63Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयनमार्फत मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुने बताएका छन् । संविधान दिवस २०८२ को अवसरमा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको मुल समारोहलाई सम्बोधन गर्दै उहाँले सबै राजनीतिक दल, राज्यका निकाय, नागरिक समाज र युवा पुस्तालाई संविधानको रक्षा र सुदृढीकरणमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

पाण्डेले संविधानलाई संघर्ष, त्याग र बलिदानको जगमा निर्माण भएको दस्तावेज भन्दै यसको कार्यान्वयनमार्फत दिगो शान्ति, सुशासन र समृद्धि हासिल गर्न सकिने बताए । पछिल्ला आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिक र सुरक्षाकर्मीलाई श्रद्धाञ्जली अर्पण गर्दै उहाँले न्यायपूर्ण छानबिन र पीडितलाई न्याय सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो ।

उहाँले जेनजी पुस्ताले उठाएका भ्रष्टाचार नियन्त्रण, सुशासन र अभिव्यक्ति स्वतन्त्रताको विषयलाई साझा लक्ष्यका रुपमा लिँदै सकारात्मक सोचसहित अघि बढ्न युवालाई आह्वान गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले रोजगारी सिर्जना, लगानीमैत्री वातावरण, भौतिक पूर्वाधार पुनर्निर्माण, सुशासन, खर्च कटौती तथा निजी क्षेत्रसँग सहकार्यलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । आन्दोलनका नाममा निजी क्षेत्रमाथि भएका आक्रमणले लगानी वातावरण धमिल्याएको भन्दै उहाँले दोषीलाई कारबाही र निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिने प्रतिवद्धता जनाउनुभयो ।

राष्ट्रपतिले संविधानको मर्म र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति देखाएको अभिभावकत्वप्रति आभार व्यक्त गर्दै उहाँले संविधानलाई व्यवहारमा रुपान्तरण गरी आत्मनिर्भर र समुन्नत प्रदेश निर्माणमा सबैलाई सहकार्य गर्न आग्रह गर्नुभयो ।

63Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected