्वाचनलाई धेरैले राजनीतिक दलसँग जोडेर व्याख्या गरेका छन्। जानुका पराजुलीको प्यानललाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूको समर्थन थियो भने प्रतिद्वन्द्वी राजेन्द्र ओझाको प्यानललाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा निकट व्यवसायीहरूको समर्थन रहेको बताइन्छ। यसैकारण यो निर्वाचन व्यवसायीहरूको मात्र नभई राजनीतिक समीकरणको पनि प्रतिस्पर्धा बनेको देखिएको हो।

संघको अध्यक्ष बन्न सफल भएकी जानुका पराजुली अधिकारीले संघमा लामो समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी छिन्। महासचिवको पदमा रहेर सक्रिय भइसकेकी उनले यसपटकको नेतृत्वलाई महिलाको सहभागिता र क्षमता प्रमाणित गर्ने अवसरका रूपमा लिएको बताएकी छन्। उनको नेतृत्वमा बनेको नयाँ कार्यसमितिले संघलाई थप सशक्त बनाउन, स्थानीय उद्योग व्यवसायीको हकहितमा काम गर्न र संघलाई समयानुकूल आधुनिक बनाउन योगदान दिने अपेक्षा गरिएको छ।

164Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected