27Shares

पोखरा । नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एक दशक पूरा भए पनि अझै लक्ष्यमा पुग्न सकेको छैन। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेका अनुसार हालसम्म करिब ६५ लाख नागरिक मात्र यस कार्यक्रममा आवद्ध भएका छन्। यो नेपालकै कुल जनसंख्याको २२ प्रतिशत हो। घरधुरी हिसाबमा भने झन्डै एक तिहाइ मात्र स्वास्थ्य बीमामा समावेश छन्।

गण्डकी प्रदेशमा पनि स्वास्थ्य बीमाले अपेक्षित प्रभाव पार्न नसकेको देखिएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार गण्डकीमा २४ लाख ६६ हजार ४२७ जनसंख्या छ भने त्यसमध्ये ५२ प्रतिशत मात्र स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन्।

गण्डकी प्रदेशका स्वास्थ्य प्रशासक डा. रमेशकुमार केसीका अनुसार बीमित ५२ प्रतिशत जनसंख्या मध्ये धेरैले प्राथमिक तहकै स्वास्थ्य संस्थाबाट सेवा लिएका छन्। उनले भने, गत आर्थिक वर्षमा मात्रै लाख जनालेबीमाबाट उपचार सेवा लिएका छन्, जसमा ५६ प्रतिशतले स्थानीय तहका स्वास्थ्य संस्थाबाट उपचार गराएकाछन्।

स्वास्थ्य बीमा विपन्न र मध्यम वर्गका लागि प्रभावकारी देखिएको अधिकारीहरूको भनाइ छ। डा. केसीका अनुसार अपांग, आन्दोलनका घाइते, बेपत्ता नागरिकका परिवार, डायलासिस गरिरहेका बिरामीलगायत ६ हजार ५०० भन्दा बढी परिवारलाई सरकारले नै बीमा गरिदिएको छ। साथै पत्रकारलगायत अन्य वर्गलाई समेत करिब २ करोड ७० लाख बराबरको प्रिमियम तिरेर बीमा गरिएको छ।

बोर्डका कार्यकारी निर्देशक काफ्लेले गण्डकीका ८५ वटै स्थानीय तहले आंशिक सहयोग गरे पनि त्यो पर्याप्त नभएको बताए। तीनै तहका सरकारबीच अझै प्रभावकारी समन्वय आवश्यक छ। धेरै स्थानमा स्वास्थ्य संस्थानै छैनन्, कतिपयमा बीमा संयोजक समिति गठन भएको छैन। यसले सेवा विस्तारमा अवरोध ल्याएको ,”उनले भने।

स्वास्थ्य बीमा सुरु भएपछि नेपालमा स्वास्थ्य प्रणाली डिजिटलाइज्ड भएको, नागरिकलाई उपचारको पहुँच बढेको र पिछडिएका वर्ग स्वास्थ्य संस्थासम्म पुगेको काफ्लेको भनाइ छ। तर प्रचार–प्रसार पर्याप्त नभएकै कारण आधाभन्दा बढी नागरिक अझै कार्यक्रमबाहिर रहेका उनले स्वीकारे।

स्वास्थ्य बीमा बोर्डले सेवाग्राहीको असुविधा हटाउन हालै नीतिगत सुधार गरेको जनाएको छ। लामो लाइन, प्रविधिगत समस्या जस्ता चुनौती समाधान गर्न प्रणाली सुधार र अपग्रेड गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ।

पोखरामा आइतबार सम्पन्न गण्डकी प्रदेशस्तरीय वार्षिक समीक्षा कार्यक्रममा प्रदेश सरकार, स्थानीय तह, बोर्डका पदाधिकारी, गण्डकी मेडिकल कलेजका प्रतिनिधि लगायतले स्वास्थ्य बीमा सफल बनाउन सबै तहको सहकार्य आवश्यक रहेकोमा जोड दिए।

27Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected