
पोखरा । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा क्षति पुगेका प्रहरी कार्यालयलाई सहयोगस्वरूप कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ कास्कीले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ।
जेन–जी आन्दोलनमा प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएपछि टोल–टोलमा सुरक्षा समिति गठनदेखि प्रहरीलाई पुनर्स्थापित गर्ने अभियानसम्म सुरु भएसँगै पछिको विषम परिस्थितिमा सुरक्षा चुनौती बढेपछि नागरिकस्तरबाटै शान्ति–सुरक्षाका लागि पहल सुरु भएको हो।
क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले जिल्ला प्रहरी कार्यालय, कास्कीलाई डेस्कटप कम्प्युटर सेट र थ्री–इन–वान मल्टिफंक्सन प्रिन्टर हस्तान्तरण गर्दै प्रहरीको प्रशासनिक काम र सेवा प्रवाहमा सहजता आउने विश्वास व्यक्त गरे। “समाजको सुरक्षाका लागि अग्रपंक्तिमा खटिने प्रहरीप्रति सहयोग गर्नु हाम्रो सामाजिक उत्तरदायित्व हो,” उनले भने।
उक्त कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी, क्यान महासंघका केन्द्रीय सदस्य, पूर्वअध्यक्ष तथा कार्यसमिति सदस्यहरूको उपस्थिति थियो।
आन्दोलनको क्रममा प्रहरी कार्यालय आक्रमणमा परेका थिए। कास्कीमा समेत जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बगरमा ठूलो क्षति पुगेको छ। प्रहरीका गाडी जलेका छन् भने हतियारदेखि पोसाकसम्म लुटपाट हुँदा ड्युटीमा खटिनै असहज अवस्था देखिएको छ।









