
अन्नपूर्ण, कास्की । गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने नयाँ सडक हालै सञ्चालनमा आएपछि कास्की र म्याग्दीका स्थानीयवासी तथा पर्यटक दुवै लाभान्वित भएका छन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट शिख, घार, घोडेपानी हुँदै कास्कीको उल्लेरी, बिरेठाँटी र नयाँपुलसम्म जोडिएको सडक यातायातका लागि खुलेको हो। यो सडक मध्यपहाडी लोकमार्गको नयाँपुल–पोखरेबगर खण्डको वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने छ।
कास्की र म्याग्दीका अन्नपूर्ण गाउँपालिकाका अध्यक्षद्वय विष्णुबहादुर केसी र भारतकुमार पुनले संयुक्त रूपमा घोडेपानीमा सडक उद्घाटन गरे। नयाँपुल, कुश्मा, बेनी हुँदै पोखरेबगर पुग्ने पुरानो सडकभन्दा करिब ४० किलोमिटर छोटो भएको यो मार्गले यात्रा समय र दूरी दुवै घटाएको छ। घोडेपानी भ्रमणका इच्छुक पर्यटकका लागि वैकल्पिक र छोटो बाटो बनेको यस सडकले स्थानीयवासीलाई पनि आवागमनमा सहजता पुर्याएको छ।

स्थानीय समुदायको सक्रियतामा बनेको यस सडकले दुई जिल्लाको सडक सञ्जाल जोड्नुका साथै राष्ट्रिय राजमार्गको वैकल्पिक मार्गको रूपमा सम्भावना देखाएको छ।
सडक निर्माणका क्रममा घार, शिख र घोडेपानीका बासिन्दाले झन्डै १६ लाख रुपैयाँभन्दा बढी सहयोग जुटाएर करिब दुई किलोमिटर सडक ट्याक निर्माण गरेका थिए। संरक्षण क्षेत्रको कानुनी जटिलताका कारण सरकारी बजेट कार्यान्वयनमा समस्या आएपछि समुदायकै पहलमा सडक पूरा गरिएको हो।

यससँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६, तथा कास्कीको अन्नपूर्ण गाउँपालिका–७, ८ र ९ का बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन्। अब स्थानीय कृषि उत्पादन बजारसम्म पुर्याउन सजिलो भएको छ भने पर्यटक आवागमन बढ्ने अपेक्षा गरिएको छ।
अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष केसीका अनुसार बर्खामा खसेका पहिरा पन्छाएर यातायात सञ्चालनको व्यवस्था मिलाइएको छ, र बिरेठाँटी–उल्लेरी खण्डको स्तरोन्नतिको लागि चालु आर्थिक वर्षमा करिब रु चार करोड ५० लाख विनियोजन गरिएको छ।
पहिले घोडेपानीबाट नयाँपुल पुग्न करिब छ घण्टा लाग्ने यात्राको समय अहिले दुई घण्टा ३० मिनेटमा छोटिएको छ। यसले घोडेपानी–पूनहिल क्षेत्रका होटल व्यवसाय, यातायात र सेवा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। स्थानीय जनप्रतिनिधिहरूका अनुसार यो सडकले मुस्ताङ र मुक्तिनाथ पुग्ने पर्यटकका लागि पनि सहजता ल्याउनेछ र यसले क्षेत्रको सामाजिक तथा आर्थिक रुपान्तरणमा टेवा पुर्याउने विश्वास गरिएको छ।







सम्बन्धित खवर
















